समयसँगै मानिसका रहर पनि फेरिँदा रहेछन् । रहरलाई पनि सायद घुम्ने लत बस्दो रहेछ । तर जस्तो भए पनि रहरको लत लागे पछि लाग्यो लाग्यो । मेरो रेडियोसँग यस्तै लत छ, सँगै उठ्ने र सँगै निदाउने । मेरा लागि रेडियो बाल्यकालदेखिकै पुरानो साथीका रूपमा रहेको छ । बिर्सिनसक्नुका याद जोडिएका छन् रेडियोसँग ।
मैले थाहा पाउँदा हाम्रो घरमा रेडियो सेट थियो । हामीले त्यसको नाम राखेका थियौँ, ‘ठुलो रेडियो’ । बाबाले भारतबाट ल्याएको ‘ठुलो रेडियो’ ले नयाँ कुरा जानकारी दिन्थ्यो । गीत सुनाउँथ्यो । हामी चुलोको वरिपरि बसेर रेडियो सुन्ने गर्थ्यौँ । बाल्यकाल, रेडियोसँगै नै बित्यो । त्यो बेलादेखि बसेको ‘रेडियोको लत’ अहिले पनि उस्तै छ । यो लतबाट कसैगरी मुक्त हुन सकिएन । उस बेला सुन्ने रहर, अहिले बोल्ने रहर ।
छिमेकीले ‘के छ नानी ?’ भनेर सोध्दा बोल्न धकाएर टाउको मात्र हल्लाउन मन पराउने म, आजभोलि सोध्छु– के छ खबर ? जीवन कसरी चलाइरहनुभएको छ ? के इलम गर्नुभएको छ ? घर पुगेर ऐनामा आफ्नो अनुहार हेर्दा, अचम्म लाग्छ । त्यस्तो बोल्न नचाहने म यस्तो बोलक्कड कसरी भएँ होला भनेर ।
रेडियोसँग मेरो लत यसरी बस्ने थिएन होला, घरमा टिभी नभएको भए । घरमा रेडियो र टिभी भएकाले रेडियो मेरो अनुकूलतामा चल्थ्यो भने टीभीमा घरका अरू सदस्यको । यसो त टिभी घरीघरी बन्द भइरहन्थ्यो । रेडियो साथी बन्नुका पछाडि टिभी पनि हो ।
आँखामा समस्या भएकाले बाल्यकालदेखि मैले चस्मा लगाउनुपर्ने अवस्था आयो । मलाई बाआमा भन्नुहुन्थ्यो, एउटा चस्मा छ । टिभी हेरेर नपढेपछि दुई लगाउनुपर्छ ।’ त्यसैले पनि टिभी हेर्न खास मन लागेन । रेडियो सुन्दा थप अर्को चस्मा लगाउनु नपर्ने ठानेर पनि म रेडियोमा अझ बढी आकर्षित भएँ कि ? बाबाले धेरै समाचार सुन्ने भएर होला मैले पनि धेरै समाचार नै सुनेँ । छरछिमेकबाट ‘ज्ञानी’को ट्याग पाइरहेकी म, घरको रेडियोलाई आफ्नो अनुकूलतामा चलाउँथे । मन लाग्यो कि रेडियोको तल्लो बटन घुमाइ दिन्थेँ । स्या..स्या....स्या गर्थ्यो । अनि बाबाले थाहा पाएपछि, माथिल्लो बटन घुमाएर स्या..स्या.. बन्द गरिदिनु हुन्थ्यो । र, सफा आवाज लगाइदिनु हुन्थ्यो ।
