विषय उठान:
सहरसँग लेख्नका लागि अनगिन्ती कथाहरू छन्, खोज्नका लागि बेगिन्ती विषयहरू छन् । सहरमा बर्गर संस्कृति मौलाउँदै गर्दा कतिपय हिजो पहिचान बोकेका मानवीय गतिशीलताका केन्द्रहरू मुर्झाएका छन् । कति नितान्त नयाँ बनेका छन् र कति हिजोको गतिशील विरासतमा टेकेर समयसँगै फेरिँदै आफूलाई जीवन्त राखेका छन् । नयाँ पहिचान बनाएका वा मुर्झाएका हरेक गल्ली वा केन्द्रसँगै अकथनीय कथाहरू छन् । ती कथाहरू त्यससँग जोडिएका पात्रहरूको अनुस्मृतिमा छ, अनुभव एवम् अनुभूतिमा छ । सर्जकले त्यसलाई पर्गेल्न मात्र जान्नुपर्छ, अन्वेषण र उत्खनन गर्न मात्र जान्नु पर्छ । अनि जन्मन्छन् सभ्यताको पाइलामा गुमनाम बनेका वा नयाँ पहिचान बनाएका ठाउँ र समुदाय विशेषका सुरम्य कथाहरू । ती कथाले ठाउँ विशेषको इतिहास बोल्छ, सभ्यता, विकास र परिवर्तनका आयामहरू बोल्छन् र बोल्छन् समयलाई साक्षी राखेर समयका पदचापहरू ।
अहिले सहर आन्तोनीओ ग्राम्सी र रेमन्ड विलियम्सले भने जस्तै सांस्कृतिक प्रभुत्ववादको सिकार भएको छ । सहर रैथाने उत्पादन, कला, संस्कृति तथा जीवनशैली एकातिर थन्क्याएर आयातित संस्कृतिमा रमाइरहेको छ । अनि सहरका हरेक गल्ली अलग अलग कथा बोकेर सतिसाल झैँ खडा छन् । मल्लकालदेखिको व्यापारिक केन्द्र असनका रैथाने व्यापारीहरू सन्त्रासको सुस्केरा हालिरहेका छन् । हिजो उखु खेती हुने ठाउँको रूपमा ख्यातिप्राप्त टोखा आज आफ्नो रैथाने उत्पादन चाकु उपभोक्तावादी बजारमा स्थापित गर्न कठोर सङ्घर्ष गरिरहेको छ । तेल उत्पादनको लागि विख्यात खोकना आज पहिचानको सङ्कटबाट गुज्रन अभिशप्त छ । सांस्कृतिक सहरको रूपमा आफूलाई उभ्याउन प्रयत्नशील भक्तपुर भित्र नै परम्परागत मूर्तिका कला सङ्कट झेल्दै छन् । ढलोट मूर्ति निर्माणको केन्द्र पाटनसँग मूर्ति निर्माणका लागि जनशक्तिको अभावको प्रसव पीडा आफ्नै खालको छ । यस्ता बग्रेल्ती कथा छन् सहरसँग । स्रष्टाहरूमा यी कथा उधिन्ने इच्छाशक्ति, इतिहास दृष्टि र समय चेतनाको दरकार रहेको छ ।
जुद्ध सडकबाट नयाँ सडक हुँदै न्युरोड बनेको जुद्ध सडक आधुनिक विकासको अमिट बिम्ब हो जसले नेपाली साहित्य र राजनीतिमा सार्थक हस्तक्षेप गर्दछ । राणाकालीन समयमा सहरको केन्द्रीय वर्चस्व कायम राखेको जुद्ध सडक न्युरोडमा रूपान्तरण हुँदासम्म राजधानीको थुप्रै ठाउँमा सहर विस्तार भएको छ र पनि सहरको केन्द्रीय वर्चस्वलाई न्युरोडले जेनतेन धानिरहेकै छ । जुद्ध सड़कबाट न्युरोडमा परिवर्तन हुँदासम्मका यसका अनेकौँ कथालाई उधिन्ने यत्न गरेका छन् उन्मुक्त पुस्ता सम्बद्ध सशक्त कवि तथा पत्रकार प्रकाश गुरागाईँले, गैर व्याख्यात्मक कृति ‘जङ्क्सन पिपलबोट’ मार्फत ।
साहित्यिक यात्रामा प्रकाश:
धनकुटा थातथलो भएका प्रकाश गुरागाईँमा विद्यालयदेखि नै साहित्यिक अभिरुचि जागेको पाइन्छ । पाठ्यपुस्तकमा पढेको कविताको प्रभावले एकाध कविता लेख्न थालेका उनी अरूलाई सुनाउन भने लजाउँथे । कक्षा सातमा पढ्दा आफूले लेखेको कविता अरूले सुनाएर प्रथम भएपछि उनलाई बल्ल आफ्नो सामर्थ्य थाहा भयो ।
