एग्ला खस्रु हिमालको खोँचमा छ, जुम्लाको पातारासीको बाँता गाउँ । वरिपरिका डाँडाले छोपेका कारण बाहिरबाट देख्न सकिँदैन, बाँता गाउँलाई । जसरी गाउँलाई डाँडाले छोपिएको छ, त्यसै गरी लुकेका छन्, उहाँका किसानका सफलताका कथाहरू । लुकेका कथालाई सामुदायिक सूचना नेटवर्क ‘सिआइएन’ बाट देश विदेशसम्म पस्कने हुटहुटी बोकेर बाँता गाउँमा जाने निधो भयो । त्यहाँको रेम्बो ट्राउट माछा पालन लगायत विषयको रिपोर्टिङ गर्ने योजना बनाएर बिहान साढे ८ बजे यात्रा आरम्भ भयो ।
बाँता गाउँ भौगोलिक रूपमा दुर्गम छ । भर्खरै, पातारासीको कोटाभिरमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो । १४ जना घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । यही कोटा भिर छिचोल्दै बाँता गाउँ पुग्नुपर्थ्यो । तर, पत्रकार भइसकेपछि यस्ता दुख समस्याहरूसँग भाग्ने होइन जुध्ने निधो त गर्नै पर्छ । अप्ठेरो त डोल्पाको जगदुल्ला पनि थियो, जहाँ ६ महिना अघि मौरिलेक काट्दै पुगेर त्यहाँको जनजीविका बारे रिर्पाेटिङ गरेको थिएँ ।
त्यसैले पनि बाँतागाउँ पुग्ने इच्छाले सडकको डरलाग्दो अवस्थालाई छायामा पार्यो । सदरमुकामबाट आधा घण्टामा पातारासीको उर्थु पुगियो । साथमा हुनुहुन्थ्यो, अग्रज पत्रकार भीम कसिंगर र सिञ्जा ६ का वडाध्यक्ष लालबहादुर बुढा । उर्थु पातारासी गाउँपालिका, रारा मार्ग र बाँताको त्रिवेणी हो । तिन वटा सडक उर्थुबाटै छुट्टिन्छन् । भीम दाजुले चिया खाएर अघि बढौँ भन्दा पनि मलाई भने बाँता पुग्ने हतारो नै थियो । रेडियो खुला आकाशमा जोडिएको चार वर्षमा सीआईएनबाट प्रसारण हुने रिर्पोटहरुले मलाई हौसला बढाउने गरेको छ । भर्खरै फुजी स्याउ खेतीबारेको रिपोट सुनेर सोलुखुम्बुका एक किसानले दिएको प्रतिक्रियाले अझ बढी हाैसला दिएको थियो ।
हामी १० बजे बाँतामा पुग्यौँ । घर घरबाट बस्तुभाउ बनतर्फ लैजाने समय भएको रहेछ । भेडा, बाख्राको आवाजले आफ्नै घरमा पुगेको आभास भइरहेको थियो । गाउँमा बस्तुभाउसँग बाल्यकाल बितेकोले मैले बस्तुभाउ चराउन लैजाँदै गरेका स्थानीय बासिन्दामा मेरै अनुहार देखेँ । हरेक हिउँदमा बाख्रा उराउनु मेरो बाल्यकालको दैनिकी थियो । बाँता गाउँका स्कुले ठिटाहरू पनि दौँतरीसँग मिलेर समूहमा बाख्रा हान्दै बनतिर लागेको देख्दा म थप रोमाञ्चित भएँ ।
स्थानीय जोरासिंह बुढाको घरमा पुग्यौँ । ट्राउट माछा पालनको रिपोर्टिङका लागि हामीले उहाँलाई जसरी पनि भेट्ने योजना बनाएका थियौँ । जोरासिंह, जो एक दशक अघिसम्म जवा नदी किनारमा बल्छीमा असल माछा मार्नुहुन्थ्यो । माछासँगको त्यो नातालाई उहाँले रेम्बो ट्राउट माछा पालनमा बदल्नुभएको थियो ।
