काठमाडौँ । सूचनाको हकका अभियन्ता तथा त्रिभुवन विश्वविद्यालयका अधिकृत नोदनाथ त्रितालद्वारा लिखित पुस्तक त्रिभुवन विश्वविद्यालयमा सूचनाको हक बुधवार विमोचन गरिएको छ ।
नेपाल ल क्याम्पसमा आयोजित कार्यक्रममा त्रिविको कानुन संकायका डीन प्रा डा कृष्णप्रसाद बस्याल, नेपाल ल क्याम्पसका क्याम्पस प्रमुख डा. डिएन पराजुली र राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।
कार्यक्रममा डीन बस्यालले कानुनी अनुसन्धानबाट नविनतम् नतिजा निकालेर सम्बन्धित निकायलाई पृष्ठपोषण गर्न एलएलबी तहका विद्यार्थीले सिर्जनात्मक अनुसन्धान गर्ने सक्छन् भन्ने उदाहरण पुस्तकले प्रस्तुत गरेको बताउनुभयो ।
क्याम्पस प्रमुख पराजुलीले क्याम्पसका विद्यार्थीबाट यस प्रकारको अनुसन्धान प्रतिवेदनलाई पुस्तकको रूपमा ल्याउनु खुसीको कुरा भएको बताउनुभयो ।
रासस अध्यक्ष धर्मेन्द्र झाले सूचनाको हकको अभियानमा यो पुस्तक महत्त्वपूर्ण रहेको बताउनुभयो । साथै उहाँले त्रिविले सूचनामैत्री विश्वविद्यालयको पहिचान बनाउन खुल्लापन अपनाउँदै जानुपर्नेमा जोड दिनुभयो ।
लेखक त्रितालले कानुनी अनुसन्धानबाट निस्किएको निष्कर्षलाई सम्बन्धित निकायहरूमा पृष्ठपोषण प्रदान गर्दै भविष्यमा कानुनका विद्यार्थीले सन्दर्भ स्रोतको रूपमा पुस्तकलाई उपयोग गर्न सक्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन नेपाल ल क्याम्पसका पुस्तकालय अधिकृत विजय पोख्रेलले गर्नुभएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९, २१:३३