क्याम्पसमा आइए पढ्न थालेपछि साहित्यिक सङ्गतको अभावमा उनको साहित्यिक अभिरुचिले मौलाउने ठाउँ पाएन । बीए पढ्दै गर्दा साथीहरूसँग मिलेर साहित्यिक पत्रिका ‘तेस्रो आवाज’ प्रकाशन गर्न थालेपछि लेख्न थाले । २०६० सालमा रेडियो नेपालको राष्ट्रव्यापी कविता प्रतियोगितामा ‘परु पावक’ नामबाट भाग लिए तर कविता सुनाउन धनकुटाबाट काठमाडौँ आउन सकेनन् । उनको कविता कार्यक्रम सञ्चालक नवीन दाहालले वाचन गरिदिए । २०६२ सालमा काठमाडौँ छिरेपछिको ६ वर्ष उनी गुमनाम बने, आफूले कविता लेख्न सक्छु भन्ने कुरा पनि बिर्सिए । गैर साहित्यिक सङ्गत र परिवेशले उनलाई त्यस्तो बनाएको थियो । तर, उनको अन्तर मनमा साहित्यप्रतिको अभिरुचि निष्क्रिय थियो । २०६८ साल पछि कला अनुरागी लगायतका साहित्यिक मित्रहरूको सङ्गतमा आइपुगेपछि उनी भित्र सुषुप्त रूपमा रहेको साहित्यिक अभिरुचि जागृत भयो र पुनः कलम चलाउन थाले । उनी जोडिन आइपुगेको काव्य शिविरले उनमा कला चेतनाको विकास गरायो भने उन्मुक्त पुस्ताले सामाजिक उत्तरदायी भावनाको विकास गरायो । अनि आरम्भ गरे चेतना र विद्रोह सहितको काव्य सिर्जना । २०७५ मा ‘खुट्टामा श्रीपेच’ कविता सङ्ग्रह प्रकाशन गरे र घोषणा गरे– ‘कविता सडकमा ओर्लनुपर्छ । कविता बस्ती पस्नुपर्छ । कविता आम मान्छेको हृदयमा झङ्कृत हुनुपर्छ । कम्तीमा कविले त्यो प्रयत्न गर्नुपर्छ ।’ (खुट्टाको श्रीपेच पृ. १०७)
लेखनको कच्चा पदार्थ खोज्नु उनको पेसागत धर्म र कर्म त छँदै थियो । पत्रिकाका लागि नवीन र जन पक्षीय विषयको खोज गर्ने तृष्णाले उनी कविता प्रकाशनपछि आख्यानतर्फ आकर्षित भए र आफ्नै कविता सङ्ग्रहमा उद्घोष गरे जस्तै विषयको खोजमा सडकमा ओर्लिएर नयाँ सडकलाई पैतालाले नाप्न थाले ।
गैर आख्यानको छनोटमा उनलाई प्रेरित गर्ने केही विषय थिए । पहिलो उन्मुक्त पुस्ताले ‘आफर’ प्रकाशनपछि गैर आख्यान प्रकाशन गर्ने योजना बनाएको थियो र त्यसको जिम्मा उनले पाएका थिए । उन्मुक्त पुस्ताको गैर आख्यान विलम्ब हुँदै गए पनि उनले भने केही गैर आख्यानका रचना तयार पारिसकेका थिए । पत्रकारिता कर्मका क्रममा उनले तयार पारेका आलेखहरू समसामयिक बहस उठान गर्ने र पठनीय हुन्थे । फलतः पाठक र प्रकाशक दुवैले उनले गद्य लेखनको सामर्थ्यलाई पहिचान गरेका थिए । कविता प्रकाशनपछि कविता जस्तै सशक्त कुनै गद्य तयार भए हुन्थ्यो भन्ने हुटहुटी थियो । कविता पछि के ? भन्ने सवालको जवाफ लेखेर दिनु थियो उनलाई । त्यसैले उनी गैर आख्यानको तयारीमा जुटे र छनोट गरे नयाँ सडकलाई ।
एउटा कालखण्डको नेपाली राजनीति र साहित्यको विम्ब बनेको पीपल बोटलाई केन्द्रबिन्दुमा राखेर कहिले अमुक भट्टी पुगे त कहिले न्हुछे गल्ली, कहिले नयाँ सडकको सडक नापे त कहिले न्युरोडका चिया पसलहरूमा घण्टौँ गफिए । कहिले बाइकमा हुइँकिँदै पिपल बोटसँग जोडिएका अग्रजहरूको घरमा चियाको चुस्की लिन अतिथि बने त कहिले पुराना एल्बम पल्टाउन अग्रज फोटोग्राफर श्रीधरलाल मानन्धरकहाँ पुगे । त्यसरी चार वर्ष नयाँ सडकको कथाको खोजमा भौँतारिँदा ५२ जना व्यक्तिको मुखारवृन्दबाट कथा सुनेछन् । ती कथाहरूको आधिकारिकता पुष्टि गर्न थुप्रै इतिहास र संस्मरणका पुस्तकहरू पल्टाए र तयार पारे जङ्क्सन पिपलबोटका १६ शीर्षकमा विभक्त आलेखहरू ।
आलेखहरूको परिमिति:
पुस्तकमा जम्मा १६ वटा निबन्ध समाविष्ट छन् । हरेक निबन्धमा वर्णित घटना, गतिविधि र पात्रहरू कुनै न कुनै रूपमा र कालखण्डमा नयाँ सडकसँग साइनो जोडिएका छन् ।
पुस्तकको पहिलो निबन्ध ‘न्युरोड एडिक्सन’ मा ३० को दशकदेखि निरन्तर न्युरोड बरालिरहने साहित्यकारहरूको सघन नालीबेली, उनीहरूको बहसको विषय, मूर्धन्य राजनीतिज्ञ तथा साहित्यकारहरूको भेटघाटको थलोको रूपमा रहेको ‘फुटपाथ एकेडेमी’ खुम्चँदै गएर न्हुछे गल्लीको कविकुनोमा परिणत भएको सन्दर्भलाई अभिलिखित गरिएको छ । समय क्रमसँगै विभिन्न होटेल बन्ने र बन्द हुने, भेटघाट केन्द्र परिवर्तन हुँदै नयाँ र पुराना पुस्ताका साहित्यकार थपिने र छुटिने प्रसङ्गहरू रोचक ढङ्गले प्रस्तुत गरिएको छ । नयाँ सडक पुग्ने लत लागेका थुप्रै साहित्यकारको लामै सूची उल्लिखित छ पुस्तकमा ।
‘जुद्ध शमशेर, हात्ती र नयाँ सडक’ शीर्षकमा वृद्ध फोटोग्राफर श्रीधरलाल मानन्धरले गरेको वर्णनको आधारमा जुद्ध सडकको विकासको कथालाई अभिव्यक्त गरेका छन् लेखकले । १९९० सालको भूकम्पपछि वसन्तपुरदेखि टुँडिखेलसम्म पहिलो आधुनिक सडकको निर्माण (पृ.२०) गरेर आधुनिक विकासको प्रारम्भ भएको खुलासा यहीँ गरिएको छ । न्युरोड विकासको साक्षी बनेर उभिएको पिपलबोट भने कहिलेदेखि उभिएको हो ? रैथाने बासिन्दालाई पनि थाहा नभएको प्रसङ्ग इङ्गित गरिएको छ । वि.सं १९९१ बाट प्रारम्भ भएको जुद्ध सडकको आधुनिकताको २०३८ सालसम्मको झण्डै आधा शताब्दीको गतिविधिलाई यहाँ प्रस्तुत गरिएको छ । यसमा आधुनिक विकासको यात्रा वर्णन मात्र छैन, तत्कालीन जनजीवन, जुद्ध शमशेरको स्त्री लम्पट स्वभाव, तत्कालीन जुद्ध सडक वरिपरिको वातावरण, दरबार जीवनशैली आदिको पनि सजीव चित्रण छ । एरिका ल्युगट्यागको ‘त्रिभुवनकी एरिका,’ वि.एल. शर्माको ‘राष्ट्रपिता र म,’ भीमबहादुर पाण्डेको ‘त्यस बखतको नेपाल,’ तीर्थनारायण मानन्धरको ‘काठमाडौँ उहिले र अहिले,’ गणेशमान सिंहको ‘मेरा कथाका पानाहरू,’ ब्रम्हशम्शेरको ‘नेपालको महाभूकम्प– १९९०,’ अरविन्द रिमालको ‘दिल्ली बजारको लप्टनको होटेल,’ मङ्गलादेवी सिंहको ‘नारी सङ्घर्षका पाइलाहरू,’ जस्ता कृतिमा छरिएर रहेका जुद्ध सडकसँग सम्बन्धित प्रसङ्गलाई पनि उद्धृत गरिएको छ । नेपालमा सिनेमा हल, फोटोग्राफी, आधुनिक सुपथ मूल्य पसल, तरकारी बजार, चिया संस्कृतिको सुरुवात, सैलुन, आधुनिक फेसन, मेडिकल हल आदि यहीँबाट सुरु भएको प्रसङ्ग यस खण्डमा समेटिएको छ ।
‘खबरको थलो’ शीर्षकमा समाचार आदानप्रदान गर्ने थलोका रूपमा जुद्ध सडकको यात्राको वर्णन गरिएको छ । गोरखापत्र प्रकाशनपछि खबर केन्द्र बनेको यो क्षेत्र आधुनिक सडक बनेपछि हरेकका लागि खबर प्राप्तिको केन्द्र बन्यो । गोरखापत्र प्रकाशनको इति वृत्ति, पत्रिका किनबेचको केन्द्र बनेको जुद्ध सडक र भेटघाटको केन्द्र बनेको पिपलबोटसँग जोडिएको समसामयिक सन्दर्भ यसमा राखिएको छ । २००२ मा स्थापित र २०६९ मा बन्द भएको नेपालकै पहिलो पत्रिका पसल ‘सन्देश गृह’को अनेक प्रभाव र वृत्तान्त यसमा केलाइएको छ भने पीपलबोटमा रहेको पत्रिका पसलको कथा पनि समावेश छ । लेखकले २०४९ सम्मको घटनालाई यहाँ उल्लेख गर्दै पीपलबोट अब एकल खबर केन्द्र नरहेको बताउँछन् ।
