काठमाडौँ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभएको छ ।
आज बिहान भएको मोदीसँगको भेटमा उहाँले नेपाल भ्रमणको निम्तो दिनुभएको हो । प्रधानमन्त्री मोदीको सपथ समारोहमा भाग लिन प्रधानमन्त्री ओली हिजो नयाँदिल्ली जानुभएको थियो ।
उहाँले राष्ट्रपति विद्या भण्डारीले समकक्षी रामनाथ कोबिदलाई पठाएको निमन्त्रणा पनि हस्तान्तरण गर्नुभएको छ । भेटका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई रुद्राक्षको माला उपहार दिनुभएको थियो ।
भेटपछि सामाजिक सञ्जाल ट्विटरमा प्रधानमन्त्री मोदीले लेख्नुभएको छ, 'नेपाल-भारत सम्बन्धलाई थप उचाइमा पुर्याउने बारेमा बिभिन्न कोणबाट हामीबीच छलफल भयो, छलफल उपलब्धिमूलक भयो ।' पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले बिमस्टेकको छुट्टै महत्व भएको टिप्पणी गर्दै सार्कलाई बिमस्टेकको विकल्पको रुपमा बुझ्न र लिननहुने धारणा राख्नुभयो ।
प्रधानमन्त्री ओली आजै स्वदेश फर्किने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली दूताबासले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६, १५:१८