काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) को बोर्ड बैठकले पूर्व कप्तान सन्दीप लामिछानेको निलम्बन फुकुवादेखि खेलाडीको केन्द्रीय करारसम्मका १३ वटा निर्णय गरेको छ । पोखरामा बसेको बैठकले अनुशासन उल्लङ्घन गरेकोमा निलम्बन गरिएका पूर्व कप्तान लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरिएको क्यानले जनाएको छ ।
अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले लामिछानेबारे अदालतमा मुद्दा चलिरहेकै बेला निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । बैठकले १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट टिमको कप्तानमा गुल्सनकुमार झालाई नियुक्त गरेको छ ।
यस्तै संघको वार्षिक साधारण सभा आगामी फागुन १४ र १५ गते कर्णाली प्रदेशको सुर्खेतमा गर्ने, सन २०२३ को जनवरीदेखि जुनसम्म ६ महिनाको लागि १८ जना पुरुष र १२ जना महिला खेलाडीलाई केन्द्रीय करारमा राख्ने, बागलुङ र पर्वत जिल्ला क्रिकेट सङ्घ तदर्थ समितिलाई मान्यता दिने निर्णय गरेको हो ।
बैठकले नेपाल टी-ट्वेन्टी लिग सकिएको कारण गभर्नीङ काउन्सिललाई विघटन गर्ने निर्णय र सेभेन थ्री स्पोर्टस प्रालिसँगको सम्झौतालाई निरन्तरता दिन नसकिने अवस्था सृजना भएकोले आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको छ । पूर्व डीआईजी ईश्वरबाबु कार्कीको संयोजकत्वमा क्यान इन्टिग्रिटी कमिटी गठन गरेको छ । कमिटीको एक सदस्यमा ऋतेश सिंहलाई नियुक्त गरिएको र थप एक जना सदस्य पछि मनोनयन गर्ने निर्णय भएको पनि संघले जनाएको छ ।
बैठकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट प्राप्त जानकारी बमोजिम खेल मिलेमतोमा संलग्नहरूको आरोप पुष्टि भएमा आचारसंहिता बमोजिम कारबाही अघि बढाउने निर्णय गरेको छ । बैठकले, कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले कार्यवाहक सचिवको जिम्मेवारी छोडेकोले कार्यसमिति सदस्य श्री दुर्गाराज पाठकलाई कार्यवाहक सचिवको जिम्मेवारी दिने निर्णय पनि गरेको क्यानले जनाएको छ ।
क्यानका पाँच जना निर्वाचित सदस्यले नेपाल टी ट्वेन्टी लिगको विषयमा अध्यक्ष लगायत कार्यसम्पादन समितिका सदस्यहरूले राजीनामा माग गर्नुले नेपाल क्रिकेट सङ्घ फेरी एकपटक निलम्बनतिर जाने खतरामा रहेको भन्दै विगतका कमीकमजोरीलाई सच्याई एक ढिक्का भएर अगाडि बढ्ने गरी सहकार्यमा आउन बोर्ड बैठकले आग्रह गरेको छ ।
यस्तै, बैठकले नेपाल टी-ट्वेन्टी लिगका सम्बन्धमा एभरेस्ट प्रिमियम लिगका सञ्चालक अमिर अख्तरलगायतले संघका अध्यक्ष चन्दको नाममा सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको छ ।
क्यानले केन्द्रीय करारमा रहेका खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरेको छ । जसमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल 'बी' श्रेणीमा घटुवा भएका छन् भने पूर्व कप्तान सन्दीप लामिछाने सम्झौतामा परेका छैनन् ।
'ए' श्रेणीमा रोहित पौडेल,सोमपाल कामी,आसिफ शेख,करण केसी, दीपेन्द्रसिंह ऐरी, रुबिना क्षेत्री, सीता राना मगर र इन्दु बर्मा हुनुहुन्छ । यस्तै, 'बी' श्रेणीमा आरिफ शेख, कुशल भुर्तेल ज्ञानेन्द्र मल्ल, काजोल श्रेष्ठ,अस्मिना कर्माचार्य र कविता कुवँर, 'सी' श्रेणीमा कमलसिंह ऐरी, गुलसन झा,विनोद भण्डारी,अर्जुन साउद,ललितनारायण राजवंशी,अबिनास बोहोरा, देव खनाल, कुशल मल्ल, सागर ढकाल, विवेक यादव, 'सी' श्रेणीमा कविता जोशी बिन्दु रावल,संगिता राई,ममता चौधरी,ज्योती पाण्डे र अप्सरी बेगम रहेका छन् ।
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९, १५:३३