काठमाडौँ । जोरपाटीका अन्जु थापाको भान्सामा प्याज, हरियो धनियाँ, लसुन र अदुवा छुट्दैन । महिनामा ३ हजारभन्दा बढीको धनियाँ, लसुन, अदुवा, बेसार र प्याज खरिद गर्ने उहाँ बताउनुहुन्छ । केही वर्ष अघिसम्म आफ्नै करेसाबारीमा फलेको धनियाँ र लसुनले पुग्ने उहाँको परिवारले केही वर्ष यता व्यस्तताको कारण खेती गर्न भएको छैन । लसुन, प्याज, जिरा, धनियाँ, मेथी, अदुवा, बेसारजस्ता मसलाजन्य तरकारी भान्छामा अनिवार्य जस्तै छ । यस्ता मसलासँग स्वादका साथै ‘खाद्य संस्कार’ पनि जोडिएको छ । थोरै ठाउँ र कम मेहनतमै पनि उत्पादन गर्न सकिने यस्ता मसला खरिदका लागि नेपालबाट बर्सेनि अरबौँ रुपैयाँ बाहिरिइरहेको छ ।
जुनसुकै हावापानी र माटोमा सजिलै फलाउन सकिने लसुन, प्याज, धनियाँ, अदुवा, मेथी, बेसार जस्ता मसला खरिदका लागि नेपालबाट बर्सेनि १४ अर्ब रुपैयाँभन्दा धेरै रकम बाहिरिइरहेको छ । पछिल्ला २० वर्षमा मसलाका लागि खर्च हुने रकम १४ गुणाले बढिरहेको तथ्याङ्क छ । सहरीकरण बढ्नु, करेसाबारी घट्नु, अल्छीपना बढ्नु जस्ता कारणले लसुन प्याजको खेती घट्दा आयात बढेको छ जसले अर्थतन्त्रमा दबाब बढाएको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्ब रुपैयाँभन्दा बढीको लसुन, प्याज, जिरा, धनियाँ, मेथी, अदुवा र बेसार आयात भएको छ । घरको करेसा वा छतमै पनि बाह्रै महिना फलाउन सकिने धनियाँ मात्रै वार्षिक १ अर्ब रुपैयाँको आयात हुने गरेको भन्सार विभागको तथ्याङ्क छ । विभागका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा लसुन मात्रै ५९ करोड ६८ लाख ५० हजारको आयात भएको छ ।
अदुवामा आत्मनिर्भर भएको देश नेपालले ३ करोड ८६ लाखको अदुवा आयात गरिसकेको छ भने बेसार ११ करोड ८२ लाख ७८ हजारको आयात गरिएको छ । सुकेको धनियाँ र जिराको आयात उच्च छ । ६ महिनामा १ अर्ब १२ करोड ३७ लाख ८५ हजारको आयात भएको विभागको तथ्याङ्कले देखाउँछ ।
यस्तै, चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्ब २० करोड रुपैयाँको लसुन, प्याज, धनियाँ, अदुवा, मेथी र बेसार आयात भएकोमा ११ लाख ४० हजार ५ सय ९७ किलो सुकेको प्याज आयात भएको छ । त्यस्तै, ८ करोड ६३ लाख ३८ हजार ६ सय ७ किलो प्याज आयात भएको छ भने बिउका लागि १ हजार ३ सय १५ किलो प्याज आयात भएको छ । जसका लागि नेपालले ३ अर्ब २३ करोड ३८ लाख ७१ हजारको प्याज आयात भएको छ । नेपाली भान्सामा नियमित प्रयोग हुने मसलाजन्य खाद्य पदार्थ मेथी पनि नेपालले ९ करोड ५० लाख ८५ हजारको आयात गरिएको छ ।
भान्सामा दैनिक खपत हुने र छोटो अवधिमै उत्पादन गर्न सकिने मसलाजन्य कृषि उत्पादनमा पनि परनिर्भरता बढ्दै गएको छ । प्रत्येक परिवारले आफूलाई आवश्यक पर्ने लसुन,प्याज धनियाँलगायत मसला फलाउन सके घरको रकम घरमै बस्ने मात्रै होइन, देशको अर्थतन्त्रमा समेत सहजता पुग्ने छ । तर, सरकारको प्राथमिकतामा मसलाजन्य तरकारीको उत्पादन छैन । मसलाजन्य तरकारी उत्पादनका लागि सरकारका तर्फबाट खास कुनै कार्यक्रम तथा योजना तर्जुमा नगरिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेल बताउनुहुन्छ ।
सरकार धान, गहुँ, मकै जस्ता खाद्यान्नमा आत्मनिर्भर हुने गरी योजना बनाइरहेको बताउने गरेको छ । तर, मसलाजन्य उत्पादनमा सरकार र किसानले खास ध्यान नदिँदा बर्सेनि मसला किन्न अरबौँ रुपैयाँ बाहिरिइरहेको छ । आयात प्रतिस्थापनका लागि प्रत्येक परिवारले करेसाबारीलाई कसरी सक्रिय बनाउनुपर्ने सरकारले स्थानीय मसलाजन्य तरकारी उत्पादनका लागि बिउ अनुदान दिएर प्रोत्साहन गर्नुपर्ने कृषि मन्त्रालयका पूर्व सचिव कृष्णप्रसाद पोखरेल बताउनुहुन्छ ।
प्रकाशित मिति: बुधबार, माघ २५, २०७९, १७:३७