काठमाडाैँ । राष्ट्रिय सूचना आयोगले अनियमितताको सूचना दिनुलाई मर्यादा विपरीत भन्न नमिल्ने फैसला गरेको छ । धनकुटा बहुमुखी क्याम्पसको परीक्षा शाखाकी मुख्य कार्यालय सहायक सरिता भण्डारीले त्रिभुवन विश्वविद्यालयको परीक्षामा मर्यादा विपरीत काम भएको फोटो र भिडियो खिचेर जानकारी गराएको घटना मर्यादा विपरीत नभएको ठहर गर्दै आयोगले भण्डारीमाथि विश्वविद्यालयले कुनै कारबाही गर्न नमिल्ने आदेश दिएको हो ।
भण्डारीले परीक्षार्थीको उत्तरपुुस्तिका सट्टापट्टा भएको तस्वीर खिचेर माथिल्लो निकायलाई बुझाउँदा परीक्षाको मर्यादा विपरीत काम गरेको भन्दै त्रिभुवन विश्वविद्यालयकाे कार्यकारी परिषदले निलम्बन गरेपछि सरिताले आफूमाथि अन्याय भएको भन्दै राष्ट्रिय सूचना आयोग उजुरी दर्ता गराउनुभएको थियो ।
जसमाथि सुनुवाई गर्दै प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ तथा सूचना आयुक्तहरु कमला ओली थापा र रत्नप्रसाद मैनालीले वेथिति र अनियमितता रोक्न र सुधार गर्न खोजेको कुरा प्राप्त प्रमाण र कागजातबाट पुष्टि भएको ठहर गर्दै त्रिविका रजिष्टारलाई भण्डारीको निलम्बन फुकुवा गर्नुका साथै अहिलेसम्म रोक्का भएको पारिश्रमिकलगायत सबै सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ । आदेशमा भनिएको छ- ‘सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २९ को उपदफा (३) मा त्यसरी सूचना दिएको कारणले कुनै पनि त्यस्ता सार्वजनिक निकायका कर्मचारीलाई दायित्व बहन गराउने गरी सजाय गरिने वा नोक्सानी पुर्याइने छैन भनी किटानी व्यवस्था विपरीत छ ।’
२०७७ फागुन १० फागुन गते शिक्षाशास्त्र संकाय अन्तगर्त पाठ्यक्रम तथा मूल्याङ्कन विषयको परीक्षाको उत्तरपस्तिका सट्टापट्टा गरिरहेको देखेपछि भण्डारी र कर्मचारी हुमराज राउतले फोटो खिचेर क्याम्पस प्रमुखलाई जानकारी गराए पनि क्याम्पस प्रमुख होमबहादुर बस्नेत, सहायक क्याम्पस प्रमुख तथा परीक्षाका सहायक केन्द्राध्यक्ष रुद्रप्रसाद पोखरेललगायतले उत्तरपुस्तिका साटफेर गर्ने विद्यार्थीलाई फेरि परीक्षा दिन लगाएकाे भण्डारीको दाबी छ । घटना बारे परीक्षा नियन्त्रण कार्यालय तथा प्रहरीले समेत बेग्लाबेग्लै अनुसन्धान गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९, १४:५९