समाचार धेरै सुनेर पनि होला रेडियोमा समाचार भन्ने रहर मभित्र पनि जाग्थ्यो । घरमा आमाबाबा नभएका बेला मेरो चर्तिकला यसरी सुरु हुन्थ्यो । बिहान ६ बजेको समाचारमा माया कँडेलको नमस्कार । अव सुन्नुहोस् पुरा समाचार ! यसरी समाचार भन्दा रेडियोमा बोल्नेहरूले सबै समाचार घोकेरै बोल्छन् होला तर मैले त सक्दिन भन्ने पनि लाग्यो । त्यस बेला म विद्यालयका पाठ कण्ठस्थ पार्न नजानेर सर म्यामले कुखुरा बनाएको सम्झनाले थप पिरोल्थ्यो । त्यत्रो समाचार कसरी कण्ठ पार्ने होला ? सम्झेर म दिक्क मान्थेँ । किताबमा जे छ त्यही जस्ताको त्यस्तै घोक्न कहिले नआएकोले मैले समाचार पढ्न सक्छु जस्तो लागेन । अलि पछि बल्ल थाहा पाएँ कि दिनदिनै समाचार घोकेर पढ्ने नभएर हेरेरै पढ्ने रहेछ । अहिले ती दिन सम्झिँदा आफैँलाई सम्झेर हाँसो लाग्छ । फेरि सोच्छु हरेक मान्छेको उमेर अनुसारको सोचाइ र बुझाई त हो नि ।
यो लेख्दै गर्दा पनि छेवैमा सानो आवाजमा रेडियो बजिरहेको छ । बिहानको ६ बजेको साझाखबरमा मनमा आत्महत्याको सोच आउन सक्ने अवस्था र त्यस्तो बेलमा आवश्यक पर्ने मना परामर्शका लागि ११६६ नम्बरमा सम्पर्क गर्न सकिने रहेछ । सबैको पहुँचको यो रेडियोले सबैलाई कति सहज ज्ञान बाँडिरहेको छ भन्ने सम्झँदा पनि खुसी लाग्छ । यति सहजै सबैलाई सबै कुराको ज्ञान दिने यो रेडियोकर्मीका रूपमा आफैलाई पाउँदा थप खुसी हुन्छु म ।
रेडियो कर्ममा लाग्नुमा कुनै बाध्यताको कहानी छैन मसँग । रहरै रहरले रेडियोसँग जोडिएको थिएँ । अहिलेसम्म रेडियोमा रहरले नै समय बिताइरहेको छु । यसमा परिवारको प्रेरणाले पनि केही काम गरेको छ ।
रेडियोसँग हुर्किएको म, रेडियोमा काम गर्ने इच्छा भन्न नसकिने थिए । त्यहाँ गएपछि के के नै गरौँला जस्तो थियो । मलाई सबैले चिन्छन् । आवाज सबैतिर गुन्जिन्छ जस्तो खालको लोभ पनि मनको एक कुनामा थियो । त्योभन्दा बढी चाहिँ आफ्नै गाउँ ठाउँका, समुदायका अझ आवाजविहीनहरूका आवाज सबैसमक्ष पुर्याउन पाए केही राम्रै हुने थियो भन्ने खालेको चाहना थियो ।
मेरो यो सपना साकार हुने बाटोतर्फ त्यस बेला मोडियो जब घर नजिकै रेडियो खुल्यो । नजिकैको रेडियोमा काम गर्ने रहर मेरो पनि हुने नै भयो । मेरोभन्दा बढी रहेर बाबाको रहेछ, छोरी रेडियोमा बोल्ने होस्, मेरो छोरीको आवाज सबैले सुनुन् । भन्ने उहाँलाई पनि लागेकोले गर्दा म रेडियोमा काम गर्छु भन्न नपर्दै उहाँले तिमी पनि रेडियोमा बोल भनेर हौसला दिनुभयो । आफ्नो अनि केही परिवारको पनि रहरले रेडियो छिरेकी म अहिले सपना र भविष्य नै रेडियोमा देखिरहेको छु ।
