काठमाडौ । ‘जीवन रक्षाः तपाईंको हातमा’ भन्ने नारासहित आज अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवस मनाइँदैछ । बाल्यकालमा हुने क्यान्सरविरुद्ध जनचेतना बढाउनका लागि फेब्रुअरी १५ मा यो दिवस मनाउने गरिन्छ ।
हरेक वर्ष विश्वभर झन्डै दुई लाख ८० हजार बालबालिकामा क्यान्सर हुने गरेको पाइन्छ । नेपालमा भने दुई देखि १५ वर्ष उमेर समुहका बालबालिकामा रक्त, आँखा, टाउको, हड्डी र मृगौलाको क्यान्सर हुने गरेको बाल क्यान्सर रोग विशेषज्ञ डा सुचारिता तुलाधरले सीआईएनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार वंशाणुगत कारणले पनि क्यान्सर हुन सक्ने देखिएको छ । लामो समयसम्म ज्वरो आउनु, ज्वरो आएपछि निको नहुनु, शरीर दुख्नु, शरीरको कुनै पनि भागमा गाँठागुठी आउनु, आँखाको नानी सेतो हुनु, टाउको धेरै दुख्नु, बारम्बार वान्ता हुनु क्यान्सरको लक्षण हुन सक्ने उहाँको भनाई छ । यी सबै क्यान्सर सुरुवाती चरणमै थाहा भए निको पार्न सकिन्छ ।
नेपालमा काठमाडौँंको कान्ति बाल अस्पताल, ललितपुरको पाटन अस्पताल, भरतपुरको क्यान्सर अस्पतालमा बाल्यकालमा हुने क्यान्सर रोगको विशेष उपचार हुन्छ ।
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९, ०८:२०