काठमाडौँ । मुलुकका बिभिन्न १० जिल्लाबाट काठमाडौँमा भेला भएका पत्रकारहरुले आफ्नो जिल्लामा रहेका मानसिक स्वास्थ्यका बारेमा नयाँ ढङ्गबाट समाचार लेख्ने प्रतिबद्धता जनाएका छन् ।
पत्रकारका लागि मानसिक स्वास्थ्यका बारेमा पहिलोपटक अभिमुखीकरणको आयोजना गरिएको भन्दै उनीहरुले मानसिक स्वास्थ्य समस्याका बारेमा समाजमा रहेका गलत धारणा परिवर्तनका लागि कलम चलाउने बताए ।
सामुदायिक सूचना नेटवर्क (सीआईएन) र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसी) को संयुक्त आयोजनामा गरिएको २ दिने अभिमुखीकरण समापन कार्यक्रममा उनीहरुले नयाँ जोशका साथ जिल्ला गएर क्रियाशील हुने बताएका हुन् ।
दोस्रो तथा अन्तिम दिनको अभिमुखीकरणको सहजिकरण गर्दै सीएमसी नेपालका प्राविधिक निर्देशक तथा वरिष्ठ चिकित्सा मनोविद् डा. पशुपति महतले समुदायमा मानसिक स्वास्थ्य समस्या भएका मानिसलाई पत्रकारिताका माध्यमबाट उपचारमा आउनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । सञ्चारकर्मीका विभिन्न जिज्ञासाको जवाफसमेत उहाँले दिनुभयो ।
डा महतले समुदायमा सुषुप्त अवस्थामा रहेका मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिहरुलाई मानसिक रोग नियमितको उपचारका माध्यमबाट निको हुने कुराको सन्देश प्रवाह गर्नुका साथै उनीहरुलाई गरिने नकरात्मक व्यवहारका बारेमा उजागर गर्दै वास्तविकताका बारेमा जानकारी दिन सञ्चारकर्मीको मुख्य भूमिका रहनेमा जोड दिनुभएको थियो ।
मानसिक स्वास्थ्य समस्या पछिल्लो समयमा निकै विकराल रुपमा आउँदै गरेकाले मोफसलमा रहेर पत्रकारिता गरिरहेका सञ्चारकर्मीलाई मानसिक स्वास्थ्यका बारेमा आफूलाई कसरी रिपोर्टिङ गर्ने, विषयको गाम्भिरयतालाई कसरी उठाउने लगायतका विषयमा यस तालिमले सहयोग पुर्याउने विषयमा विश्वस्त रहेको सीएमसी नेपालका कार्यक्रम अधिकृत हिमाल गैरेले जानकारी दिनुभयो ।
डडेलधुरा, सल्यान, सुर्खेत, जाजरकोट, गोरखा, उदयपुर, कैलालीलगायत १० जिल्लाका सामुदायिक रेडियोमा कार्यरत पत्रकारहरूलाई मानसिक स्वास्थ्यका बारेमा सङ्कलन गरिने खबरका बिभिन्न आयामका बारेमा जानकारी गराएपछि दुरदराजका मानसिक स्वास्थ्य समस्याका बारेमा थाहा पाउन सकिने विश्वास लिइएको कार्यक्रम अधिकृत गैरेले विश्वास व्यक्त गर्नुभयो ।
सीआईएनका म्यानेजर दीपक आचार्यले यसअघिको भन्दा फरक कोणबाट समाचार लेखनमा परिवर्तन आउने अपेक्षा गरिएको बताउनुभयो । सीआएन र जिल्लामा रहेका सामुदायिक रेडियोले समुदायमा रहेका मानसिक स्वास्थ्य समस्याप्रतिका लाञ्छना र यसको निराकरणका लागि सूचनामूलक सामग्री उत्पादन अनि प्रसारण गर्नुपर्ने उहाँको भनाइ छ ।
अप्पन एफएम सप्तरीका स्टेशन म्यानेजर नवीननरसिङ नेपालीले तराईमधेसमा रहेका हर्वाचर्वादेखि अरु बिभिन्न विकृतिका कारण मानसिक रुपमा विचलित भएकाहरुको बारेमा आगामी दिनमा रिपोर्टिङ गर्ने योजना सुनाउनुभयो ।
जागरण एफएम सुर्खेतमा कार्यरत प्रभा राउतले मानसिक स्वास्थ्यको क्षेत्रमा स्थानीय सरकारले छुट्टाएका बजेट र कार्यान्वयनका लागि बनाइएका योजनाका बारेमा रिपोर्ट तयार पार्ने योजना सुनाउनुभयो । अभिमुखीकरणमा बिभिन्न १० जिल्लाका सामुदायिक रेडियोमा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ १६, २०७६, १७:०२