रेडियोसम्म बाबासँगै गए । करिब ६ महिना त्यहाँ काम गरेपछि स्थानीय टीभीमा पनि बोल्ने अवसर मिल्यो । समाचार, अन्तरवार्ताका कार्यक्रम फिल्ड रिपोर्टिङ लगायतका काम हुन्थे । यस्तै काम गर्दे टीभीमा करिब दुई वर्ष काम बिताएँ । स्थानीय रूपमा हर्दा, सेवा सुविधा राम्रै थियो । तर, रेडियोको भोक शान्त भइसकेको थिएन । त्यसैले मैले टीभी छोड्ने निर्णय गरेँ । रहर र सपनाको अघि अरू सबै चिज गौण हुँदा रहेछन् भन्ने फेरि एकपटक पुष्टि भयो ।
२०७४ सालमा म विजय एफएममा आबद्ध भएँ । धेरै साथी र आफन्तले टिभी छोडेर रेडियोमा नफर्कन सुझाव दिनुभएको थियो । पहुँच र प्रभाव कम भएर पनि हाम्रोमा टीभीलाई रेडियोभन्दा उपल्लो स्तरको मान्ने चलन छ । तर, मलाई अझै गर्व लाग्छ सामुदायिक रेडियो विजय एफएममा जोडिने मेरो त्यो निर्णयप्रति । समुदायको आवाज बोल्ने, समस्या उजागर गर्ने, गाउँमै पुगेर रिपोर्ट बनाउने मसहित सहकर्मीको हुटहुटी अहिले पनि उस्तै छ, जस्तो रेडियो यात्रा सुरु गर्दाताका थियो ।
यसबिचमा म सामुदायिक सूचना नेटवर्क सीआईएनसँग पनि आबद्ध भए । देशभरका सामुदायिक रेडियोमार्फत रिपोर्ट बजेपछि रेडियोसँगको लत झ्न बढ्दै गइरहेको छ । सपना बिस्तारै बिस्तारै पूरा हुँदै छन् जस्तो लाग्छ । यो सम्झँदा त्यसै त्यसै मन खुसी हुन्छ ।
गाउँतिर रिपोर्ट बनाउन जाँदा झन् रमाइलो लाग्ने । ‘रेडियोमा म पनि बोल्न पाउने रहेछु हैँ नानी’ ७१ वर्षीय पूर्णकला भुजेलले ३ वर्ष अगाडि भनेको कुरा अहिले पनि याद आउँछ । भुजेल, जस्तै धेरै आमासँग साक्षात्कार गर्ने अवसर पाएको छु । कामना गर्छु, ‘पाइरहूँ । सालका पात टिपेर दिन कटाइरहेकी ७१ वर्षीय आमालाई कसैगरी भुल्न सक्दिनँ । ए विजय एफएम कि नानी होइन र ? रिपोर्टिङका क्रममा धेरै जनाले भनेको सम्झन्छु । त्यति बेला कमाउनुपर्ने यति नै होला जस्तो लाग्यो । एउटा बस्ती सधैँका लागि ताजा छ । सधैँ सम्झिरहन्छु ।
रिपोर्टिङ मन पराउने म, साथीहरू पनि उस्तै तरिकाले सहयोग गर्छन् । कहिले चितवन त कहिले नवलपुर गरेर दिन बित्छ । यसरी दुनियाँसँग घुलमिल गर्न कसैले पाउँछ भने रिपोर्टिङ गर्ने रेडियोकर्मीले पाउँछन् जस्तो लाग्छ ।
उत्तरी सीमा जोडिएको गैँडाकोट–३ को मार्केगाउँमा वडाकै जनप्रतिनिधि पुगेका थिएनन् । पहिलो पटक जनप्रतिनिधिलाई सँग हामी पनि जाने सल्लाह भयो । लामो बाटो पछ्याउँदै मार्केमा पुग्यौँ । त्यहाँको समस्या र वास्तविकता पहिल्याउने कोसिस ग¥यौँ । मार्केको स्वास्थ्य शिक्षा र रोजगारीको अवस्था कस्तो छ ? रिपोर्ट बनाइयो । पछि जनप्रतिनिधिले काम गर्न थालेपछि बस्तीमा परिवर्तन भएको छ । गोरेटोमा लड्दै पड्दै गएको त्यो गाउँमा अहिले पहिलेभन्दा सहज सडक बनेको छ । यस्ता धेरै पलहरू छन्, जो प्रत्यक्ष समुदायसँग जोडिरहन्छन् ।
