काठमाडौँ । अबको तीन दिन पश्चिम नेपालका थोरै ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आजदेखि पर्सिसम्म नै पश्चिम नेपालका थोरै ठाउँमा हल्का हिउँ र पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
यो प्रणाली तीन दिन रहने देखिए पनि मध्य र पूर्वी क्षेत्रतिर भने आउँने सम्भावना नदेखिएको उहाँले बताउनुभयो ।
‘यही प्रणालीको प्रभावले आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । राति सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा भोलि भने आजको भन्दा अलि धेरै ठाउँमा पानी र हिउँ पर्नेछ ।’ वरिष्ठ मौसमविद् पौडेलले भन्नुभयो ।
भोलि रातिलाई यो प्रणालीको प्रभाव लुम्बिनी र गण्डकी प्रदेशसम्म आइपुग्नेछ ।
काठमाडौँ उपत्यकासहित मध्य क्षेत्र र पूर्वतिर भने यसको प्रभाव नपर्ने मौसमविद् पौडेलको भनाइ छ । तर हिउँ र पानी नपरेपनि मौसम बदली भने हुने देखिएको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९, ०७:४८