२०४७ सालतिर हुनुपर्छ । मैले पहिलोपटक रेडियो सेट देखेँ । रेडियो सेटले ज्याकेट लगाएको थियो ।
ज्याकेट कुन प्रजातिको थियो सम्झना छैन । तर ज्याकेटको अघिल्लो भागमा स–साना प्वाल र भित्ताको किलामा झुण्ड्याउन मिल्ने ज्याकेटको लोती भने सम्झन्छु ।
अगाडिपट्टी रेडियोले ओढेको ज्याकेटलाई काटेर व्याण्ड स्केल, व्याण्ड बटन र आवाज घटाउन बढाउन मिल्ने बटनको भाग छुट्याइएको थियो ।
पछाडितिर भने रेडियो सेटमा चिसो नछिर्ने गरी छोपिएको थियो ।
एउटा छेउबाट लामै तान्न मिल्ने सुइरो निस्केको थियो । बुबाले त्यो सुइरो कहिले छोटो पार्नुहुन्थ्यो, कहिले तिनिक्क तन्काउनुहुन्थ्यो ।
कहिले दायाँ कहिले बायाँ पल्टाउनुहुन्थ्यो । यसलाई ‘एन्टेना’ भन्छन् भन्ने कुरा धेरै पछि थाहा पाएको थिएँ ।
विभिन्न अङ्कसहितका लाइन र रातो छडीजस्तो देखिने व्याण्ड स्केलको माथिल्लो भागमा लेखिएको थियो ‘पानासोनिक’ ।
रेडियोबाट कहिले हिन्दीमा आवाज निस्कन्थ्यो, कहिले नेपाली भाषामा आवाज बुलन्द हुन्थ्यो ।
एउटै सेटमा थरीथरीका भाषा आउँदा म पुलकित हुन्थेँ र रेडियो सेटलाई ओल्टाइपल्टाइ गर्थेँ ।
मेरो बाल मस्तिष्कले सोच्थ्यो, ‘यति सानो रेडियोभित्र मान्छे कसरी अटाउँछन् ? बाँसुरी बजाउने मान्छे, समाचार वाचन गर्ने मान्छे कसरी अटाएका होलान् ?’
लाग्थ्यो, ‘साना लिलिपुट मान्छेहउरूले रेडियो चलाउँछन् ।’
मलाई रेडियो सेटभित्रका मान्छेहरू हेर्ने उत्कट चाहनाले डोर्याएको थियो ।
२०४९ सालतिर एकदिन घरमा कोही नभएको मौका छोपेर मैले रेडियो सेट फुटाएँ । भित्र हरियो मैदानजस्तो देखिने प्लेटमा मान्छेका टाउका जस्ता देखिने छिर्केमिर्के थुम्काहरू हुने रहेछन् ।
‘रेडियोमा बजेको समाचार सुनेर भानु सर किन रुनुभयो ?’ मैले कसैलाई सोधिन । तर उत्तर भने म कक्षा ७ मा पुगेपछि मात्रै थाहा भयो ।
ती थुम्काबाट तारहरू यताउता जोडिएका थिए । छेउमा अलिकति तार गुजुल्टो परेको बाँसुरीजस्तै देखिने पाइप थियो ।
मैले थाहा पाएँ, बेलाबखत बजिरहने बाँसुरी त त्यहि पो रहेछ ।
२०५० सालतिर पत्तो पाएँ रेडियोमा बोल्ने मान्छे सेटभित्र होइन, काठमाडौँमा पो बस्दा रहेछन् ।
त्यसपछि मलाई काठमाडौँ जान मन भयो ।
आँसुले भरिएका भानु सरका आँखा
२०५० को जेठ ३ गते रेडियोमा एकतमासको आवाज आइरहेको थियो ।
घरको पिँढीमा बुबा, भानु बस्याल सर र अर्को एकजना अङ्कल गम्भीर मुद्रामा रेडियो सुनिरहनुभएको थियो।
एकछिनपछि मैले देखेँ, भानु सरको आँखामा आँसु टिलपिल गर्दै झर्लाजस्तो भयो र उत्तिखेरै आँखाबाट गाला हुँदै भुईँम्म झर्यो ।
‘रेडियोमा बजेको समाचार सुनेर भानु सर किन रुनुभयो ?’
