काठमाडौँ । मागेको सूचना दिन पटकपटक आदेश दिँदा पनि अटेरी गरेको भन्दै राष्ट्रिय सूचना आयोगले सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई कारबाही गरेको छ ।
आयोगमा सिराहका एक स्थानीयले सूचना माग्दा नदिएको भन्दै पुनरावेदन गरेका थिए ।
त्यस बारेमा अध्ययन गर्दै आज बसेको इजलासले प्रमुख प्रशासकीय अधिकृत यादवलाई १५ हजार रुपैयाँ जरिवाना गर्दै मागेको सूचना तत्काल उपलब्ध गराउन भनेको प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सीआईएनसँग बताउनुभयो ।
उहाँका अनुसार आयोगले धनकुटाको धनकुटा बहुमुखी क्याम्पसमा कार्यरत सरिता भण्डारीलाई गरिएको कारबाही फुकुवा गर्न पनि आदेश दिएको छ ।
परीक्षामा अनियमितता भएको बारेमा सूचना चुहाएको भन्दै क्याम्पसले उहाँलाई निलम्बन गर्नुका साथै करार अवधि नवीकरण गरेको थिए ।
राष्ट्रिय सूचना आयोगमा पुनरावेदन परेपछि अध्ययन अनुसन्धानपछि पुनरवहालीको आदेश दिइएको प्रमुख गुरुङको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९, १९:५०