काठमाडौँ । टर्की र सिरियाको सिमानामा गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या साढे ७ हजार नाघेको छ । अहिलेसम्म टर्कीमा ५ हजार ८ सय ९४ जना र सिरियामा १ हजार ९ सय ३२ जनाको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ ।
हराइरहेकाको खोजी तथा उद्धार चलिरहेको छ । तर चिसो मौसमका कारण खोजी र उद्धारमा समस्या भइरहेको उद्धारकर्तालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
केही परिवारले भने उद्धारकर्ताले ढिला गरी प्रतिक्रिया दिँदा समस्या भएको गुनासो गरेका छन् । गत सोमबार दुई देशको सिमानामा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प र त्यसपछि ७ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो ।
यसैबिच टर्कीले दक्षिणी भेगका १० वटा प्रान्तमा आपतकाल घोषणा गरेको छ । सोमबार गएको भूकम्पमा परेर झण्डै ६ हजार जनाको मृत्यु भएकाले भूकम्प प्रभावित १० वटा प्रान्तमा ३ महिनाका लागि आपत्काल घोषणा गरिएको राष्ट्रपति रेसेप तायप इर्दोगानले बताउनुभएको छ । अहिलेसम्म ७० भन्दा धेरै देशले उद्धार र राहतमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९, १०:४६