मैले कसैलाई सोधिन । तर उत्तर भने म कक्षा ७ मा पुगेपछि मात्रै थाहा भयो ।
एकदिनको साँझ, गायिका तथा समाचार वाचिका कोमल ओलीका बारेमा घरमा चर्चा चलिरहेको थियो ।
उहाँ हाम्रै वडा अर्थात तुलसीपुर नगरपालिका वडा नम्बर ८ कै दिदी हुनुहुन्थ्यो तर वल्लो गाउँ र पल्लो गाउँ।
उहाँले काठमाडौँमा बसेर रेडियोबाट समाचार पढ्नुहुन्छ भन्ने मैले त्यतिखेरै थाहा पाएको थिएँ ।
अनि भानु सर रोएको दिन त तत्कालीन एमालेका नेता मदन भण्डारीको निधन हुने गरी भएको दासढुङ्गा दुर्घटनाको दिन पो रहेछ ।
भानु सरलाई रुवाउने घटनाको बेलिविस्तार लगाउने रेडियोमा बोल्न झन् हुटहुटी जाग्यो ।
अझ विशेषगरी घरमा हरेक दिन साँझ प्रसारण हुने रेडियो नेपालको ‘घटना र विचार’ कार्यक्रमले मलाई तानेर बेलाबखत काठमाडौँ पुर्याउँथ्यो
२०६० सालको एसएलसीपछि म दाङबाट चितवन पुगेँ र पत्रकारिता पढाइ हुने सप्तगण्डकी क्याम्पसमा भर्ना भएँ ।
क्याम्पसको भित्ते बुलेटिनका लागि लिइएको सो अन्तर्वार्ता सकेर कोठामा फर्केको दिनदेखि नै म स्टुडियोमा बसेर समाचार पढेको, कार्यक्रम चलाएको, अतिथिहरूसँग स्टुडियोमै बसेर अन्तर्वार्ता लिएको कल्पना गर्न थालेँ ।
साहित्य अनुरागी म सानैदेखि सबैसँग बोल्न रुचाउँथे । कार्यक्रमहरूमा लोक गीत पनि गाउने र बोली पनि सुरिलो भएकोले मलाई धेरैले गायनकर्म र सञ्चारकर्मतर्फ जोडिन प्रेरित गर्थे ।
त्यसैले पत्रकारिता विषयमा मेरो रुचि जागेको थियो ।
पत्रकारिताको विद्यार्थी तर एउटा पनि पत्रिका र रेडियोको कार्यालयभित्र प्रवेश पाएको थिइन ।
कक्षा ११ पढ्दै गर्दा मलाई कसैको अन्तर्वार्ता लिने आइडिया फुर्यो ।
कालिका एफएमले जगाएको भोक
चितवनमा हुने मेलामहोत्सवमा कालिका एफएमका तत्कालीन स्टेशन म्यानेजर रमेश जोशीलाई अतिथिको रूपमा बोलाउँदा उहाँ एकदमै ठूलो मान्छे हो भन्ने लाग्थ्यो ।
त्यसैले उहाँकै अन्तर्वार्ता लिन मन थियो मलाई ।
एकदिन एकजना साथीसँग म कालिका एफएम पुगेँ । साथीले रमेश जोशीसँगको अन्तर्वार्ताको लागि समय लिइसकेको थियो ।
त्यो दिन मेरो उद्देश्य अन्तर्वार्ता लिने भन्दा बढी रेडियो स्टेशनका कोठाकोठा पुग्ने र कसरी समाचार पढ्छन्, कार्यक्रम चलाउँछन् भनेर नियाल्नु थियो ।
त्यो भित्री चाहना कालिका एफएमले पूरा गरिदियो ।
