विनोद महतो
धनुषा । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाटै ६ जना थुनुवा फरार भएपछि तीन जना प्रहरीलाई निलम्बन गरिएको छ । घटनामा लापरबाही गरेको पाइएकाले हिरासत व्यवस्थापन अधिकृत प्रहरी सहायक निरीक्षक अशोक मण्डल, वरिष्ठ प्रहरी हवलदार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
थुनुवा कक्षको भौतिक पूर्वाधार कमजोर रहेको भए पनि घटनामा ड्युटीको समयमा प्रहरीले लापरबाही गरेको देखिएको छ । घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएर छानबिन गरिरहेका छन् ।
यसैबिच, थुनुवा कक्षको पर्खाल भत्काएर फरार भएका थुनुवाहरूमध्ये एक जनालाई सोमबार साँझ पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ। हातहतियार तथा खरखजनाका आरोपी रोशनकुमार महतोलाई धनुषाको मिथिला नगरपालिका ८ कुशुमविछौनास्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । फरार भएका थप ५ जनाको खोजी भइरहेको डीएसपी क्षेत्रीले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९, ११:२०