सिन्धुपाल्चोक । बलेफी गाउँपालिका, डाडागाउँका बासिन्दालाई हिजोआज दुई घण्टा टाढाबाट खानेपानी बोकेर ल्याउनुपर्ने बाध्यता छ । त्यति टाढाबाट बोकेर ल्याएको पानी खान, नुहाइधुवाई गर्न र बस्तुभाउलाई खुवाउन सधैँ अपुग हुन्छ । अड्कली अड्कली पानी चलाउनुपर्ने अवस्था रहेको स्थानीय बासिन्दा बताउँछन् । दिउँसो मेलापात गर्नै पर्यो, बालबच्चालाई बेलैमा स्कुल पठाउनै पर्यो । सबै काम भ्याउन बिहान उज्यालो नहुँदै गाग्री, बाल्टिनलगायत भाँडा बोकेर पँधेरामा पुग्नुपर्ने बाध्यता छ । धारो एउटा मात्र भएकाले पानी थाप्न लाइन लाग्नुपर्छ । लाइन कुर्दा ढिलो हुने हुँदा निद्रा माया मारेर मध्यराती घरबाट निस्कनुपर्ने अवस्था छ । सबैको पिडाको सार छ, ‘ बाख्रा बस्तुलाई खुवाउन पनि आकाशको पानी जम्मा गर्नुपर्ने अवस्था छ ।’
आठ–दस वर्ष अघिसम्म डाँडागाँउमा पानीका मुहान थिए । भैँसी खेल्ने आहाल र मान्छेका लागि धारा, कुवा थिए । जसले गर्दा हरियाली थियो । आफ्नो गाउँको सुखी विगतलाई यहाँका बुढापाका झलझली सम्झन्छन् । ७६ वर्षीय मङ्गले तामाङ भन्नुहुन्छ, “यहाँ तीन वटा आहाल थियो । चैत वैशाखमा पनि धारामा नुहाउन र लुगा धुन पुग्ने पानी आउँथ्यो” तामाङ थप्नुहुन्छ, “अहिले आहाल हराउँदै गए, जोगाउने प्रयास कसैले गरेको छैन ।”
पानीका श्रोत सुक्दै जानु गम्भीर सवाल
५० वर्ष अघिसम्म यो क्षेत्र वरिपरि ५३ वटा यस्तै साना ठुला पोखरी र आहाल थिए । सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च, सिन्धुपाल्चोकले गरेको अध्ययनले पोखरी र आहालको सङ्ख्या घटेको देखाएको छ । पानीका मुहान सुक्दै गएपछि संरक्षणमा नागरिक जुटेका छन् । मुहान संरक्षणमा सक्रिय रैथानेका सुन्दर सापकोटा हेर्दा हेर्दै धेरै मुहान आहाल र पोखरी मासिएको बताउनुहुन्छ ।
जलवायु मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको औसत वर्षा १८.७५ मिलिमिटर प्रतिवर्षका दरले घटिरहेको देखाउँछ । झण्डै दुई लाख ६२ हजार जनसङ्ख्या रहेको सिन्धुपाल्चोकका अधिकांश गाउँ बस्तीमा पानीका मूल हराउँदै गएका छन् । तर मूल सुक्दा खानेपानीको समस्या भोग्न बाध्य जनसंख्या कत्रो छ भन्नेसम्म पनि कतै अध्ययन भएको पाइँदैन ।
मूलको जलाधार क्षेत्र आहाल र परम्परागत पोखरीहरू विकासका नाममा नासिएका र पानीको मूलसँग पोखरी र आहालको सम्बन्धका ज्ञानलाई आधुनिक विकासका नाममा नास गरिएको विषयमा जिल्ला खाने पानी कार्यालयका पदाधिकारीहरू पनि सहमत छन् । पछिल्लो समय खानेपानीको मुहान हराउँदै जाँदा नयाँ मुहान खोजी गर्न माग गर्दै नागरिक आउने गरेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सूचना अधिकारी रामपुकार साफी बताउनुहुन्छ । यस्ता ठाउँमा करोडौँ बढी लागतमा लिफ्टिङ आयोजनाको काम हुने भए पनि पुराना पोखरी पुनर्स्थापना, आकाशे पानी सङ्कलन, मूल पुनर्भरणका कार्यक्रम भने छैनन् ।
सिन्धुपाल्चोकका बलेफी, सुनकोसी, इन्द्रावती, चौतारा, साँगाचोकगढी, मेलम्ची, बाह्रविसे, लिंसखुपाखरलगायत क्षेत्रमा पानीको मूल सुक्ने समस्या गम्भीर रूपमा बढिरहेको छ । बर्सेनि पानीका मुहान सुक्दा स्थानीय बासिन्दाको आर्थिक, सामाजिक, जनस्वास्थ्यलगायत सबै क्षेत्रमा समस्या खेप्नुपरिरहेको छ । अब पनि पानीका परम्परागत स्रोत ताल र आहालहरूको संरक्षण नगरे समस्या अझ कहालीलाग्दो बन्दै जाने जलवायु परिवर्तनको असरका क्षेत्रमा सक्रिय मधुसूदन सापकोटा बताउनुहुन्छ । बस्ती नजिक रहेका पोखरी, दह, तालजस्ता आकाशे पानी जम्मा गरेर जमिनमुनि पठाउने परम्परागत संरचना नासिँदै जाँदा पानीका मुहान सुक्दै गएको उहाँ बताउनुहुन्छ ।
