नेकपा ओवादी केन्द्रको नेतृत्वमा रहेको वर्तमान सरकारले प्रतिनिधि सभामा अहिलेसम्मकै धेरै प्रतिशत सांसदबाट विश्वासको मत पाएको छ । तर,सरकारमा सहभागी संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकार गठनको डेढ महिना नपुग्दै सरकारबाट बाहिरिएको छ । अन्तिम समयमा माओवादीलाई सत्ताको नेतृत्वमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको नेकपा एमालेसँगको सहयात्रामा पनि गतिरोध आउला कि भन्ने शङ्का बढेको छ । ठूला दल राजनीतिक इमानमा चुकिरहँदा साना दल भने सत्ताको भर्याङ मात्रै बनिरहेको टिप्पणी पनि हुने गरेको छ । अबको राजनीति कतातिर जाला ? पछिल्लो राजनीतिक अवस्था र अबको आङ्कलनबारे साथी राजन रुचालले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारीसँग गर्नुभएको कुराकानीको सम्पादित अंश–
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिनुले अबको राजनीतिलाई कति र कस्तो असर गर्ला ?
रास्वपा जसरी सरकारबाट बाहिरियो, यसलाई नेपाली राजनीतिको दुर्भाग्य भनौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका लागि भने यो घटना पहिलो गाँसमा ढुङ्गा भने जस्तै भयो । अहिले राष्ट्रिय स्वतन्त्र पार्टी जुन हिसाबले सरकारबाट बाहिरियो, सरकारमा जानु र बाहिरिनुको कारण प्रस्ट पार्नुपर्छ । तर, लोसपाको कुरा गर्नुहुन्छ भने हामी जहाँ थियौँ, त्यहीँ छौँ । नेपाली काँग्रेस नेतृत्वको गठबन्धनमै छौँ ।
कुन बेला सरकारमा जान पाइन्छ भनेर खुट्टा उचालेर बसेका लोसपालगायत पार्टीलाई त, पछिल्लो राजनीतिक गतिविधि ठीकै भइरहेको छ जस्तो लागिरहेको होला नि हैन ?
सरकारमा जानेभन्दा पनि, मुलुकमा अहिलेको यति ठुलो सङ्कटको व्यवस्थापन गर्ने कुरा मुख्य चुनौती हो । हामी सरकारमा गएर सङ्कट मोचन गर्न सक्ने अवस्था पनि त हुनुप्ार्यो नि । लोसपालाई तत्कालका लागि सरकार प्राथमिकताको विषय होइन । बरु एक पटक सबै दलहरू इमानदारीपूर्वक बसेर मुलुक कता गईरहेको छ भनेर गम्भीर छलफल गर्नु पर्ने आवश्यकता छ । मेरो बुझाइमा को मन्त्री बन्ने को नबन्ने भन्ने विषय अहिलेका प्रमुख विषय होइन ।
साना ठुला सबै दल मिलेर रास्वपाका सभापति रवि लामिछानेलाई राजनीति गर्नै नदिने अवस्था सिर्जना गर्नुभयो । पत्रकार सम्मेलनमा लामिछानेले पनि घेराबन्दीको कुरा गर्नुभयो ।
उहाँले के भन्नु भो हैन, हामीले के बुझ्छौँ भन्ने कुरा महत्त्वपूर्ण होला नि । नयाँ पार्टी जसरी सरकारमा सहभागी भयो र बाहिरियो यसले आम रूपमा के सन्देश दिइरहेको भन्ने हो नि विषय त । पछिल्लो घटनाक्रमले नेपालमा जुनसुकै पार्टी आए पनि राजनीतिक स्थिरता हुन्न भन्ने कुरा त देखियो । उहाँहरूले ठिक गर्नु भो, बेठिक गर्नु भो, मेरो कुनै टिप्पणी छैन । तर रास्वपाले सरकार छोडेको हुनाले राजनीतिक अस्थिरता त बढ्यो ।
सरकार नढलोस् भन्न र हिसाब किताब पुर्याउन तपाईँहरू जाने होला नि त फेरि ।
हामीले सरकारलाई विश्वासको मत दिइसक्यौँ अब सरकारमा जानुपर्ने के जरुरी छ र ? यो सरकारलाई लगभग सबै दलको समर्थन छ त । हामी किन सरकारमा गईरहनुपर्यो र ?
अझै मन्त्रीका कुर्सी खाली छन् । खाली कुर्सी देखेपछि तपाईँहरूको मन मान्छ र ?