‘त्यो थियो पीपलबोटे युग’ शीर्षकमा २०३० को दशकको वरिपरि नयाँ सडक साहित्य भेट्घाट स्थल, ग्रामीण क्षेत्रको खबर आदानप्रदान गर्ने थलोको रूपमा रहेको प्रसङ्गलाई कोट्याइएको छ । रचना आदानप्रदान गर्ने, साहित्यिक भेटघाट गर्ने र गफिने थलोका रूपमा त्यहाँ खुलेका विभिन्न होटेल र रेस्टुरेन्ट प्रयोग भएका विशद प्रसङ्ग रहेका छन् । साहित्यिक मात्र होइन, भूमिगत कालमा राजनैतिक भेटघाट हुने माध्यम पनि नयाँ सड़क नै बनेको थियो । त्यसमा संलग्न भएका थुप्रै साहित्यकारहरूको सूची रहेको छ लेखनमा । अभि सुवेदी, पुरुषोत्तम सुवेदी, विमल निभा, नारायण ढकाल, नयनराज पाण्डे, शार्दुल भट्टराई, श्यामल, राजेन्द्र पराजुली, नवराज सुवेदी, दमननाथ ढुङ्गाना, लोकराज बराल जस्ता थुप्रै नामहरू यसमा सम्बद्ध छन् ।
‘राणाविरुद्ध जाग्यो नयाँसडक’ शीर्षकमा नयाँ सडकलाई केन्द्रबिन्दु बनाएर राणा विरुद्धका भएका विभिन्न आन्दोलनको उल्लेख गरिएको छ । यही आलेखमा छ २००७ सालको क्रान्तिको प्रथम सहिद न्हुछेरत्न तुलाधरको मृत्युको प्रसङ्ग (पृ.११५) र बालकृष्णसमसेरजङ्गबहादुर राणा सम (पृ.११६) बनेको रोचक प्रसङ्ग ।
‘राजनीतिको मार्ग: नयाँ सडक हुँदै सिंहदरबार’ शीर्षकमा २००७ साल पछिको नयाँ सडकको राजनीतिक क्रियाकलाको उल्लेख गरिएको छ । २००७ सालको प्रजातान्त्रिक योद्धा तथा लेखक अरविन्द रिमालको मुखबाट घटनाक्रमहरू व्यक्त गराइएको छ । यहाँ सात सालपछिको विद्यार्थी आन्दोलन, नगरपालिका निर्वाचन–२०१५, आम निर्वाचन–२०१७ को राजा महेन्द्रको ‘कु’ र २०४६ को जनआन्दोलनका प्रसङ्गहरू समाविष्ट छन् । २०४६ को जनआन्दोलन नयाँ सडकबाट सुरु भएको र पञ्चायत कालमा नयाँ सडकमा राजनीतिक भेटघाट पातलिए पनि २०४६ सम्म कुनै न कुनै रूपमा नयाँ सडक गतिशील भएका प्रसङ्गहरू अभिलिखित छन् । २०४६ को जनआन्दोलन पछि नेताहरू सिंहदरबार पसेका तथा सभा र सम्मेलनहरू नयाँ सडक र भूगोल पार्कबाट रत्नपार्क र खुल्ला मञ्च (पृ. १४८) स्थान्तरित भएको कुरा अभिव्यक्त गरिएको छ । यस खण्डको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको नेपालमा दलित आन्दोलन र न्यून वैतनिक कर्मचारी आन्दोलनका प्रणेता तर कम चर्चा भएको परिवर्तनका संवाहक योद्धा मङ्गलमानको विशद चर्चा हुनु हो । उनको बारेमा सिद्धिचरणले ‘मङ्गलमान’ खण्डकाव्य नै लेखेका छन् ।
‘मदिरा र मित्रता’ शीर्षकमा नयाँ सडकको राजनीतिक हैन साहित्यिक पाटोलाई उत्खनन गर्ने प्रयास गरिएको छ । भेटघाट र आफ्ना रचनाहरूको प्रचारको थलो बनेको नयाँ सडक धाउने विभिन्न साहित्यकारहरूको गुट उपगुट र भट्टी यात्रा अनि उनीहरूको दैनिकी र मित्रतासँग जोडिएका अन्तरङ्ग विषयवस्तु यहाँ प्रस्तुत गरिएको छ । नयाँ सडकका भट्टी पसलहरूमा हुने काव्यिक भेला, सुरा पानसँगै जन्मिएका गफहरू बिचबाटै साहित्यिक महत्त्व बोक्ने काव्यिक आन्दोलन अमलेख, सडक कविता क्रान्ति, यङ राइटर्स फन्ट जस्ता आन्दोलनहरू जन्मिएको विषय यहाँ समेटिएको छ । भैरव अर्यालमा बढ्दै गएको निराशा र आत्महत्याको पृथक् प्रसङ्ग यस खण्डको मार्मिक पक्ष हो । यसरी नयाँ सडक धाउने साहित्यकारहरूको भट्टी प्रेम र दोस्तीको लम्बेतान सूची यसमा समावेश छ । उनीहरूको मदिरा पिउने बानी, सुरा पिएपछिको स्वभाव, जागिरे जीवन आदिको विस्तृत विवरण यहाँ भेटिन्छ । त्यसो त सोमरस पिउने बानी नभएका साहित्यकारहरू पनि भट्टी यात्रामा सामेल छन् । उनीहरूको उद्देश्य भेटघाट, छलफल र भट्टीभित्रको काव्यिक गफको आनन्द उठाउनु देखिन्छ । रिपोर्टिङ शैलीमा नयाँ सडकसँग जोडिएका पुस्ताको किस्साहरूको खोजीमा निस्किएका (पृ.१५२) लेखकले सम्बन्धित पात्रहरूको मुखबाट सुनेका शृङ्खलाहीन अन्तरङ्ग कथाहरूको सँगालो हो यो खण्ड ।