पानी बोक्दा महिलाको स्वास्थ्यमा जटिल समस्या
डाडागाउँमा पानीको अभावसँगै अरू समस्या पनि थपिएका छन् । खानेपानी ल्याउन घन्टौँ समय लाग्ने हुँदा अभिभावकले बालबालिकाको पढाइमा ध्यान दिन सकेका छैनन् । घरको कामधन्दा सघाउनु पर्नाले कतिपय बालबालिकाको पढाइ लेखाइमा समस्या भइरहेको छ । दिनहुँ घण्टौँसम्म पानीको गह्रौँ भारी बोक्नुपर्दा महिलाको स्वास्थ्यमा समेत समस्या देखिन थालेको छ । कमजोरी, पेट दुख्ने, आङ खस्ने र गर्भ खेर जानेजस्ता समस्या खेप्नुपरिरहेको स्थानीय बासिन्दाको अनुभव छ । पानी बोकेकै कारण सात महिनाका तीन वटा बच्चा खेर गए पछि डाडागाउँका मान्जी तामाङ आफू दुखले बाँचेको बताउनुहुन्छ, “पाठेघरमा घाउ भएर औषधी खानु परेको छ र पानी बोकेर ल्याउँदा त आङ झर्ला जस्तै हुन्छ, तर उपाय केही छैन” उहाँले भन्नुभयो । तर पनि यो अवस्थाबाट मुक्ति पाउने कुनै विकल्प नभएको उहाँको भनाइ छ ।
स्थानीय तहको प्राथमिकतामा छैन मुहान संरक्षण
परापूर्व कालदेखिका मूल, कुवा, पँधेराको मर्मत सम्भार तथा संरक्षणको विषय स्थानीय तहको प्राथमिकतामा पर्न सकेको छैन । पोखरी संरक्षणबाट पानीको मूललाई जोगाउन भनेर स्थानीय तहले कार्यक्रम बनाउन सकेका छैनन् । कतै कतै पुराना पोखरी पुनः स्थापना, आकाशे पानी सङ्कलन, मूल पुनर्भरणका कार्यक्रम सुरुवात गरे पनि महत्त्वपूर्ण पुनर्भरण क्षेत्रको पहिचान गरी प्रभावकारी कार्यान्वयन अघि बढाएको भने पाइँदैन ।
स्थानीय बासिन्दाले पानीका मुहान संरक्षणको परम्परागत ज्ञानलाई बेवास्ता गर्नु, विकासका नाममा वातावरणीय, सामाजिक तथा आर्थिक प्रभावको अध्ययन बिनै पहाडमा डोजर चलाउनु, पोखरी र आहाल क्षेत्रमा कङ्क्रिटका पक्की संरचनालगायत कारणले पानीका श्रोत नासिँदै गएको विज्ञको भनाइ छ ।
२०४८ सालमा जग्गा नापी गर्दा कतिपय सार्वजनिक पोखरी व्यक्तिका नाममा दर्ता भएको र त्यसपछि पोखरी मासेर बाली लगाउन सुरु भएको स्थानीय बासिन्दा बताउँछन् । पहिले पानी जम्ने पोखरी रहेका ठाउँमा हिजोआज सडक, विद्यालय, खेल मैदानलगायत संरचना निमार्ण भएका छन् । सरकारले ठूल्ठूला नदी तथा जलाधार केन्द्रित आयोजनामा लगानी बढाए पनि स्थानीय बासिन्दाको जीवनका वास्तविक आधार स–साना मुहानको संरक्षणका विषयमा कसैको ध्यान नगएकोमा स्थानीय बासिन्दा चिन्तित छन् ।
सिन्धुपाल्चोकका धेरै गाउँका बासिन्दालाई विकासका नाममा भइरहेका गतिविधिले पीडा थालेको छ । पोखरी र आहालहरू मासिएर खानेपानीको स्रोत सुक्नाले जीवन निर्वाह नै अप्ठेरो बन्दै गएकाले संरक्षण गर्नुपर्ने आवश्यकता सरोकारवालाले पनि महसुस गर्न थालेका छन् । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ ऐतिहासिक पोखरी, कुवा, आहाललाई पुरानै स्वरूपमा फर्काउन हराइसकेका पोखरी ब्युँताएर संरक्षण गर्नु आवश्यक रहेको बताउनुहुन्छ ।
स्थानीयको आस्था र विश्वास जोडिएका पोखरी भने संरक्षित
