काठमाडौँ । पूर्व सभापति रवि लामिछानेको नागरिकताको विषयमा सर्वोच्च अदालतले गरेको फैसलासँगै सरकारमा रहने वा नरहने भन्ने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज साँझसम्ममा निर्णय गर्ने भएको छ ।
संसदीय दल र केन्द्रीय समितिको बैठक निरन्तर बसिरहेको र बेलुकासम्ममा निर्णयमा पुग्ने तयारी भइरहेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सीआईएनसँग बताउनुभयो ।
चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेले अमेरिकाको नागरिकता त्यागेको तर नेपाली नागरिकता पुनः नलिएको भन्दै सर्वोच्च अदालतले पार्टी अध्यक्ष, सांसद र उपप्रधान तथा गृहमन्त्रीको पद खारेज भएको अस्ति निर्णय सुनाएको थियो ।
चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन भएमा लामिछानेलाई नै उम्मेदवार बनाउने तयारी रास्वपाको छ ।
यस बारेमा पनि कानुन व्यवसायीसँग छलफल भइरहेको कार्यवाहक सभापति अर्यालले जानकारी दिनुभयो ।
स्रोतका अनुसार लामिछानेले आज नेपाली नागरिकता लिने तयारी गर्नु भएको छ ।
रवि लामिछानेले राजिनामा दिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको छ ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै लामिछानेले राजीनामा दिएका कारण प्रधानमन्त्री दाहालले नै गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको जानकारी दिएको हो ।
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९, ०८:५८