कार्यक्रम दह्रो घर दिगो बस्ती चलाउँदै गर्दा बजेका रिपोर्ट र कार्यक्रमको प्रभावले मलाई रेडियोमै रहन थप हौस्याएको छ । कार्यक्रम सुनेपछि भरतपुरबाट भूकम्प प्रविधि राष्ट्रिय समाज जनसेटको अफिसमा विजय एफएमको कार्यक्रम सुनेपछि घरधनीले हामी कामदारलाई गर्ने व्यवहार परिवर्तन भयो । भनेर श्रोताले फोन गर्नुभएको रहेछ । एनसेटका सुमन प्रधान सरले तपाइको कार्यक्रमको प्रभाव राम्रो रहेछ किप इट अप भन्दाको खुसी धेरै छ । साहस कार्यक्रमबाट गुम्सिएका आवाज रेडियोमा सुनाउँदा दिदीबहिनीका भाव पोखिएका अनुहार हेर्दा सन्तोष लाग्छ । के गरेँ अथवा गरिन थाहा छैन । गर्न तर मलाई अझै यस्तै आवाजहरूलाई बाहिर ल्याउन मन छ । म सधैँ राम्रो गर्ने प्रयत्नमा हुन्छु ।
पहिलो पटक सिआईएनको ल्यान्डलाइनबाट फोन आउँदा पनि म औधी खुसी भएको थिएँ । ५ वर्ष अघि भर्खरै विजय एफएममा जोडिएको थिएँ । त्यही बेलादेखि सीआईएनका अग्रजहरूले रिपोर्ट बनाउने हौसला मात्र दिनुभएको छैन । रिपोर्ट बनाउन सिकाउने, नयाँ नयाँ विषय उठाउन सघाउने अनि सिक्दै गरेको समयमा मैले राम्रो बनाउन नसकेका रिपोर्टहरू हेरेर सल्लाह सुझावसहित पठाइदिनुहुन्छ त्यसले धेरै सहयोग मिलिरहेको छ ।
गैँडाकोट १८ मा विद्यालय टाढा भएर नजिकै होस्टेल बनाएर बस्छन् विद्यार्थी, विषय शिक्षकको अभावले १ महिनादेखि कक्षा १० का विद्यार्थीले विज्ञान पढ्न पाएनन्, बाटोको असुविधाले ज्यान गुमाउन बाध्य स्थानीय, डोडेमा पोखरी खन्न श्रमदान, केरा खेतीले बजार पाएन, उत्पादन राम्रो जस्ता रिपोर्ट सीआईएनमा बजेपछि विद्यालयका शिक्षक र केही स्थानीय बासिन्दाले तपाइले त हाम्रा कुरा देशभरका सयौँ रेडियोमा बजाइदिनुभएछ हामी, विजय एफएम र सिआईएन नियमित सुन्छौ भन्नुभयो खुसी लाग्यो । सिआईएनले म जस्तो पत्रकारितामा रमाउँदै गरेको मान्छेलाई अवसर र सिक्ने मौका मात्र दिएन स्थानीयका आवाजलाई पनि स्थान दियो ।
यी र यस्तै कुराले मलाई सामुदायिक रेडियोमा रहिरहन र आम मानिसका चासो, चिन्ता र सुख दुखलाई समेट्न लागिरहन प्रेरणा मिलिरहेको छ । आशा छ रेडियो कुनै पनि कारण वा बहानामा मेरो जिन्दगीबाट टाढा हुने छैन ।
प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९