कुर्सीमा कसलाई राख्ने, कसलाई राख्दा दिगो हुन्छ । सरकारलाई विश्वास मत दिनेहरूमध्ये कसलाई कुर्सीमा राख्दा सरकार दिगो बन्छ, त्यो कुरा त प्रधानमन्त्री सोच्ने कुरा हो नि ।
लोसपाले प्रधानमन्त्री प्रचण्डसँग सरकारमा सहभागिताको विषयमा केही कुरा गरेको छ ?
हामीले कुरा गरेका छैनौँ । लोसपा नेपाली काँग्रेस नेतृत्वको गठबन्धनमा भएकाले गठबन्धनले जे निर्णय गर्छ हामी त्यसमा अडिग छौँ ।
राष्ट्रपतिको चुनावमा राष्ट्रिय सहमति खोज्ने बताएर माओवादी केन्द्रले काँग्रेससँग नजिक हुने लक्षण देखाएको छ, त्यस्तै परिस्थिति बनेर काँग्रेस सरकारमा गयो भने लोसपा पनि जान्छ ?
विषय सरकारसँग जोडिएको छैन । राष्ट्रपति संस्थालाई विवादमुक्त बनाउन नसक्दा यति धेरै चासो देखिएको छ । हाल यो संस्था कसैका लागि आस र कसैका लागि त्रास बनेको छ । त्यही भएर हामीले चाहिँ सहमतिकै आधारमा राष्ट्रपति बन्नुपर्छ भनिरहेका छौँ ।
सहमति चाहिँ काँग्रेसको उम्मेदवार भए मात्रै हुने हो कि अरू कुनै दलको उम्मेदवार पनि सहमतिको उम्मेदवार बन्न सक्छ ?
यसमा सिम्पल कुरा छ, एक त राष्ट्रपतिको विगतको गतिविधिलाई पनि हेर्नु पर्छ । दोस्रो कुरा एउटै पार्टीकोचाहिँ भोलि सभामुख, राष्ट्रपति र प्रधानमन्त्री बन्ने अवस्था आयो भने त्यो मुलुकका लागि पक्कै पनि सुखद हुँदैन । त्यसलाईचाहिँ स्वेच्छाचारिता बढाउँछ । हामी शक्ति सन्तुलन होस् भन्ने चाहन्छौँ । जसले यो पदको गरिमा बढाउँछ, संविधानको कार्यान्वयनमा सघाउँछ, सबैको अभिभावक बन्ने क्षमता राख्छ त्यस्तो व्यक्तिलाई राष्ट्रपतिमा ल्याऊँ भन्ने हाम्रो जोड हो ।
त्यस्तो व्यक्ति दल भित्रबाटै खोज्ने कि दल बाहिरबाट ?
दल भित्रै पनि त्यस्ता व्यक्तिहरू छन् । हाम्रै पार्टीको कुरा गर्नुहुन्छ भने अध्यक्ष महन्थ ठाकुर हुनुहुन्छ । उहाँको विषयमा पनि छलफल र सहमति गर्न सकिन्छ । अन्य दलमा पनि थुप्रै नेताहरू हुनुहुन्छ । दल बाहिर पनि थुप्रै व्यक्तित्वहरू हुनुहुन्छ । तर नेता लोसपा
लोसपा र जसपा दलहरू मधेसका मसिहा हामी नै हौँ भन्ने ठान्थे, जनमत पार्टीको उदयलाई कुन रूपमा लिनुभएको छ ?
जमनत पार्टीको उदयलाई जनताको परिवर्तनको चाहना र पुराना दल तथा नेताबाट राम्रो काम हुन नसकेपछि त्यो विकल्पको खोजीका रूपमा लिनुपर्छ । सिकेजीहरुको मुद्दा र हाम्रो मुद्दामा खासै फरक छैन । हामी त सहकार्य गर्ने बारे छलफल गरिरहेका छौँ ।
सहकार्य ? वैचारिक कि कस्तो ?
मधेसका जनताको मुद्दामा सहकार्य हुन्छ । मधेसको विकासका लागि सहकार्य हुन्छ । त्यहाँका जनताको उत्थानका लागि हुन्छ ।
सहकार्य, पार्टी एकतासम्म पनि पुग्छ ?
तत्काललाई सहकार्य हुन्छ, पछि पार्टी एकता नै पनि हुनसक्छ । राजनीति हो, के भन्न सकिन्छ र ?
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९, १८:२७