सिन्धुपाल्चोकमा रहेका २४ वटा हिमताललाई गणना नगर्ने हो भने ५१ वटा ताल र पोखरी अझै कायम छन् । यी पोखरी अहिलेसम्म संरक्षित रहनुमा स्थानीयको आस्था र विश्वास जोडिनु पनि हो । पाँच पोखरी थाङपाल गाउँपालिकाको रैथाने गाउँमा शिवको इतिहाससँग जोडिएको प्राचीन पोखरी छ । लामा र झाँक्रीले रैथाने पोखरीमा आएर हाछिँउ नकाटेसम्म उनीहरू पूर्ण नहुने मान्यता स्थानीय समुदायमा छ । कुनै अनिष्ट भए वा सपना नराम्रो देखेमा यहाँका बासिन्दा पोखरीमा दूध चढाउन जाने गरेका छन् । ८४ वर्षका खिलबहादुर खड्का पोखरीको पानी तल पुगेर मूलबाट पानी निस्कने गरेको बताउनुहुन्छ । पोखरी भरिँदै जाँदा तलपट्टि मूल फुट्ने गरेको खड्का बताउनुहुन्छ ।
पाँच पोखरी थाङपाल क्षेत्रमा पोखरी संरक्षणकै कारण धार्मिक पर्यटक बढेका छन् । पोखरीभन्दा तल बाक्लो बस्ती भएका रैथाने, थाङपालकोट र गुन्सालगायतका गाँउहरुमा पानीका परम्परागत स्रोत, मूल पुरानै अवस्थामा कायम छन् । स्थानीयको आस्था र विश्वासले अहिलेसम्म रैथाने पोखरीको संरक्षण भइरहेको र उहाँहरूकै आग्रहमा गाउँपालिकाले पोखरी संरक्षणका लागि तार बार पनि लगाएको छ ।
साँगाचोकमा कृत्रिम पोखरी निर्माण प्रभावकारी
स्थानीयले हिजोआज पानी पर्ने प्रवृत्तिमा निकै फरकपन महसुस गरेका छन् । पहिले जस्तो सिमसिमे वर्षा कम हुन थालेको छ । पानी आउँदा थोरै समयमा मुसल धारे पानी आउने, ह्वाल्ल बगेर जाने हुँदा जमिन मुनी पानी पुनर्भरण हुन छोडेको छ । अरुको मुख ताक्दा आफैँ दुख पाइने भएपछि विगत तीन वर्षदेखि चौतारा साँगाचोकगढी नगरपालिका स्थित गढी, ठाडाडाँडामा स्थानीयले जमिनमा पानी पुनर्भरणका लागि पानी जमाउन कृत्रिम पोखरी निर्माण अभियान सञ्चालन गरेका छन् ।
हालसम्म स-साना ४० वटा आहाल निर्माण भइसकेका छन् । उनीहरूले भल र आकासे पानी जम्मा गर्न जङ्गल क्षेत्रमा यी पोखरी निर्माण गरेका हुन् । एउटा पोखरीबाट भरिएर बगेको पानी अर्को पोखरीमा जाने गरी निर्माण प्रविधि पनि मिलाइएको छ । पानी संरक्षण अभियानका अगुवा तथा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ११ का वडाअध्यक्ष रोशन गिरीका अनुसार साँगाचोक क्षेत्र यता सुनकोशि र उता इन्द्रावती नदीले काटेको र बिचमा एकदमै सुख्खा ग्रस्त क्षेत्र भएको डाँडा भएको क्षेत्र हो ।
माथिल्लो जलाधार क्षेत्रमा बर्खामा जमेको पानीलाई रिचार्ज गरेर जमिनमुनि पठाएर हेरौँ भनेर श्रमदानमा आधारित अभियान सुरु भएको अध्यक्ष गिरीको भनाई छ । सुरुमा मान्छे आउन नमानेपछि आफ्नै लगानीमा औजार व्यवस्थापन गरेर पिकनिकको रूपमा बोलाएर सुरु गरेको अभियान अहिले विस्तार हुन पुगेको गिरी बताउनुहुन्छ ।
स्थानीय बासिन्दाले तीन वर्षदेखि डाँडा, डाँडामा पोखरी बनाएर पानी सङ्कलन गर्न थालेपछि अहिले यस क्षेत्रमा नयाँ नयाँ बिरुवाका प्रजातिहरू देखिन थालेका छन् । पहिले सुख्खा भएर कठाङ्ग्रिएका विरुवा हलक्क बढेको स्थानीयबासिन्दा बताउँछन् । यही वडाकै मृत अवस्थामा पुगेको गोचे पँधेरामा यो वर्ष ठुलो मूल फुटेको छ । स्थानीय विधिबाट बनाएका यस्ता पोखरी एक पटक निर्माण भएपछि ५० वर्षसम्म काम गर्छ ।
जलवायु परिवर्तनका असरहरूबाट स्थानीय पीडित हुनु नपरोस् भनी पानी जम्मा गर्ने पोखरी निर्माणको काम प्रभावकारी बन्न थालेपछि परम्परागत ज्ञानप्रति स्थानीयको विश्वास जागेको छ । जलवायु परिवर्तनलाई अनुकूलन गर्दै जीवन निर्वाह सहज बनाउन पानीका मुहानका स्रोत संरक्षण गर्नुपर्ने विज्ञ बताउँछन् ।
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९, १६:५०