क्याम्पसको भित्ते बुलेटिनका लागि लिइएको सो अन्तर्वार्ता सकेर कोठामा फर्केको दिनदेखि नै म स्टुडियोमा बसेर समाचार पढेको, कार्यक्रम चलाएको, अतिथिहरूसँग स्टुडियोमै बसेर अन्तर्वार्ता लिएको कल्पना गर्न थालेँ ।
मेरा यी सबै कल्पनारुपी चाहना स्नातक पढ्नका लागि काठमाडौँ आएपछि पूरा हुन थाले ।
अझ विशेषगरी २०६५ साल वैशाखबाट पूरा भए । काठमाडौँ महानगरले सञ्चालन गर्ने मेट्रो एफएमबाट समाचार लेखनको कार्य आरम्भ गर्दै २०६४ को अन्त्यमा रेडियो मिर्मिरेसँग जोडिएँ ।
रेडियो यात्रा थालेको ४–५ महिनामै म समाचार पढ्ने भएको थिएँ । अन्तर्वार्ता भने थप केही महिनापछि सुरु गरेँ हुँला ।
राजनीतिमा तीव्र चासो भएको मलाई राजनैतिक व्यक्तिहरूसँग कुराकानी गर्न रमाइलो लाग्थ्यो ।
तर सामाजिक क्षेत्र र गीत सङ्गीत क्षेत्रका मानिसहरूसँग कुराकानी गर्दा बेग्लै सन्तुष्टि मिल्थ्यो ।
समाचार सङ्कलन होस् या वाचन, टिप्पणी लेखन होस् या अन्तर्वार्ता, म सतही ढङ्गले अघि बढिरहेको छु भन्ने कुराको बोध भने एउटा अन्तर्वार्ताले गरायो ।
चित्रबहादुर केसीको त्यो प्रश्न
२०६५ साल मङ्सिर महिनाको एकदिन ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग अन्तर्वार्ताको समय निर्धारण भएको थियो । विहान ६ बजेको समाचार पढिसकेर फेरि अन्तर्वार्ता लिनु थियो ।
त्यसले अलिकति धपेडी पनि थियो ।
केसीसँग कुराकानी प्रारम्भ भयो । अन्तर्वार्ता सुरु भएको त्यस्तै ७ मिनेट बितेको हुँदो हो ।
भर्खरै सङ्घीयतामा प्रवेश गरेको मुलुकको संसदमा राष्ट्रिय जनमोर्चाले सङ्घीयताविरुद्धमा आवाज मुखरित गरिरहेको थियो ।
यही सन्दर्भलाई कोट्याउँदै ‘६०१ जना रहेको संसदमा तपाईंहरूका २ जना सांसदले व्यवस्थाविरुद्ध बोलेको कसले सुन्ने ? किन सुन्ने ?’
मेरो आफ्नै शैलीमा प्रश्न गरेँ । प्रश्न नसकिँदै केसीले मलाई नै प्रतिप्रश्न गर्नुभयो ।
उहाँको सोधाइ थियो, ‘हाम्रो कति जना सांसद रे ?’
मैले भने, ‘जम्मा २ जना त हो नि !’
उहाँ फेरि कड्किनुभयो, ‘हाम्रो पार्टीका कति जना सांसद छन् भनेर थाहा नहुनेले मसँग के अन्तर्वार्ता लिनुहुन्छ ?’
मलाई यो प्रतिप्रश्नले चसक्क घोच्यो । म चुपचाप बसेँ । उहाँ बोल्दै जानुभयो ।
‘तपाईंसँग अन्तर्वार्ता दिनु आवश्यक नै छैन । स्टुडियोमा बसेर हाम्रो पार्टीलाई हेप्ने ?’
