पाल्पा । नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालीले नेपाली काँग्रेसले राष्ट्रपतिको दाउ ताक्नु धमिलो पानीमा माछा मार्ने काम हुने बताउनुनु भएको छ ।
प्रेस चौतारी नेपाल, पाल्पा शाखाले आज शनिबार तानसेनमा गरेको पत्रकार भेटघाटमा ज्ञवालीले राष्ट्रपति एमालेले नै पाउने बताउनुभयो ।
सत्ता गठबन्धन दलबीच भएको सहमति अनुसार नै राष्ट्रपति एमालेले पाउने उहाँको भनाइ छ ।
आफूसँग भएको सत्तालाई व्यवस्थापन गर्न नसक्दा काँग्रेसले सबै गुमाएको तर अझै पनि धमिलो पानीमा माछा मर्छ कि भनेर राष्ट्रपतिको दाउ ताकेको टिप्पणी उहाँको छ ।
'प्रधानमन्त्रीज्यूले काँग्रेसलाई कुनै वचन दिएर मत माग्नु भएको छैन। पूर्व सहमतिअनुसार नै एमालेका उम्मेदवार राष्ट्रपति बन्छन्।’ नेता ज्ञवालीले भन्नुभयो,'बाहिर चर्चामा आएजस्तो हामी सशंकित छैनौँ ।'
केही दलले छिर्के दाउ हानेर वर्तमान सत्तागठबन्धन तोड्ने प्रयास गरिरहेको उहाँको भनाइ छ ।
अहिलेको सत्ता गठबन्धनबीच भएको सहमति र सम्झौता कार्यान्वयमा सबै दल इमानदार रहेको उल्लेख गर्दै प्रतिपक्ष बन्न पाउँ भन्दै काँग्रेसले संसद सचिवालयमा निवेदन दिनु इतिहासमै अचम्मको घटना भएको टिप्पणी उहाँको छ ।
मुलुकमा विकास, सेवा प्रभावकारी बनाउन, सुशासन कायम गर्न र राष्ट्रिय शक्तिलाई बलियो बनाउन राजनीतिक स्थिरता आवश्यक रहेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९, १४:२५