‘जुत्ता: शासक विरुद्धको एउटा विम्ब’ शीर्षकको विषय लेखक सुरेश किरण मार्फत अभिव्यक्त गराइएको छ । नयाँ सडकमा जुत्ता पालिस गर्ने परम्पराको नालीबेली यस खण्डमा आएको छ । लेखकले शैलेन्द्र साकारको सन्दर्भ दिँदै बुट पालिस आन्दोलनको पृष्ठभूमि बताएका छन् । बुट पालिस आन्दोलन नवीन सिर्जनात्मक खोजभन्दा पनि परम्परागत साहित्यिक प्रकाशनप्रति युवा समूहको आक्रोश थियो । यस आन्दोलनमा संलग्न हुनेहरूको विचार, यसका क्रियाकलापहरू र प्रभावलाई यस खण्डमा प्रविष्ट गराइएको छ । यस आन्दोलनलाई प्रचारबाजी मात्र मान्नेहरूको विचार पनि समेटिएको छ । नवसर्जकहरूका पुस्तक प्रकाशनार्थ सुरु भएको बुट पालिसबाट सङ्कलित पैसा बिना प्रयोजन बैङ्कबाटै हराएको प्रसङ्गले बुट पालिसले उठाएको विषय र सुरु गर्नुको उद्देश्य पूरा नभएको सङ्केत भने गर्दछ । बुट पालिसका योजनाकार (पृष्ठ १७८) किशोर नेपालको मूल्याङ्कन भने त्यो ‘तमासा’ मात्र रहेको भन्ने देखिन्छ ।
‘साइकल युगमा मोटरसाइकल चढ्नेको कथा’ शीर्षकीय आलेखमा नेपालमा मोटरसाइकल र स्कुटरको प्रयोगको सन्दर्भलाई उत्खनन गर्ने प्रयत्न गरिएको छ । गीतकार नगेन्द्र थापा, कवि कृष्णभक्त श्रेष्ठ, पुरुषोत्तम बस्नेत आदिको अनुभवको आधारमा यो प्रसङ्गलाई खोतल्ने प्रयत्न गरेको देखिन्छ । ती अनुभवसँग न्युरोडको कथा जोडेका छन् लेखकले ।
‘कटुवालका किस्सा’ शीर्षकमा आसामका कवि हरिभक्त कटुवालको बेपरवाहको काठमाडौँ जीवनको वर्णन गरिएको छ । नयाँ सडकको भट्टी पसलमा उनको आगमन निरन्तर हुने भएकाले कृतिमा यो किस्सा जोडिन आइपुगेको हो । रक्सी नखाई बस्न नसक्ने, खाएपछि कविता वाचन र लेखन दुवै राम्रो गर्न सक्ने कटुवालको कमजोरी भने कै मदिरापान रहेको औँल्याइएको छ यो किस्सामा ।
‘रक्सीले बदनाम एउटा कवि’ मा राम्रो क्षमता भएर पनि निस्फिक्री सुरापानको कारण बदनाम भएका र लेख्न नसकेका सन्तोष भट्टराईको कथा समेटिएको छ । ‘तीन मित्र, तीन शैली’ शीर्षकमा नारायण ढकाल, विमल निभा र राजवको मित्रताको प्रसङ्गलाई कोट्याइएको छ । यहाँ २०३१ सालबाट सुरु भएको दोस्ती र न्युरोडको लत यथावत् रहेको प्रसङ्ग उल्लेखित छ ।
‘विमोचनका बहाना’ मा लेखकले नेपालमा पुस्तक विमोचन संस्कृतिको इतिहासलाई उधिन्न पुगेका छन् । पीपलबोटे साहित्यकारहरूबाट (पृ.२५६) नै नेपालमा विमोचन शैली भित्रिएको र आज तिनैबाट विरोध भएको बताइएको छ । नेपाली साहित्यमा औपचारिक रूपमा विमोचन गरिएको पुस्तक ऋषिराज बरालको ‘भावना’ उपन्यास रहेको जानकारी यहाँ सन्दर्भ सहित दिइएको छ ।
‘जासुसको अखडा’ शीर्षकमा राणा कालदेखि २०४६ सालसम्म सरकारका विभिन्न निकायले नयाँ सडक क्षेत्रमा कसरी जासुसी गराउँथे भन्ने बेलिबिस्तार दिइएको छ । पूर्व जासुसलाई मुखर पात्र बनाएर त्यतिखेरको जासुसी प्रक्रियालाई छर्लङ्ग्याइएको छ ।
