काठमाडौँ । रवि लामिछानेको नेपाली नागरिकताको प्रमाणपत्र कायम भएको छ ।अाफुले लिएको अमेरिकी नागिरकता त्यागेको जानकारी गराएपछि जिल्ला प्रशासन कार्यालय काठमाडाैँले लामिछानेको नागरिकताको प्रमाण पत्र पुन: कायम गरेको हो ।
लामिछानेले नागरिकताको नियमवलीको नियम ११ अनुसार आवश्यक प्रक्रिया पुरा गरेर नागरिकता पुन प्राप्त गरेकाे काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिनुभयो ।
२०५० सालमा नेपालको नागरिकता लिएका लामिछाने त्यसपछि अमेरिकी नागरिक भएसँगै उहाँकाे नेपाली नागरिकता निष्कृय भएको थियो । तर, २०७५ सालमा नेपाल फर्किएका लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयमा नबुझाएका कारण गएको निर्वाचनमा पेस गरेको नागरिकता मान्य नहुने फैसला गरेको थियो । त्यससँगै लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगेर नेपाली नागरिकता लिनुभएको हो ।
चितवन क्षेत्र नम्बर २ बाट सांसद निर्वाचित लामिछानेले उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्नुभएको थियो । सर्वोच्चको फैसलासँगै लामिछाने उपप्रधानमन्त्री र गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको जिम्मेवारीबाट स्वतः मुक्त हुनुभएको थियो ।
अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गएको शुक्रबार लामिछानेको नागरिकता मान्य नरहेको फैसला गरेको हो ।
नागरिकता लिएसँगै लामिछाने यसअघि रहेका सबै पदमा पुनर्स्थापित हुने बाटो खुलेको कानुनविदले बताएका छन् । लामिछाने अब नेपाली नागरिकका रूपमा सक्रिय हुन सक्ने पनि कानुनबिद्को भनाइ छ । तर, लामिछानेविरुद्ध दोहोरो राहदानी प्रयोग गरेको विषयमा भने छानबिन हुनसक्ने सम्भावना बाँकी नै छ ।
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९, १४:२३