राजेश जीसी
प्युठान । बिमा दाबीको प्रक्रिया झन्झटिलो हुँदा कृषि बिमाप्रति प्युठानका किसानको आकर्षण बढ्न सकेको छैन । बालीनाली र पशुपालनमा किसानले बेहोर्नु पर्ने सम्भावित क्षतिको जोखिम कम गर्न सरकारले कृषि बिमा कार्यक्रम लागु गरेको छ । बिमा गर्न इच्छुक किसानलाई बिमाङ्कको ८० प्रतिशत रकम सरकारले नै व्यहोर्ने भए पनि बिमा दाबीको प्रक्रिया झन्झटिलो भएकाले कृषि बिमा कार्यक्रमप्रति आकर्षित हुन नसकेको किसान बताउँछन् ।
प्युठान नगरपालिका ८ टिकुरीका मौरी पालक किसान डिमराज पाखरेलले चरनका लागि कपिलवस्तु लगेको बेला मौरी मरेपछि बिमा दाबी गरे पनि निक्कै झन्झट व्यहोर्नु परेको गुनासो गर्नुभयो । पोहोर पाएको दुःखकै कारण यस वर्ष मौरीको बिमा नगरेको उहाँको भनाइ छ ।
कृषि बीमाका लागि बिमा कम्पनीलाई आग्रह गरे पनि चासो नदिने किसानको गुनासो छ । जिल्लामा कृषि बिमा गर्ने किसान धेरै भए पनि प्युठानमा बिमा कम्पनी नभएको र कम्पनीका जिल्लास्थित प्रतिनिधिले चासो नदेखाएको नेपाल मौरी पालक महासङ्घ प्युठान शाखाका सचिव मधुसूदन भण्डारीले बताउनुभयो ।
बिमा सम्झौतासम्मको समय सीमा भित्रै किसानलाई क्षति भएमा बिमा कम्पनीले अधिकतम ९० प्रतिशतसम्म क्षतिपूर्ति दिने गर्छन् । तर, क्षतिपूर्तिको रकमका लागि किसानले पाउने रकमभन्दा बढी खर्च गर्नुपर्ने झन्झटिलो प्रक्रिया रहेको गुनासो उनीहरूको छ ।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९, १२:५४