ध्यान कुलुङ
सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन अरुण तेस्रो परियोजनाको सुरुङभित्र एक जना मजदुरको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।
परियोजनाको विद्युत् गृह निर्माण क्षेत्रअन्तर्गत पुखुवाको सुरुङ भित्र आज बिहान विस्फोटक पदार्थ भर्ने क्रममा माथिबाट ढुङ्गा खसेर लाग्दा सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । घटनामा भोजपुरका ५४ वर्षीय भीमबहादुर पाण्डे र सिन्धुपाल्चोकका ३८ वर्षीय मङ्गल तामाङ घाइते भएको पनि प्रहरीले जनाएको छ ।
घाईतेको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको छ । ९ सय मेगावाटको यो परियोजनामा हालसम्म ७ जनाको मृत्यु भइसकेको छ । परियोजनामा नेपाली र भारतीय गरी करिब ३ हजार मजदुर कार्यरत रहेको अरुण तेस्रो परियोजना सञ्चालक सतलज जलविद्युत निगमले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९, १७:३६