धनकुमारी आचार्य
स्वतन्त्रता, शासन प्रकृयामा जनताको सहभागिता र जनताको हक अधिकारका लागि आफ्नो प्राण बलिदान दिने शहीदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउँदै आएका छौँ । विसं २०१२ देखि निरन्तर यो दिवस मनाउँदै गर्दा शहीदहरूको सङ्ख्या भने हजारौँ पुगिसकेको छ, यो अवधिमा धेरै व्यवस्था फेरिए पनि जनताको अवस्था भने फेरिनुपर्ने जस्तो गरी फेरिन सकेको छैन ।
नागरिकको अधिकारका पक्षमा र जहानिया शासन व्यवस्थाको विपक्षमा लागेकोमा शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा, १९९७ सालकै माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा मृत्युदण्ड दिइएको थियो । राणा शासनको विरोध गर्दै जनतालाई प्रजातन्त्रका पक्षमा एकजुट बनाउनुका साथै सचेत गराएको आरोपमा उहाँहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको सम्झनामा हरेक माघ १६ गते शहीद दिवस मनाइन्छ । त्यस बेला आन्दोलनमा होमिएकामध्ये केही अगुवा भने ब्राह्मण भएकाले मृत्युदण्डबाट बचेका थिए । सिफलका टङ्कप्रसाद आचार्य र ज्ञानेश्वरका रामहरि शर्मालाई सर्वस्वहरण गरी चार पाटा मुडेर, काँधमा सुँगुरका पाठा झुन्डाइदिएर, जनै छिनाई जात लिएर चार भन्ज्याङ (काठमाडौँ उपत्यका) कटाउने फैसला भएको थियो । उहाँहरूको योगदानको सम्मान गर्दै उहाँहरू दुवैलाई बाचुन्जेलसम्म ‘जिउँदा शहीद’ भन्ने गरिएको थियो ।
मृत्युदण्ड दिइएका शहीदहरूले एक पटक पिडा भोगेर देह त्याग गरे पनि मृत्युदण्ड नदिई चार पाटा मुडेर सुँगुरको पाठो बोकाई चार भन्ज्याङ कटाउने निर्णय गरिएका रामहरि शर्मा मेरा दाइ (फुपूका छोरा) र टङ्कप्रसाद आचार्यलाई ठुलो कष्ट भएको देखेको छु । त्यसको असर परिवारमा पनि पछिसम्म परेको थियो । यस्तो दण्ड पाएकालाई निर्वासनमा पठाउँदा उनीहरू पुनः सक्रिय हुने हल्ला चलेपछि फेरि शर्मासहितका नेतालाई कठोर जेलमा हालिएको थियो ।
उहाँहरूसँगै गोविन्दप्रसाद उपाध्याय र चूडाप्रसाद उपाध्याय ढुङ्गानालाई पनि सार्वजनिक स्थलमा उभ्याएर सर्वस्वहरण गर्ने सजाय सुनाइएको थियो । तर, गोविन्दप्रसाद र चूडाप्रसादलाई चार पाटा मुडेर सुँगुरका पाठा झुन्ड्याइ अपमानजनक रूपमा काठमाडौँ बाहिर भने पठाइएन ।
चार पाटा मुड्ने दण्ड सुनाएपछिका दुई दिन र २००७ सालको क्रान्ति पछि जेलमुक्त भएपछिको दुई दिन रामहरि दाइ लुभुमा रहेको उहाँको मामा घर अर्थात् हाम्रो घरमा आएर बस्नु भएको थियो । चार पाटा मुडेर, सुँगुरको पाठो बोकाई चार भन्ज्याङ कटाएको मान्छेलाई घरभित्र बसाएको र भान्छामा बसाएर खाना खुवाएको भनेर तत्कालीन समाजले हाम्रो आमालाई पनि कारबाही गरेको थियो । विधवा आमा त्यसमा पनि रामहरि शर्माले भान्छामा बसेर खाएको भनेर समाजले नै पानी बारेको अवस्था सम्झँदा अहिले पनि आँसु आउँछ । अत्यन्तै कट्टर त्यसबेलाको समाजमा आमासँग र हामीसँग पनि त्यो सहनुको कुनै विकल्प थिएन ।