‘नयाँ सडकका पुराना घर’ शीर्षकमा नयाँ सडकका पुराना संरचनाको रूपमा रहेका केही पुराना घरहरूको वृत्तान्त पस्किइएको छ । त्यस्तै नयाँ सडकसँग जोडिएको फुटबल क्लब र फुटबल खेलको जानकारी दिइएको छ । यहाँका संरचनाहरू कसरी परिवर्तन हुँदै नयाँ बने भन्ने कुरालाई वर्णन गर्दै बाँकी रहेको एउटा मात्र जुद्धकालीन घरको कथा सविस्तार राखिएको छ । यो घरको कथासँगै यहाँको सडक संस्कृति, जात्रा पर्व, लोक नाटक आदिको प्रसङ्ग पनि समेटिएको छ ।
‘निरन्तर नयाँ सडक’ जङकसन पिपलबोट कृतिको अन्तिम आलेख हो । यसमा नयाँ सडक व्यापारिक केन्द्र बनेर न्यूरोड हुनु अघि नयाँ सडकको लत लागेका साहित्यकारहरू अभि सुवेदी, पुरुषोत्तम सुवेदी, अविनाश श्रेष्ठ लगायत साहित्यकारहरूको स्मृति दंशको अनुभूतिलाई टिप्ने काम गरिएको छ भने न्हुछे गुल्लीको चिया पसललाई कवि कुनो बनाउँदै ४० को दशकदेखि नयाँ सडक धाउन थालेका केही साहित्यकार आज पनि निरन्तर जमघटमा सामेल हुने गरेको प्रसङ्ग यसमा रहेको छ तर सङ्ख्या भने पहिला जस्तो उल्लेख्य छैन । कुनै समय नयाँ सडक र पिपलबोट साहित्यकारहरूको भेटघाटको थलो थियो, रचना आदानप्रदान गर्ने केन्द्र थियो, नयाँ पुस्ता र पुराना पुस्ता बिच चिनजान गर्ने थलो थियो र आफ्नो रचना सुनाउने, कृतिको प्रचारप्रसार गर्ने ठाउँ थियो । नयाँ सडकको भट्टी धाउनेहरू पिपलबोटमा उभिएर पहिचान बनाउनेहरू आज धाउन छोडेका छन् । कोही अक्षर छोडेर संसारबाट बिदा लिएका छन् । कोही बुढ्यौलीले छोएर नयाँ सडकको स्मृति दंश लिएर घरमा नै खुम्चिएका छन् भने कोही प्रवासी बनेका छन् । अनि कोही कार्यव्यस्तताले बन्दी बनेका छन् । नयाँ सडक अब हिजोको नयाँ सडक नरहेर न्यूरोडको रूपमा व्यापारिक केन्द्र बनेका कारण हिजोका साहित्यिक माहौल छैन त्यहाँ । तसर्थ नयाँ सडकको लत छाड्न बाध्य छन् कोही । यही प्रसङ्गलाई ‘निरन्तर नयाँ सडक’ मा सविस्तार प्रस्तुत गरिएको छ ।
घुमी फिरी रुम्जाटार:
‘जङ्कसन पिपलबोट’ मा विषयको विविधता छ । विषयहरूलाई इतिहास खण्ड, समाचार खण्ड, साहित्य खण्ड, जनजीवन र आधुनिकता खण्ड, व्यक्तिचित्र खण्ड भनेर पनि विभाजन गर्न सकिन्छ । इतिहास र साहित्यको सम्मिश्रण गरेर तयार पारिएका आलेखहरूमा इतिहासलाई कथ्यात्मक शैलीमा साहित्यको आवरणमा प्रस्तुत गरिएकाले कथा पढेजस्तो लाग्छ भने साहित्यिक विषयलाई ऐतिहासिक आवरणमा प्रस्तुत गरिएकाले साहित्यको इतिहास पढे जस्तो लाग्छ । वास्तविक पात्रहरूको जीवन भोगाइको कथ्यात्मक प्रस्तुतिले वास्तविक विषयलाई रोचक, जीवन्त र वास्तविक बनाएको छ । ‘कटुवाल किस्सा’ र ‘रक्सीले बदनाम एउटा कवि’ बाहेक सबै आलेखहरू नयाँ सडकको इतिहास, राजनैतिक र साहित्यिक गतिविधि, मानव शास्त्रीय सभ्यताको यात्रा आदिसँग सरोकार राख्दै अघि बढ्छन् । यी दुई आलेखले भने कृतिभित्रको चौध वटा आलेखले बोकेको नयाँ सडकको ऐतिहासिक, सामाजिक वा मानव शास्त्रीय विकासको मर्मलाई बोक्न सकेका छैनन् । यस्तो लाग्छ– नयाँ सडकसँग जोडिएका पात्र भएकाले पुस्तकको मूल मर्मभन्दा भिन्न भएर पनि कृतिमा स्थान ओगट्न सौभाग्य पाएका हुन् उनीहरूले । जे होस् घुमिफिरी रुम्जाटार भने झैँ जे जे शीर्षक दिए पनि हरेक रचनाले नयाँ सडकको फन्को मार्न छाडेका छैनन्, नयाँ सडकसँग जोडिएका विभिन्न कथालाई बोकेर अगाडि बढेका छन् ।
