कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले आज पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ ।
निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएर हिजो पदमुक्त भएपछि प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।
शाहले आज पद तथा गोपनीयताको सपथग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।
बुवा मंगलबहादुर शाह र आमा चन्द्रदेवी शाहको कोख बाट अछाम जिल्ला रामारोशन गाउँपालिका वडा नम्बर ५ तडिगैरामा २०२८ साल माघ १० गते कमल बहादुर शाहको जन्म भएको हो ।
विद्यालय शिक्षा अछाम र कैलालीबाट अघि बढाएका शाह २०४४ सालदेखि नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय हुदै आउनु भएको थियो ।
उहाँले २०४६ सालदेखि २०५२ सालसम्म नेपाल विद्यार्थी संघको क्याम्पस इकाई समिति सदस्य र पार्टीको महाधिबेशन प्रतिनिधि भएर काम गर्नुभयो ।
२०५४ सालदेखि २०६८ सालसम्म्म विभिन्न समयमा नेपाल तरुण दलको केन्द्रीय खेलकुद विभागीय सदस्य, केन्द्रीय कोषाध्यक्ष, केन्द्रीय सचिव र केन्द्रीय उपाध्यक्ष पदमा काम गर्नु भएको थियो ।
२०५३ सालदेखि हालसम्म नेपाली काँग्रेसको नवौँ, दसौँ, एघारौँ, बाह्रौँ, तेह्रौँ र चौधौँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य भएर काम गर्दै आउनु भएको छ ।
शाह २०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदारसमेत रहनु भएको थियो ।
२०६४ र २०६२/६३ सालको जनआन्दोलमा पटकपटक गरी ४ महिना जेल जीवन बिताउनु भएका शाह तेह्रौँ र चौधौँ महाधिबेशनमा केन्द्रीय सदस्य पदको उम्मेदारसमेत रहनु भएको थियो ।
लम्कीचुहा नगरपालिका १ लम्कीका स्थायिबासिन्दा शाह २०७९ साल मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ ( १ ) बाट निवर्जाचित सांसद हुनुहुन्छ ।
विद्यार्थी जीवनकालदेखि नै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय शाह अहिले नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता हुनुहुन्छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९, ०८:२१