२०१० सालतिर दाइ (रामहरि शर्मा) फेरि मामाघर जाँदा भने समाजको डरले बाहिर पिँडीमा ल्याएर आमाले खाना खुवाउनुभएको पनि मलाइ सम्झना छ । त्यो घटनाले शायद दाइलाई चित्त दुख्यो होला । उहाँ त्यसपछि उहाँको मामा घर अर्थात् हाम्रो घर आउनै छोडिदिनुभयो । उहाँको हिसाबले चित्त दुखाई सही थियो । तर, समाजका सामुन्ने हाम्रो परिवारको पिडा पनि सानो थिएन । छरछिमेकीले पानी नै नचल्ने गरी समाजबाट वहिष्कार गरिदिए पछि हाम्रो परिवारले ठुलो मानसिक यातना सहनु परेको थियो । बुबा पनि नभएको र हामी पनि सानै भएकाले त्यसको पीडा आमालाई अझ धेरै हुने नै भयो ।
म सानै भए पनि भाउजू (रामहरि शर्माको श्रीमती) सँगै दाइलाई जेलमा भेट्न गएको, बन्दिहरूलाई छोड्न दबाब दिन आन्दोलनहरूमा नाराबाजी गरेको सम्झना छ । सात सालको क्रान्ति सफल भए पछिको खुसीयालीमा विजय जुलुस सम्झँदा अब यो देशमा धेरै परिवर्तन हुन्छ जनताको दुखका दिन गए भन्ने लागेको थियो तर त्यस यता पनि धेरै आन्दोलन भए, अरू धेरै जना शहीद बन्नुभयो तर जनताको दुःख उस्तै छ । राज्य सत्ता र समाज परिवर्तनका लागि शहीदले गरेको योगदानको उचित मूल्याङ्कन भएन । उनीहरूले उठाएका मुद्दा आन्दोलनसँगै बिर्सिइन्छ ।
प्रजा परिषद्का संस्थापक अध्यक्ष टङ्कप्रसाद आचार्य र महामन्त्री रामहरि शर्मालाई चार पाटा मुडेर जात झारेर सर्वस्वहरणसहित जन्मकैदको घोषणा माघ ६ गते गरिएको थियो ।
‘राणा वर्ग हो ! तिमीहरूलाई थाहै होला कि नेपाल प्रजा परिषद् भन्ने संस्था नेपाली प्रजालाई तिमीहरूको पन्जाबाट स्वतन्त्र गराई आफ्नो देशको गौरव हजारौँ वर्षसम्म दिशा दिशामा गुञ्जन गराउने उद्देश्यले नेपाल प्रजा परिषद् खुलेको हो ।’ यो हस्तलिखित पर्चा विसं १९९७ असारमा काठमाडौँमा छरेर प्रजा परिषद्ले प्रजातान्त्रिक क्रान्तिको बिगुल फुकेको थियो । नेपाली राजनीतिक इतिहासमा राणा शासन विरुद्ध क्रान्तिको उद्घोष गर्ने सो लिखत पहिलो घोषणा बन्न पुग्यो । यो पर्चा आफ्नै हातले लेख्ने टङ्कप्रसाद आचार्य र रामहरि शर्मा नै थिए ।
१९९३ साल जेठ २० मा काठमाडौँको ओम बहालमा टङ्कप्रसाद आचार्य, रामहरि शर्मा, दशरथ चन्द, जीवराज शर्मा र धर्मभक्त माथेमाले प्रजा परिषद् गठन गरेका थिए । पछि त्यसमा गङ्गालाल श्रेष्ठ, गणेशमान सिंह लगायत धेरै युवा सहभागी भए । प्रजा परिषद्मा संलग्न भए बापत गणेशमानलाई पनि सर्वस्वसहित जन्मकैद भएको थियो ।
उहाँ आफूलाई थुनिएको जगन्नाथ देवलको भद्रगोल जेलबाट भाग्न सफल हुनुभयो र भारत पुगेर नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक सदस्य बन्नुभएको थियो । भारतको मध्यस्थतामा भएको राणा–काँग्रेस सम्झौतापछि २००७ सालको क्रान्ति सफल भएको भन्दै आन्दोलन स्थगन भयो र नेपालबाट राणा शासनको अन्त्य भयो प्रजातन्त्र प्राप्त भयो । त्यसपछि केही वर्ष हामीले यिनै शहीदको सम्झनामा शहीद दिवस मनायौँ । तर, पटक पटक भएका आन्दोलन र क्रान्तिहरूले शहीदको सङ्ख्या हजारौँ पुर्याएको छ, दिवसको दिनमा मात्रै होइन हरेक दिन हामीले ति शहीद तथा अधिकारका लागि बलिदानी दिने अमर व्यक्तिलाई सम्झनु पर्दछ । देशको स्वतन्त्रताको पक्षमा निरङ्कुशताविरुद्ध उभिएर विभिन्न आन्दोलन, जनआन्दोलनका समयमा आफ्नो जीवन बलिदान गर्ने महान् शहीदले देखाएको बाटो पछ्याई रहनु पर्दछ । स्वार्थ भन्दा माथि उठेर राष्ट्र, राष्ट्रियता र स्वतन्त्रताको लागि लडिरहन सक्नु पर्दछ ।
(कुराकानीमा आधारित)
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९, १३:२१