समेट्न बाँकी विषयहरू:
राज्यले अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाएको समयमा साङ्केतिक विद्रोहको रूपमा नयाँ सडकबाट विभिन्न साहित्यिक आन्दोलनहरू जन्मेका थिए । हुन सक्छ केही कोठे गफको लहडमा सुरु भए होलान् भने केही योजनाबद्ध रूपमा । तर सत्ताले इतर पक्षको विचारमा बन्देज लगाएको अवस्थामा साहित्यिक विद्रोहले साङ्केतिक भएर पनि दूरगामी प्रभाव परेको कुरालाई नकार्न सकिँदैन । बुट पालिस त्यस्तै साङ्केतिक विद्रोह थियो जसको आधार भूमिमा उभिएर सडक कविता क्रान्ति सचेततापूर्वक सुरु गरिएको थियो । बुट पालिसले विद्रोहको फरक शैलीलाई समातेको थियो । अमलेख त्यस्तै अभियान थियो । नयाँ सडकलाई केन्द्र बनाउँदै सञ्चालित यी साहित्यिक गतिविधिहरूको चर्चा र उत्खननको क्रममा त्यसको मर्म र दूरगामी प्रभावलाई भन्दा सम्बन्धित पात्रको भट्टी यात्रालाई बढी प्राथमिकता किन दिइयो होला ?
‘खबरको थलो’ र ‘राजनीतिको मार्ग: नयाँ सडक हुँदै सिंहदरबार’ निबन्धमा लेखकले २०४६ पछि नयाँ सडकले खेलेको खबर केन्द्रको भूमिकामा कमी आएको कुरा उल्लेख गरेका छन् । तर, प्रकाशन स्थल र वितरण केन्द्रमा विकेन्द्रीकरण भए पनि २०६० को वरिपरिसम्म अधिकांश पत्रपत्रिकाहरूको बिक्रि वितरण भूगोल पार्कबाट नै हुने गर्दथ्यो । पत्रिका पसले र हकरहरूले त्यहाँबाट पत्रिकाहरू लिने भएकाले बिहानको समय जुद्धशमसेर सालिक छेउको सडक भिडभाडयुक्त हुन्थ्यो । एस.एल.सी को रिजल्ट अनलाइनमा राख्नु अघि उक्त दिन जुद्ध सडक खबरकै लागि ठेलमठेल हुन्थ्यो जुन नियन्त्रण गर्नका लागि सुरक्षाकर्मी परिचालन गरिन्थ्यो । यो पक्षलाई लेखकले समेट्न छुटाएको अनुभूत हुन्छ ।
विश्रान्ति:
नेपालको राजनीतिक परिवर्तन र साहित्यिक तरङ्गको केन्द्रबिन्दु बनेको जुद्धसडकको विकासको इतिहास, राजनीतिक र साहित्यिक सूक्ष्म गतिविधिहरूको खोज गर्न सार्थक यत्न गर्न खोज्दा राजनीति र साहित्यको एक अर्कासँग अन्तर सम्बन्धित कुराको प्रसङ्ग केही ठाउँमा दोहोरिएका छन् । नयाँ सडकलाई केन्द्र बनाएर आएका सम्पर्क पात्रहरू राजनीतिक र साहित्यिक दुवै हुनु, साहित्य राजनीतिबाट प्रभावित हुनु वा साहित्यिक बहसले राजनीतिलाई प्रभाव पार्नु, सन्देश गृह साहित्य र राजनीति दुवैका लागि सञ्चारको माध्यम हुनु जस्ता कुराले एउटै विषय फरक पात्र र घटनाको माध्यमबाट दोहोरिएका हुन सक्छ । तर पढ्दै जाँदा कतै पढेको विषय लाग्दा लाग्दै पनि अन्त्यमा त्यसले अर्को मर्म बोकेको बोध हुन्छ र पुनरावृत्ति भएकोमा पनि पुनरावृत्ति भए जस्तै लाग्दैन, पट्यार लाग्दैन ।
कृतिमा बहस वा विवाद सिर्जना गर्न सकिने ठाउँहरू छन् । तर साहित्य, इतिहास र राजनीतिको मिश्रित विषयको प्रस्तुतिमा लेखकले तत्सम्बन्धी सन्दर्भ सामग्री वा नयाँ सडकसँग प्रत्यक्ष सम्बन्ध राख्ने र गतिविधिमा संलग्नता जनाएका वास्तविक पात्रहरूसँगको अन्तर संवादलाई विषयको स्रोत मानेर आफूप्रति ठडिन सक्ने औलाबाट आफूलाई बचाएका छन् । ‘मदिरा र मित्रता’ मा चित्रण गरिएका कतिपय प्रसङ्गले लेखकलाई विवादमा तान्ने वा साहित्यकारहरू बढी पियक्कड हुन्छन् भन्ने भाष्यलाई स्थापित गर्ने खतरा त्यतिकै छ । साहित्यकार बन्नेले पिउनै पर्छ भन्ने मानक निर्माण त गर्न खोजेको हैन ? यो प्रश्न मनमा उब्जन्छ केही आलेखहरू अध्ययन गर्दा ।