यतिञ्जेल चित्रबहादुर केसीको आवेगको पारो घटिसकेको रहेछ क्यार । उहाँले थप्नुभयो, ‘हामी ४ जना छौँ तर पनि बोल्न छोड्दैनौँ । हेर्नुहोला यो देशले सङ्घीयता धान्न सक्दैन ।’
म अझै केही बोलिन, रातोपीरो भइरहेँ ।
एकछिन अध्यक्ष केसी चुप हुनुभयो । मलाई के गरौँ र कसो गरौँ भयो । उहाँ आफ्नै तालमा बोलिदिए म आफूलाई तयार पारेर अर्को प्रश्नमा जान सक्थेँ भन्ने लागिरह्यो तर बोल्नु भएन ।
एकैछिनको मौनतापछि मैले भने, ‘ल ठीकै छ अध्यक्षज्यू, तपाईंहरूका जति जना सांसद भए पनि आवाज त मसिनै सुनिने हो, त्यति ठूलो संसदमा ।’
यो प्रश्नले विषयान्तर होला भन्ठानेको मलाई उहाँले फेरि अप्ठेरोमा पार्नुभयो । ‘हाम्रो सांसद सङ्ख्या थाहा छ तपाईंलाई ?’
मैले अलिक कुटनैतिक जवाफ दिएँ, ‘जति भए पनि सङ्ख्या सानो छ ।’
टेलिफोनमा कुराकानी भइरहेको हुनाले म उहाँको क्रोध महसुस मात्रै गर्न सक्थेँ ।
केसीको आँखा र गालामा छल्किएको आवेग अनुभूत मात्रै गर्न सक्थेँ । उहाँले फेरि थप्नुभयो, ‘भयो यो अन्तर्वार्ता बन्द गर्नुस् । मलाई तपाईंसँग कुरा गर्नु छैन ।’
म नाजवाफ भएँ । म स्टुडियोमा रातोपिरो भएँ । धन्न उहाँले मेरो हालत देख्नुभएन ।
प्राविधिक साथी मदन कार्कीले सायद मेरो हालत बुझे होलान् । उनी मलाई हेरेर हाँसिरहेका थिए, मलाई जिस्क्याएझैँ लाग्यो ।
मैले विषयलाई सामान्य गराउन प्रयत्न गरेँ । भने, ‘ठीकै छ ! मेरो आशय तपाईंहरू थोरै हुनुहुन्छ र पनि सङ्घीयताको विरोध गरिरहनुभएको छ, तर तपाईंहरूको माग सुनुवाइ हुने सम्भावना त छैन ।’
यतिञ्जेल चित्रबहादुर केसीको आवेगको पारो घटिसकेको रहेछ क्यार । उहाँले थप्नुभयो, ‘हामी ४ जना छौँ तर पनि बोल्न छोड्दैनौँ । हेर्नुहोला यो देशले सङ्घीयता धान्न सक्दैन ।’
मैले सन्तोषको सास फेरेँ । सन्तोषको सास फेर्नुमा दुई कारण थिए । एक त राष्ट्रिय जनमोर्चाका चारजना सांसद रहेछन् भन्ने थाहा भयो, अर्को रिसाएर अन्तर्वार्ता बन्द गरौँ भनेका केसी फेरि मसँग बोल्न तयार हुनुभयो ।
‘सङ्घीयतामा त मुलुक गइसक्यो, अब के गर्नुहुन्छ त ?’ सतही प्रश्न गरेर म अघि बढेँ ।
उहाँले उत्तर दिँदै जानुभयो तर मलाई त्यो प्रश्नोत्तरको शिलशिला छिटो टुङ्ग्याउन मन लागिरहेको थियो ।
आधा घण्टाको अन्तर्वार्ता २० मिनेटमा सकाएर म स्टुडियोबाट बाहिर निस्किएँ ।
प्राविधिक साथीको मुखमै नहेरी म बाहिर हुत्तिएँ । खासमा उनीसँग रिसाएको होइन, म आफैँ लजाएको थिएँ । न्युजरुममा पुगेपछि मैले पानी पिएँ र आफूलाई सामान्य अवस्थामा ल्याउन प्रयत्न गरेँ ।
