काठमाडौँ । आत्महत्या रोकथामको बारेमा विभिन्न पठन सामग्रीसहितको पुस्तिकाको एक कार्यक्रमका बीच ललितपुरमा लोकार्पण गरिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको कार्यालयमा भएको कार्यक्रममा आयोगका सदस्य प्राध्यापक डा सूर्य ढुङ्गेल र उक्त पुस्तिका प्रधानसम्पादक मण्डलका सदस्य, मनोविद् तथा सडक आश्रित मानवमुक्त अभियान नेपालका अध्यक्ष पद्म घिमिरले संयुक्त रुपमा लोकार्पण गर्नु भएको हो ।
सडक आश्रित मानवमुक्त अभियान नेपालले यो पुस्तक प्रकाशन गरेको हो ।
लोकार्पण कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य ढुङ्गेलले आत्महत्याका घटना सार्वजनिक हुनेक्रम बढिरहेको बेलामा यो पुस्तकले आत्महत्या नियन्त्रणमा सहयोगी भूमिका खेल्ने बताउनुभयो ।
'आत्महत्याको सोच आएको अवस्थामा कसरी सावधानी अपनाउने भन्ने बारेमा यो पुस्तिकाले जानकारी दिने मैले विश्वास लिएको छु । यसबारेमा धेरैभन्दा धेरै प्रचारप्रसार आवश्यक छ ।' ढुङ्गेलले भन्नुभयो ।
मनोविद तथा पुस्तक सम्पादन मण्डलका सदस्य घिमिरेले स्थानीय सरकार, सुरक्षा निकाय र सरोकारवाला अरु निकायले यो पुस्तकलाई आत्महत्या नियन्त्रणका लागि उपयोग गर्न सक्ने धारणा राख्नुभयो ।
महत्वाकाङ्क्षा बढ्दै जानु, विभिन्न वैंकले ऋण असुलिका लागि गर्ने पटकपटकको ताकेता, वैदेशिक रोजगारीपछि बढ्ने असमझदारी, देखासिकीलगायतका कारणले आत्महत्याका घटना बढेको भन्दै उहाँले तनाव, दवावका बारेमा नजिकको मानिससँग कुराकानी गर्नुपर्ने र समस्या समाधानका उपाय खोज्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकारकर्मी, धर्म गुरुलगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९, १६:४०