यस कृतिमा नयाँ सडकसँग जोडिएका तर गुमनाम थुप्रै ऐतिहासिक पात्रहरू कृतिमा जोडिन आइपुगेका छन् । यो सर्वसाधारणको दृष्टिबाट हेरिएको जुद्ध सडकको जनइतिहास हो । अझ यसो भनौँ– ‘जङ्कसन पिपलबोट’ न्युरोडको विकासको विशद नालीबेली मात्र होइन आधुनिकताको साक्षी बनेका जनसाधारणको दृष्टिबाट लेखिएको जनइतिहास पनि हो ।
आधुनिक सभ्यताको विकास, राजनीतिक परिवर्तनको साक्षी र साहित्यिक गतिविधिमा संलग्न व्यक्तिहरूको अनुभूतिमा आधारित विषयले यस कृतिलाई मौलिक बनाएको छ । यहाँ चित्रण गरिएका विषयहरूमा शासकीय दृष्टिकोणभन्दा सामान्य जनताको जनपक्षीय दृष्टिबाट जुद्ध सडकबाट न्यूरोड बन्दासम्मको यात्रा र यससँग जोडिएका विविध पक्ष, गतिविधि र जीवन शैलीलाई समेटिएको छ, चित्रण गरिएको छ ।
सम्भवतः नेपाली साहित्यमा एउटै ठाउँ विशेषलाई केन्द्र बनाएर विविध कोणबाट यति विशद् रुपमा खोज बिन गरी लेखिएको यो नै पहिलो कृति हुन सक्छ । यो कृति पढ्दै गर्दा कतै इतिहास पढे जस्तो लाग्छ भने कतै कथा पढे जस्तो । कतै जनजीवन पढे जस्तो लाग्छ कतै रिपोर्ताज । तर, पठन क्रममा जुन जुन स्वाद आए पनि पाठकलाई पकडमा राख्ने भाषिक सामर्थ्यलाई लेखकले गुमाएका छैनन् । वास्तविक पात्रको जीवन भोगाइको कथ्यात्मक प्रस्तुतिले विषयलाई रोचक, जीवन्त र वास्तविक बनाएको छ ।
जङ्क्सन पिपलबोट नयाँ सडकबाट नेपालमा आधुनिकताले प्रवेश गरेको कथा मात्र छैन, निरङ्कुशता विरुद्ध चेतनाको सङ्खघोष गर्ने राजनीतिक चेतनाको कथा छ, सामाजिक विभेद विरुद्ध मङ्गलमानले गरेको विद्रोहको कथा छ, पुरानाहरूले नपत्याएका नवसर्जकहरूको आक्रोशको कथा छ, निरङ्कुशताको विरुद्धमा साङ्केतिक विद्रोह बोल्ने सर्जकहरूको हुटहुटीको कथा छ, सामाजिक सञ्जाल र सञ्चारको अभाव भएको समयमा सञ्चार केन्द्र बनेको ऐतिहासिक स्थलको कथा छ ।
हरेक मान्छेका आ–आफ्ना सीमा हुन्छन् । आफ्नै सीमाभित्रका जङ्गे स्तम्भहरू नाघेर अगाडि बढ्नेहरू विशेष बन्छन् । सीमाभित्रै बन्दी बन्नेहरू गुमनाम हुन्छन् वा सिमाना साँघुरो हुन्छ । जङ्क्सन पीपलबोटभित्रका पात्रहरूका पनि आ–आफ्नै सीमा छन् । विशेष गरी नयाँसडक वरिपरि भौँतारिने साहित्यिक पात्रहरू केही आफ्नै सीमाभित्र खुम्चिएर मुर्झाएका छन्, बदनाम बनेका छन् भने केही सीमाका बाबजुद पनि आफू निकै अगाडि बढेका छन् । नयाँ सडकभित्रका निर्माण र विनिर्माणका यी किस्सा नयाँ पुस्ताका लागि माननीय पाठ पनि हुन् ।
सन्दर्भ सामाग्रीहरूः
गुरागाईं, प्रकाश: जङ्क्सन पीपलबोट(नयाँ सडकको कथा), फिनिक्कस बुक्स, बानेश्वरः २०७९
प्रकाश गुरागाईँ: खुट्टामा श्रीपेच, साङ्ग्रिला पुस्तक प्रा.लि: २०७५
पन्थी, मधुसूधन: आन्दोलनमा स्रष्टा, साझा प्रकाशनः २०६८
शर्मा, सुकुम: नेपाली भाषा–साहित्यमा आन्दोलन, एकेडेमी बुक सेन्टर, किर्तिपुरः २०६४
समर्पण श्री: जब प्रकाश आम मान्छेको इतिहास लेख्न तम्सिए https://nepallive.com/story/299935:
प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९, १८:०४