सरु वादी
म डोटी जिल्लाको पुर्विचाैकी गाउँपालिका ५ काडामाण्डौँ थापा गाउँ टोलमा बस्दै आएको छु । म ५० वर्षको भएँ । यहाँ बस्न थालेको लगभग २८ वर्ष भयो । अहिले कालिका माई बहुउद्देश्यीय सहकारी संस्थाले दिएको एउटा कोठामा बस्दै आएको छु ।
मेरा श्रीमानको मृत्यु भएको झन्डै १२ वर्ष भयो । मेरा एक छोरा एक छोरी छन् । छोरीको विवाह भइसक्यो । छोरो पालेर बसेँ । उसलाई हुर्काएँ, बढाएँ । तर उसका बुबा अर्थात् श्रीमानको मृत्यु पछि ऊ कामको खोजीमा भारत पस्यो । चार वर्ष बितिसक्दा समेत उसले अहिलेसम्म एक पटक पनि सम्पर्क गरेको छैन । घर नआए पनि कम्तीमा आफूलाई सन्चै छ भनेर फोन भए पनि गर्ला कि भन्ने आशा थियो । तर, आशा आशा मै सीमित भयो ।
म एक्लो भएँ । पूरै एक्लो भएँ । छोरालाई सम्झिन्छु, विरक्त लाग्छ । के गर्नु मेरो भाग्य नै यस्तो रहेछ । यस्तो बेलामा मेरो साथी भन्नु यही रेडियो मात्र भयो । मेरो दुःख सुखको साथी भन्नु यही रेडियो हो । यहाँ आउने खबर र गीत सबै सुन्छु । कुनै खबर र गीत सुन्दा एकदमै नरमाइलो लाग्छ । गीतसँगै रुन्छु पनि । परदेशिएकाहरुका दुःखका खबर सुन्दा नरमाइलो लाग्छ । मेरो छोरो पनि कहाँ होला ? कस्तो अवस्थामा होला ? के खाँदो हो ? के गर्दो हो ? भन्ने पिर लाग्छ । तर उसले मलाई एक पटक पनि किन सम्झेन भन्ने लाग्छ । कुनै न कुनै दिन त आमाको याद आउनुपर्ने हो । घर आउन नपाए पनि तर एक पटक पनि फोन गरेन ।
गाउँमा हिजो मैले पानी ल्याउन जाने पँधेरो फेरियो । गोरेटो, बाटाहरू फेरिए । ओखलको साटो मिल आए तर रेडियो सँधै मेरो नजिक रहिरह्यो । सडक निर्माण भयो । विकासको गतिले फड्को मारे पनि मेरो हाल उस्तै छ । छोरीले दिएको मोबाइल छ । फोन लाउन आउँदैन । आएको फोन उठाउन चाहिँ आउँछ । छोरीले फोन गर्दा बाेल्छु ।
मोबाइलमा पनि रेडियो बज्छ, तर म ब्याट्री किनेर रेडियो सेट नै बजाउँछु । दुर्घटनाका खबर, तिथि मिति तथा मेरो जीवनसँग मेल खाने गीत आउँछन् जसले गर्दा मेरा छोराको, श्रीमानको याद मेटिन्छ। मैले २०५२ सालबाटै नियमित रेडियो बजाउँदै आएको छु । त्यस बेला एक जोडी ब्याट्री २० रुपैयाँमा आउँथ्यो । अहिले त ब्याट्री पनि महँगो पर्छ । अहिलेसम्म मैले ६ वटा रेडियो किनेँ । ब्याट्री चाहिँ ५ हजार जतिको किनेँ होला जस्तो लाग्छ । ब्याट्री दिउँसो घाममा सुकाएर काममा जान्छु फर्केर रेडियोमा हाल्छु । मलाई यत्रो धेरै पैसाको ब्याट्री किनेँ भनेर दुख लाग्दैन । किनकि यही रेडियो मेरो दुःखको साथी हो । मेरा दुःखका दिनमा पनि रेडियो मसँगै रह्यो । यही रेडियोले मेरा आँसु देखेको छ । मेरा पिडा देखेको छ । कहिले हँसाएको पनि छ । मलाई एक्लो हुँदा पनि साथ दिएको छ । कोही नभएर सुनसान हुने मेरो घर यही रेडियो बज्नाले सुनसान हुन पाउँदैन । त्यसैले मलाई रेडियो खुबै मन पर्छ ।
कुनै दिन रेडियो बिग्रियो भने साह्रै नरमाइलो लाग्छ । कहिले बनाएर फेरि बजाउनु जस्तो लाग्छ । मेरो आँखामा पसेको कसिङ्गर पनि निकाल्दिने मानिस कोही छैन । त्यसैले मेरो घरको सदस्य भनौँ वा मेरो साथी वा भनौँ छोराछोरी जे जे भने पनि यही एउटा रेडियो बनेको छ । अहिलेको रेडियो पुरानो भएको छ । यो बिग्रिरहन्छ । अब अर्को नयाँ रेडियो किन्ने सोचेको तर भत्ता पाएकी छैन । भत्ता आए नयाँ रेडियो किन्ने थिएँ ।
(रेडियो स्मार्ट एफएम डोटीका तीर्थ नेपालीसँगकाे कुराकानीमा आधारित)
प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९, १३:४१