उहाँले राजस्व कृषि फर्म सञ्चालन गरेर २०७७ सालबाट ट्राउट माछा पाल्दै आउनुभएको छ । उहाँले माछाका भुरा उत्पादन गर्ने ह्याचरी पनि सञ्चालन गरिरहनुभएको छ । टेलिभिजनको कृषि कार्यक्रम हेरेपछि माछा पालनको रहर जागेको रहेछ । दिनभर माछा फार्ममा घुम्दै बुझ्दै र जानकारी लिँदै फोटो, भिडियो र आवाज सङ्कलन गर्यौँ । ‘माछा पालनबाट सन्तुष्ट हुनुहुन्छ त ?’ मेरो प्रश्नमा उहाँको जवाफ जोसिलो थियो- ‘२१ लाख लगानी गरेर फार्म सुरु गरेको हुँ, भुरा उत्पादन हुँदै छन्, माछा प्रतिकिलो २ हजारमा बिक्न थालेका छन्, म सन्तुष्टिलाई आम्दानीसँग मात्र जोड्दिन, अरूले भनेर सुरु गरेको व्यवसाय भए पो सन्तुष्टिको कुरा हुन्थ्यो, आफैँले रहर पुरा गर्न सुरु गरेको पेसा हो, रहर पूरा भएपछि सन्तुष्टि त यसै भइहाल्यो ।’
छेउमा रहेको माछा पोखरी नजिक दुई वटा अक्सिजनका सिलिन्डर राखिएको थियो । यी सिलिन्डरकै साथमा असला माछाका भुरा काठमाडौँ पुर्याएर आएको जोरासिंहले सुनाउनुभयो । उहाँले माछा मात्रै होइन, दाँते ओखर र स्याउका बिरुवा पनि प्रशस्त थिए । मसँगै बाँता जानुभएका सिञ्जा ६ अध्यक्ष लालबहादुर बुढाले सुटुक्क मलाई भन्नुभयो, ‘जोरासिंह भनेको स्वाभिमानको अर्को नाम हो । उहाँ जत्तिको इमानदार मान्छे पातारासीमा सायदै अर्को कोही होला ।’ बेलुका ४ बजे जडीबुटी मिश्रित चिया पिउँदै हामी छुट्टियौँ ।
बाँता गाउँमा हामी प्रवेश गरेदेखि छुट्टिँदासम्म जोरासिंहले हामीलाई आफ्नो हार्दिकता र सरलपनाले हायलकायल पार्नुभएको थियो । आफ्नै थातथलोमा केही गरौँ र उदाहरण दिऊँ भनेर कर्म गरिरहेका जोरासिंहसँगको सत्संगले मन त्यसै त्यसै पुलकित भएको थियो । उहाँजस्तो मानिसलाई भेट्न पाउनुलाई आफ्नो अहोभाग्य ठान्दै हामी फर्कियौँ । उहाँको मेहनत र सङ्घर्षको कथा सीआईएनमार्फत सुनाउने सपना त छँदै थियो उहाँको सफलताको कथा सुनेर कसै न कसैले उद्यम थाल्ने अभिप्रेरणा पनि मिल्ला कि भन्ने आशा हुने नै भयो ।
सोमबार जोरासिंहको कथा लेखिरहेको थिएँ, भीम दाइको फोन आयो । उहाँले भन्नुभयो, ‘एकदमै दुखद् खबर आयो भाइ,’ मैले हतारिँदै सोधेँ ‘के भो र दाइ ?’ भिम दाइको जवाफ थियो, ‘हामीले भेटेको जोरासिंहको मृत्यु भएछ ।’ म झस्किएँ, र फेरि सोधेँ । दाइले हो नै भन्नुभए पछि एकदमै नरमाइलो लाग्यो । भर्खरैसम्म उत्साहका साथ टाइप गरिरहेको ल्यापटप धमिलो जस्तो लाग्यो । थप केही लेख्ने जाँगरै चलेन । उहाँको सफलताको कथा लेखेर उहाँलाई नै सुनाउँला, उहाँ खुसी हुनुहोला भन्ने मेरो सपना चकनाचुर भएको थियो ।
जोरासिंह माघ ९ गते पातारासीको साना जलविद्युतको नालामा मृत भेटिनुभएको रहेछ । आइतबार राती हिउँमा चिप्लिएर उहाँ नालामा खसेको अनुमान गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । उहाँले त्यो दुर्गम ठाउँमा गरिरहेको माछा पालन तथा स्याउ र ओखर खेतीबारेको रिपोर्टिङ अधुरै छ । त्यो रिपोर्ट पूरा गर्नुभन्दा पहिले उहाँलाई हार्दिक श्रद्धाञ्जली लेख्नुपर्दा मनै अमिलो भएको छ ।
हार्दिक श्रद्धाञ्जली जोरासिंह दाइ ।
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९, १८:२०