कैलाली । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । ट्याक्टरमा आगो लगाएको अभियोग पुष्टि गर्दै जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गराउने फैसला सुनाए पनि फरार रहेका चौधरीलाई बाँकेको कोहलपुरबाट पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता डिएसपी वेद जोशीले जानकारी दिनुभयो । चौधरीलाई आजै जिल्ला अदालतमा पेस गरिएको छ ।
२०७४ सालमा लम्की चुहा नगरपालिकाको मेयर बनेका चौधरी गते निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट कैलाली–२ बाट प्रतिनिधि सभा निर्वाचित भएका थिए । अदालतको आदेशअनुसारको सजाय नभोगी चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको खुलेसँगै प्रहरीले चौधरीको खोजी गरिरहेको थियो ।
कैलालीको गोराङ्गे खोलाबाट ढुंगा लिएर लम्की जाँदै गएको ट्याक्टरमा २०६६ साल भदौ ३ गते आगजनी भएको थियो । ट्याक्टर मालिक मोतीपुरका महादेव बजगाईंले अरुणसहित ३ जना विरुद्ध उजुरी गरेकोमा तीनै जना आरोपी म्याद गुजारेर बसेपछि अदालतले दोषी ठहर गरेको थियो ।
दोषी ठहर भएकामध्ये वीरबहादुर चौधरी गत शुक्रवार पक्राउ परेपछि फरार रहेका अर्का व्यक्ति सांसद चौधरी भएको खुलेको थियो । त्यस अनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९, १७:००