काठमाडाैँ । काठमाडाैँ जिल्ला अदालतले, सौन्दर्य प्रतियोगिता सञ्चालन गर्ने भन्दै नाबालिगलाई यौनशोषण गरेको अभियोगमा मनोज पाण्डे (मनोजकुमार जैसी)लाई ७ वर्षको जेल सजाय सुनाएको छ । काठमाडौँ जिल्ला अदालतले पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद र ७५ हजार रूपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो ।
‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी एक किशोरीले पाण्डेले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको तथा फोटो र भिडियो खिचेर धम्की दिँदै ६ महिनासम्म यौन शोषण गरेको सार्वजनिक गर्नुभएको थियो ।
बलात्कार मुद्दा दर्ता गर्न हदम्याद बाधक भएपछि गत असार १ गते पाण्डेविरुद्ध जिल्ला अदालतमा बाल यौन दुरुपयोग र मानव बेचबिखनमा मुद्दा दायर गरिएको थियो । दुवै मुद्दामा अदालतले पाण्डेलाई दोषी ठहर गरेको हो ।
प्रकाशित मिति: सोमबार, माघ २३, २०७९, १७:३७