काठमाडाैँ । राष्ट्रियसभाकाे उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध चयन हुनुभएको छ । उपाध्यक्षमा उहाँको मात्र उम्मेदवारी परेकाले उहाँ निर्विरोध चयन हुनुभएको हो । उहाँलाई नेकपा एमाले समेतको समर्थन थियो भने काँग्रेसले पनि कुनै उम्मेदवार नउठाए पछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको संसद सचिवालयले जनाएको छ ।
२०७० सालमा एमाले त्यागेर माओवादी प्रवेश गर्नुभएका अर्याल नेकपा माओवादी केन्द्रकी स्थायी कमिटी सदस्य हुनुहुन्छ । उहाँ २०६३ सालमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री बन्नुभएको थियो ।
तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि एक वर्षदेखि उपाध्यक्ष पद खाली थियो ।
राष्ट्रियसभामा एमालेका १६, माओवादी केन्द्रको १५, नेपाली कांग्रेसका १०, नेकपा (एकीकृत समाजवादी) का आठ, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक–एकजना तथा एक जना स्वतन्त्र र तीन जना मनोनीत सांसद हुनुहुन्छ ।
रिक्त एक सदस्यका लागि यही माघ २५ गते निर्वाचन गर्ने तयारी छ ।