म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङकी मनसरा कुमाईं एक वर्षकी छोरीलाई मजेत्रोले बाँधेर सडक खन्न व्यस्त हुनुहुन्छ । बच्चा बोकेर सडक खन्न उहाँलाई गाह्रो छ तर आफ्नो गाउँसम्म पुर्याउने सडक बने त्यसले जीवनमा पार्ने सजिलो सम्झेर उहाँ खुसी हुनुहुन्छ । ‘सडक नहुँदा धेरै दुःख पाइयो, बाटोमै सुत्केरी हुनुपर्ने अवस्था छ, त्यसैले बच्चा बोकेरै पनि सडक खनिरहेका छौँ’ उहाँ भन्नुहुन्छ ।
दरवाङ–बिम–भारबाङ–ताकम–मुना–लुलाङ–गुर्जा सडक खण्ड अन्तरगत लमसुङमा गाउँसम्म सडक पुर्याउन महिला पुरुष श्रमदानमा जुटेका हुन् । लुलाङसम्म सडक पुर्याउन चन्दा सङ्कलनलाई कम प्राथमिकता दिएर श्रमदानमा जोड दिइएको छ । यहाँ दैनिक ४० देखि ६० जनासम्मले श्रमदान गर्ने गरेका छन् ।
गाउँमा सडक नपुग्दा सुत्केरी गराउन डोकोमा बोकेर लैजानुपर्ने बाध्यता छ । सामान ढुवानीमा पनि समस्या छ । सडक बनेपछि यी सबै समस्या समाधान हुने आशा रहेको श्रमदान गरिरहनुभएका घनबहादुर विश्वकर्मा बताउनुहुन्छ । ६ बर्षदेखि सडक निर्माण गरौँ भनेर छलफल गरे पनि अहिले भने सडक निर्माण गरिरहेको भन्दै यस बर्ष लुलाङ गाउँसम्म सडक पुर्याएर छोड्ने स्थानीय बासिन्दाको अठोट छ ।
लमसुङ गाउँमाथिबाट सडक निर्माण गर्नुपर्ने भएकाले ठूला उपकरण प्रयोग गरिएको छैन । सडक निर्माणमा सबैलाई सहभागी गराउन अनिवार्य श्रमदान गर्नुपर्ने नियम बनाइएको उपभोक्ता समितिका सचिव ज्ञानबहादुर पाइजा बताउनुहुन्छ ।
सडक निर्माणका लागि यस बर्ष गाउँपालिकाबाट ४५ लाख र प्रदेश सरकारबाट ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो रकमले यसबर्ष लुलाङ गाउँसम्म सडक पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष रेसम पुन बताउनुहुन्छ ।
(म्याग्दी काली एफएम, बेनी, म्याग्दी)
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९, १४:४०