काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनियताको शपथ लिने भएका छन् ।
प्रदेश राजधानी देउखुरी दाङमा दिउँसो १ बजेका शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर हिजो सरकारलाई पूर्णता दिनुभएको हो ।
यसअघि उहाँले गत पुस २८ गते दुई जना बिनाविभागीय मन्त्री नियुक्तिसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।
मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १ सय ६८ अनुसार मन्त्रीहरूको नियुक्ति र कार्यविभाजन गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता ऋषिराम पन्थीले गएराति जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
मुख्यमन्त्री गिरीले गत पुस २८ गते बिना विभागीयमन्त्री बनेका दुईसहित नौ सदस्यीय मन्त्रिपरिषद विस्तार गर्नुभएको थियो ।
विस्तारित मन्त्रिपरिषद्मा सरकारको नेतृत्व गरेको नेकपा एमालेबाट चार, नेकपा (माओवादी केन्द्र) बाट तीन तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना मन्त्री नियुक्त भएका छन् ।
प्रकाशित मिति: आइतबार, माघ २९, २०७९, ०९:४१