काठमाडौँ । भ्रष्टाचार अवधारणा सूचकाङ्कमा नेपालले १ सय १० औँ स्थानमा झरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२२ को प्रतिवेदन अनुसार नेपाल गत वर्षको तुलनामा ७ स्थान सुधार गर्दै, १ सय ८० देशमध्ये १ सय १० आैँ स्थानमा रहेको हो । नेपालले १ सयमा ३४ अङ्क प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ ।
भ्रष्टाचार सूचकाङ्क अनुसार एक सय अङ्कमा बढी अङ्क प्राप्त गर्ने देशमा भ्रष्टाचार कम र कम अङ्क प्राप्त गर्ने देशमा बढी भ्रष्टाचार हुने गरेको मानिन्छ । सीआईएनसँग कुराकानी गर्दै ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका महासचिव मदनकृष्ण शर्माले नेपालको स्थान केही सुधार भए पनि भ्रष्टाचार घट्न भने नसकेको बताउनुभयो ।
नेपालले भ्रष्टाचार नियन्त्रण सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धिमा हस्ताक्षर गरे पनि तिनको प्रभावकारी कार्यान्वयन गर्न नसकेका कारण भ्रष्टाचार कम हुन नसकेको महासचिव शर्माले बताउनुभयो । प्रतिवेदनअनुसार सय मध्ये ९० अङ्क प्राप्त गरी डेनमार्क सूचकको शीर्ष स्थानमा छ ।
सूचकको पुछारमा रहेको सोमालियाले सयमा जम्मा १२ अङ्क मात्र प्राप्त गरेको छ । दक्षिण एसियामा भुटान ६८ अङ्क प्राप्त गरेर २५ औँ, मालदिभ्स ४० अङ्कका साथ ८५ औँ, भारत ४० अङ्कका साथ ८५ औँ, बङ्गलादेश २४ अङ्कका साथ १ सय ४७ औँ र अफगानिस्तान २४ अङ्कका साथ १ सय ५० औँ स्थानमा रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९, १५:१३