पोखरा । सामुदायिक रेडियो प्रसारक सङ्घ गण्डकी प्रदेशको पाँचौ साधारण सभा आज सम्पन्न भएको छ । पोखरामा भएको साधारण सभाले ९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ।
साधारण सभाको उद्गघाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सामुदायिक रेडियो परिवर्तनका संवाहक रहेको बताउनुभयो । सामुदायिक रेडियो गाउँ गाउँमा सूचना प्रवाहको भरपर्दो माध्यम बनेको उल्लेख गर्नुभयो । कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव) का केन्द्रीय अध्यक्ष अर्जुन गिरीले अकोरावले नीति, क्षमता विकास र प्रविधिमा जोड दिएको बताउनुभयो ।
कार्यक्रममा अकोराबका लेखा समिति संयोजक भूमिराज चापागाईँ, गण्डकी प्रदेश अध्यक्ष गणेशकुमार श्रेष्ठ, ब्रोकास्टिङ एसोसिएसन अफ नेपाल बानका पूर्व उपाध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सञ्चार विषयमै विद्यावारिधि उपाधि प्राप्त गरेकोमा लेखा संयोजक चापागाईँलाई गण्डकी प्रदेश समितिले सम्मान गरेको छ । साधारण सभाले प्रदेश अध्यक्ष गणेशकुमार श्रेष्ठको वार्षिक प्रतिवेदन, सचिव रोशन तिवारीको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शेखर थापाको लेखा प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९, १६:०९