काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्कमा पनि नेपालमा भ्रष्टाचारको अवस्थामा सुधार हुन नसकेको देखाएको छ । सन् २०२१ मा ३३ अङ्क पाएर १ सय १७ आै स्थानमा रहेको नेपाल एक वर्ष पछि ३४ अङ्कसहित १ सय १० आै स्थानमा आइपुगेको त छ तर यसको अर्थ भ्रष्टाचार कम भएको भन्न नमिल्ने सुशासन विदहरुको भनाइ छ । अङ्कमा झिनो सुधार भए पनि भ्रष्टाचार भने स्थिर देखिएको ट्रान्सपरेन्सी इन्टरनेसनलले पनि जनाएको छ ।
नेपालमा भ्रष्टाचार घट्न नसकेको सम्बन्धी खबर रेडियो मार्फत सुन्नुभएका गैँडाकोटका सूर्य रानाभाटले नेपालको अवस्था सुधार हुन नसक्नु दुःखद भएको बताउनुभयो । ‘कुनै काम लिनु प¥यो भने के मिलेन के मिलेन भन्छन्’ रानाभाटले अनुभव सुनाउनुभयो ‘फेरि बिचौलियाले यति रुपैयाँ दिनु मिल्छ भन्छन् यो हिसाबले कसरी भ्रष्टाचारको अवस्था सुधार हुनु ?’
नागरिक चोकबहादुर गाहा मगरलाई भ्रष्टाचार बढ्नुमा विभिन्न पक्ष दोषी देखिए पनि मुख्य दोषी राजनीतिक नेतृत्व नै हो जस्तो लाग्छ । ‘हामी आम नागरिक पनि दोषी त छौँ होला तर हामीभन्दा धेरै दोषी त सांसद मन्त्रीहरू छन् नि’ उहाँले भन्नुभयो, हामीसँग भ्रष्टाचार गर्ने खासै के नै पो हुन्छ र ?’
भ्रष्टाचार अवधारणा सूचकाङ्कले नेपालमा भ्रष्टाचार गम्भीर समस्याकै रूपमा देखाउँदै आएको छ । हरेक दल र सरकारले भ्रष्टाचार घटाउने मात्र होइन 'शून्य सहनशीलता' अपनाउँदै भ्रष्टाचारलाई निर्मुल पार्ने दाबी गर्दै आएका छन् । तर, तिनै दलहरूले बनाउने सरकारका पालामा भ्रष्टाचारको अवस्था उस्ताको उस्तै रहने गरेको छ । हरेक क्षेत्रमा गरिने राजनीतिक नियुक्ति र दण्डहीनताका कारण भ्रष्टाचारको अवस्थामा सुधार हुन नसकेको विशेष अदालतका पूर्व न्यायाधिश गौरीबहादुर कार्की बताउनुहुन्छ । ‘अख्तियारमा पदाधिकारी नियुक्त गर्छन् राजनीतिक भागबन्डामा अनि तिनै पदाधिकारीले नेताको छानबिन नै गर्दैनन्’ कार्कीले सीआईएनसँग भन्नुभयो । स्वच्छ प्रतिस्पर्धाबाट कुनै पनि राजनीतिक दलसँग आबद्ध नभएको व्यक्तिलाई हरेक सार्वजनिक निकायमा नियुक्त गर्नुपर्ने पूर्व न्यायाधीश कार्कीको भनाइ छ ।
पारदर्शिता र जबाफदेहिताको अभाव, कानुनको दुरुपयोग र नियमनकारी निकायको कमजोर उपस्थितिलगायत कारणले भ्रष्टाचार नघटेको भ्रष्टाचार विरुद्ध लागेकाहरू बताउँछन् । नियन्त्रण गर्नुपर्ने व्यक्ति र निकायबाटै नीतिगत भ्रष्टाचार हुनु भ्रष्टाचार नियन्त्रणका लागि चुनौतीका रूपमा रहेको सरकारका पूर्व सचिव तथा सुशासनका अभियन्ता शारदाप्रसाद त्रितालको अनुभव छ । पूर्व सचिव त्रिताल भन्नुहुन्छ, ‘भ्रष्टाचार निवारण गर्ने संस्थाहरूलाई नै कमजोर बनाइएको छ, यस्ता विभिन्न कारणहरूले गर्दा स्थिति भयावह हुँदै गएको छ ।’
सूचकाङ्कमा सार्वजनिक पदको दुरुपयोग, राजनीतिक भ्रष्टाचार, न्यायालय, संसद् र सुरक्षा निकायका पदाधिकारी/प्रतिनिधिले गरेको पदको दुरुपयोगमा नेपालले सबैभन्दा कम ३० नम्बर पाएको छ । चुनावमा पैसा लिएर टिकट दिने, चुनाव जित्न करोडौँ रकम खर्च गर्ने, विभिन्न नियुक्तिमा आर्थिक चलखेल हुने जस्ता विषय पटक पटक उठे पनि यी विषय त्यसै सेलाउने गरेका छन् ।
ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्व अध्यक्ष तथा नेपाल सरकारका पूर्व सचिव खेमराज रेग्मी राजनीतिक नेतृत्व नसुध्रँदासम्म अवस्था यस्तै रहने बताउनुभयो । ‘वास्तवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्पक्ष रूपमा छानबिन गर्ने अनुसन्धान गर्ने कयाै राजनीतिक नेतृत्व तह पनि कारबाहीमा पर्न सक्छ’ रेग्मीले भन्नुभयो । भ्रष्टाचार, समाज र शासनसँग प्रत्यक्ष जोडिएको विषय हो । गर्नुपर्ने काम नगर्ने र नगर्नुपर्ने काम गर्ने परिपाटी अन्त्य राज्य सञ्चालनको उपल्लो तहबाटै सुरु गर्नुपर्ने देखिन्छ । भनिन्छ भ्रष्टाचार र भर्याङ माथिबाट बढार्नुपर्छ ।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९