सोँचे, ‘आजको अन्तर्वार्ता कसैले नसुनेको होस् । आफ्नै रेडियोका सम्पादक, स्टेशन म्यानेजरले त झन् सुन्दै नसुनेका होउन् ।’
यही कामना गरेँ, ‘आज बिहान सबैको घरमा रेडियो बन्द भाको होस् । मैले सङ्कल्प गरेँ, ‘अबदेखि अन्तर्वार्ता दिने व्यक्ति र विषयबारे पूरापुर अध्ययन गर्छु, अनि मात्रै स्टुडियोमा पस्छु ।
बिहानको ड्युटी सकेर म आरआर क्याम्पस पुगेँ । क्याम्पस हाताभित्र छिर्ने वित्तिकै एमाले निकट अखिलका नेता तथा मेरो प्रिय अग्रज आरसी लामिछानेले बोलाइहाले ।
बाल कार्यक्रम मात्रै होइन, रेडियो नेपालको ‘घटना र विचार’ कार्यक्रम सुन्दै हुर्किएको म पछि त्यहि रेडियो नेपालको ‘घटना र विचार’ कार्यक्रमसँग जोडिए र कैयौँ रिपोर्टहरू आफ्नै आवाजमा बुलन्द पारेँ ।
अनि भने, ‘के हो रामकृष्ण, आज चित्रबहादुरले पसिनै निकालिदिए कि क्या हो ?’
मेरो आजको अन्तर्वार्ता कसैले नसुनेको होस् भनेर कल्पेको ममाथि हिनताबोध र लघुताबोधले थिच्यो । तर पनि मुस्कुराउँदै भने, ‘बुढाले बेइज्जत नै गरिदिए यार ।’
खासमा विषय सामान्य थियो, सांसदको सङ्ख्या त्यति ठूलो इस्यु हुनुपर्ने पनि थिएन ।
तर मेरो सतही ज्ञानले नै मलाई अलमलमा पारेको थियो ।
त्यो अन्तर्वार्ता मेरो लागि सिकाइको अर्को एउटा कक्षा थियो । त्यो घटनापछि मैले नेपाली राजनीति, समाज र सेरोफेरोबारे विस्तृतमा अध्ययन गर्न थालेको हुँ ।
रेडियोमा बोल्ने क्रम जारी नै रह्यो । बाल कार्यक्रम मात्रै होइन, रेडियो नेपालको ‘घटना र विचार’ कार्यक्रम सुन्दै हुर्किएको म पछि त्यहि रेडियो नेपालको ‘घटना र विचार’ कार्यक्रमसँग जोडिए र कैयौँ रिपोर्टहरू आफ्नै आवाजमा बुलन्द पारेँ ।
सानोमा रेडियो सेटभित्र पसेर कार्यक्रम चलाउन र समाचार वाचन गर्न चाहेको म रेडियो नेपालका विभिन्न स्टुडियो चाहार्दै ‘घटना र विचार’, ‘अबका युवा पुस्ता’लगायतका कार्यक्रममार्फत आफ्नो आवाज देशैभर पठाएँ ।
त्यो अवसर मेरो लागि गर्वको विषय थियो नै । म चाहन्थेँ, उत्कृष्ट रेडियो जक्की बनूँ, आवाज बेचेर जीवन चलाउन सकूँ, तर मेरो रेडियो यात्रामा ब्रेक लाग्यो ।
२०७० सालदेखि रेडियोमा बोल्न छोडेँ । मूलधारको पत्रकारितामा नभए पनि सञ्चारकर्मसँग कुनै न कुनै रूपमा जोडिएको छु ।
रेडियोसँगको मेरो नातासम्बन्ध अझै उस्तै प्रगाढ छ । रेडियोसँगको प्रेम अटुट छ, अजम्बरी हुनेछ ।
प्रकाशित मिति: शनिबार, माघ २८, २०७९