काठमाडौँ ।राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदै छ ।
दिउँसो १ देखि अपराह्न ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार दिउँसो सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ भने भोलि मतदान गर्ने कार्यतालिका छ ।
तत्कालीन राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालको कार्यकाल २०७८ मा सकिएपछि हालसम्म उक्त पद रिक्त छ ।
उपसभामुखमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का नेता उर्मिला अर्यालले उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।
विपक्षी दलबाट भने कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्णय गर्न अहिले बिहान बैठक बस्ने तयारी भएको छ ।
सत्तारूढ दलहरू नेकपा (एमाले)का १६, नेकपा (माओवादी केन्द्र)का १५ गरी ३१ जना राष्ट्रिय सभा सदस्य छन् । उपाध्यक्ष पदमा निर्वाचित हुन २९ मत आवश्यक हुनेछ ।
सत्ताबाहिरका नेपाली काँग्रेसका १०, नेकपा (एकीकृत समाजवादी)का आठ, जनता समाजवादी पार्टी नेपालका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका एक र राष्ट्रिय जनमोर्चाका एक गरी २३ जना सदस्य छन् । एक जना स्वतन्त्र र तीन जना मनोनीत छन् ।
प्रकाशित मिति: आइतबार, माघ २२, २०७९, ०९:०३