धनगढी । सरकारले १३ वर्ष अघि नेपालबाट कुष्ठरोग निवारणको घोषणा गरे पनि कुष्ठरोगका बिरामी अझै भेटिई रहेका छन् ।
प्रति १० हजार जनामा १ भन्दा कम बिरामी हुनुलाई निवारण मानिने मापदण्ड अनुसार सुदूरपश्चिमबाट कुष्ठरोग निवारण भएको मानिने भए पनि अहिले सुदूरपश्चिममा २ सय भन्दा बढी कुष्ठरोग रहेको सरकारी तथ्याङ्क छ ।
बढी बिरामी रहेका देशभरका १६ जिल्लामध्ये दुई जिल्ला सुदूरपश्चिम कै छन् ।
उपचारको दायरामा आउन नसकेका कारण बिरामीको सङ्ख्या घट्न नसकेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका क्षय–कुष्ठरोग अधिकृत मनोज ओझाले बताउनुभयो ।
‘बिरामीको सङ्ख्या अझै घटेको देखिँदैन, सक्रिय खोज पडताल पनि गरिरहेकै छौँ,’ उहाँले भन्नुभयो, ‘केही लक्षण देखिने बित्तिकै बिरामीले पनि तुरुन्तै स्वास्थ्य संस्थामा आउनुपर्छ ।’ उहाँले सुदूरपश्चिमका धेरै जिल्लामा कुष्ठरोग निवारण भएको देखिए पनि निर्मूल भने हुन नसकेको बताउनुभयो ।
देशका लुम्बिनी र मधेस प्रदेशपछि सबैभन्दा बढी कुष्ठरोगको सङ्ख्या सुदूरपश्चिममा छ । निवारण दरभन्दा धेरै बिरामी भएका दुई जिल्लामध्ये कैलालीमा १३१ र अछाममा २५ जना बिरामी भेटिएका छन् । निवारण दरभन्दा कम बिरामी भएको कञ्चनपुरमा पनि ३२ जना बिरामी छन् । प्रदेशभर यस वर्षका ६ महिनामै ७२ जना नयाँ बिरामी भेटिएका छन् ।
तर, कुष्ठरोग निवारणका लागि सरकारी तवरबाट काम भइरहेको क्षय–कुष्ठरोग अधिकृत ओझाको दाबी छ । ‘सक्रिय खोज पडताल र निष्क्रिय खोज पडताल गरी दुई वटा विधि अपनाएर बिरामी पत्ता लगाउने काम गरिरहेका छौँ,’ उहाँले भन्नुभयो । उहाँका अनुसार सक्रिय खोज पडताल अन्तर्गत एउटा बिरामी भेटिएमा उनको घरपरिवार र आसपासमा घरधुरीमा गएर जाँच गरिन्छ भने निष्क्रिय खोज पडतालमा लक्षण देखिने बित्तिकै स्वास्थ्य संस्थामा आएका बिरामीको जाँच हो ।
कुष्ठरोग निवारण नभएका देशका १६ जिल्लामध्ये सुदूरपश्चिमको अछाम पहाडी जिल्ला हो । यसले तराई क्षेत्रमा मात्रै नभई पहाडी क्षेत्रमा पनि कुष्ठरोगका बिरामीको खोजी गर्नुपर्ने सरोकारवालको सुझाव छ ।
नेपाल कुष्ठरोग सङ्घ कैलाली शाखाका सभापति सीताराम जोशी खोजबिन प्रभावकारी नभएको बताउनुहुन्छ । ‘कुष्ठरोग लागेको आशङ्का लागेपछि लाज हुन्छ, अरूले हेप्छन् भन्ने लगायतका रुढीबादी कुराले पनि अझै लुकेर बस्ने समस्या छ,’ उहाँले भन्नुभयो, ‘यसरी लुकेर बस्ने ठाउँसम्म गएर पनि बिरामीको खोजी गर्नु पर्छ ।’
पहाड र हिमाली जिल्लाका दुर्गम भेगमा अझै पनि कुष्ठरोग लागेका व्यक्तिलाई हेँला गर्ने गरिएको छ । कतिपयले थाहा पाएर त कतिले थाहै नपाएर कुष्ठरोगलाई लुकाएर राख्ने गरेको पनि पाइएको छ । चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै कुष्ठ रोगीलाई हेर्ने समाजको दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने सरोकारवाला बताउँछन् ।
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९, १७:००