म त भैँसी चराइरहेको थिएँ । बेलुका हुन लाग्दै थियो । अब एक घण्टा पछि साँझ पर्थ्यो, भैँसी घर फर्काउन मिल्थ्यो । भैँसी चराउने र कुलोमा पानी हेर्ने काम संसारकै सबैभन्दा अल्छीलाग्दा काम हुन् भन्ने लाग्ने मै थिएँ । दिनभर भैँसी चराएर, कुलोमा पानी हेरेर आए पनि म काम गरेर गलेको छु भन्न नपाइने । गल्न नपाइने काम पनि के काम ! त्यहि भएर मलाई यी दुइटै काम मन पर्दैन थियो । तर यिनै काम मेरो भागमा पर्थे । म घण्टौँ काम गरेर पनि गल्न पाइन्न भन्ने सोचेरै सुरुमै फतक्क गलेको हुन्थेँ । त्यही बेला घरतिरबाट मेरो नामको बोलावट आयो । जाँगर थिएन । मैले खासै ध्यान दिइनँ । कारण - भैँसी चराउँदा भैँसीलाई किलोमा बाँधिदिएर गुच्चा, काँध कि गोबर, डन्डी बियो, पिटु जस्ता खेलमा अलमलिने मेरो स्वभावका बारेमा घरकालाई थाहा थियो । अनि, घरकाले मैले भैँसीलाई किलोमा बाँधे कि चराइरा'छु भन्ने छट्के जाँच गर्न बेला बेला बोलाउँछन् भन्ने मलाई थाहा थियो । तर अलि बढी खुसी हुँदै चाँडो घर आइज भनेर बोलाएको बोलाई गरे । म तुफान दौडिएर घरको आँगनमा पुगेँ । घरमा भएका सबै जना खाँबोमा झुन्डिएको रेडियोको छेउमा थिए । रेडियो ठुलो स्वरमा केही भनिरहेको थियो । मैले सुनेँ, "कार्की, शनिश्चरे ८, मोरङ । अब अर्को कविता छ हामीसँग.....।"
"तेरो कविता पढ्यो रेडियोमा" दिदीहरूले भने । घरका सबैको अनुहार उज्यालो थियो । मैले अन्तिममा सुनेको 'कार्की, शनिश्चरे ८, मोरङ' को अगाडि गणेश पनि भनेको रहेछ । र, त्यो भन्दा अगाडि मेरो पुरा कविता । मैले आफ्नो नाम सुन्न पाइन । थर र ठेगाना मात्रै सुन्न पाएँ । तर मेरो नाम भनेको थियो भन्नेमा कुनै शङ्का थिएन । खुसीले गमक्क परेँ । घरमै 'सेलिब्रेटी' बनेँ । त्यो दिन खेत पुगेर कसले भैँसी ल्यायो सम्म मलाई थाहा भएन । भोलिपल्ट दूध पुर्याउन बिहानै चौकमा पुग्दा मेरो नाम रेडियोमा सुनेको भनेर चिया पसलमा कुरा भए । स्कुलमा केही साथीहरूले कुरा गरे । सरले तेरो कविता रेडियोमा सुनेको थिएँ भनिदिँदा गजक्क परेको थिएँ । महिनाको अन्तिममा सो महिनाका उत्कृष्ट कविताहरू पनि वाचन हुन्थे । मैले मेरो परिहाल्ला कि भनेर आस गरिराखेँ । महिनाको अन्तिममा सोही कार्यक्रममा मेरो कविता फेरि पढियो । मैले आफ्नै कविता र आफ्नै नाम ठेगानामा रेडियोमा सुन्न पाएँ । त्यो रेडियो नेपालमा बज्ने बाल कार्यक्रम थियो । नाम थियो 'कोभन्दा को कम' । प्रस्तोता हुनुहुन्थ्यो वासुदेव मुनाल ।
आमसञ्चारका धेरै विकल्प नभएका बेला र रेडियोमा बज्ने स्टेसनहरू एउटै मात्र भएकाले रेडियो नेपालमा बजेका कुराहरू कमैले मात्र छुटाउँथे । रेडियो नेपालमा नाम बज्ने सौभाग्य कमैले मात्र पाउँथे । मेरो कविता दुईपल्ट पढिनुको अर्थ ठुलो हुन्थ्यो । आफ्नो नाम आओस् र आफूले चाहेको गीत बजोस् भनेर हुलाकबाट कार्ड किन्दै चिठ्ठी पठाउनु अनि कार्यक्रम पर्खिएर सुन्नुको व्यग्रता आजभोलि अर्को माध्यममा पाइँदैन । हाम्रो पुस्ताले अनुभव गरेको एउटा समय अहिलेको पुस्ताले छुटाएको छ । शनिवारको दिन डेढ बजे सबै जना रेडियोको नजिक बसेर कान थापेर रेडियो नाटक सुन्नुको मज्जा अब सम्झनामा मात्रै छ ।
रेडियोले आजभोलि कस्ता कार्यक्रम बनाउँछ भन्ने पनि चासो कम हुँदै गएको छ । सञ्चारको माध्यम फेरिएको छ । तर कुनै समयमा रेडियो विकल्परहित सञ्चार र त्यो विधामा मनोरञ्जनको साधन थियो । रेडियोबिनाको हाम्रो बालापन र युवावस्थाको लामो समय रित्तो हुन्छ । आफ्नै जीवनको त्यो कालखण्डको अंश र सम्झना बनिदिएकोमा रेडियोप्रति छुट्टै आत्मीयता छ । यो कहिल्यै हराउँदैन पनि ।
प्रकाशित मिति: सोमबार, फागुन १, २०७९