काठमाडौँ । ‘मानसिक स्वास्थ्य र पत्रकारिता’ विषयक २ दिने अभिमुखीकरण कार्यक्रम काठमाडौँमा आजबाट सुरु भएको छ ।
सामुदायिक सूचना नेटवर्क (सीआईएन) र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसी) को संयुक्त आयोजनामा सुरु भएको अभिमुखीकरणमा मुलुकका बिभिन्न १० जिल्लामा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको छ ।
मानसिक स्वास्थ्यका बारेमा समाजमा व्याप्त गलत धारणा बदल्नका लागि पत्रकार र सञ्चारगृहको महत्वपूर्ण भूमिका रहने निष्कर्ष निकाल्दै यो अभिमुखीकरणको आयोजना गरिएको सीएमसी नेपालका कार्यक्रम अधिकृत हिमाल गैरेले जानकारी दिनुभयो ।
डडेलधुरा, सल्यान, सुर्खेत, जाजरकोट, गोरखा, उदयपुर, कैलालीलगायत १० जिल्लाका सामुदायिक रेडियोमा कार्यरत पत्रकारहरूलाई मानसिक स्वास्थ्यका बारेमा सङ्कलन गरिने खबरका बिभिन्न आयामका बारेमा जानकारी गराएपछि दुरदराजका मानसिक स्वास्थ्य समस्याका बारेमा थाहा पाउन सकिने विश्वास लिइएको कार्यक्रम अधिकृत गैरेले विश्वास व्यक्त गर्नुभयो ।
आज पहिलो दिनको अभिमुखीकरणमा वरिष्ठ मनोचिकित्सक डा कपिल देव उपाध्यायले मानसिक समस्याका बिभिन्न स्वरूप, यी समस्या बारेका उजागर गर्नुपर्ने पक्ष र सरोकारवाला निकायको भूमिकाका बारेमा जानकारी गराउनु भएको थियो ।
अभिमुखीकरणमा सहभागीहरूले पत्रकारका लागि मानसिक स्वास्थ्य सम्बन्धी यस्तो तालिम नयाँ प्रयोग भएको बताउँदै आआफ्नो क्षेत्रमा देखिएका मानसिक स्वास्थ्य समस्या र निराकरणका उपायका बारेमा जिज्ञासा राखेका थिए ।
सीएमसीका कार्यक्रम अधिकृत गैरेले नेपालमा मानसिक स्वस्थ्य समस्याको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ १५, २०७६, २३:०१