एकसाँझ साथी श्रीधरले सोध्यो, ‘एउटा महिनादिने म्यादी जागिर छ खान्छौ?’
२०६४ कात्तिक २२ गते नेपाल समाचारपत्रबाट राजीनामा दिएपछि जुरुक्क उठेर हस्याङफस्याङ गर्दै निश्चित समयमा पुगेर काम सक्नुपर्ने मेरो जागिरे मुकाम थिएन ।
एउटा विकासे सस्थाको साप्ताहिक नाटक लेख्ने कामले दालभात चलिरहेको थियो जुन म घरबाटै गरिरहेको थिएँ ।
त्यसबाहेक शिक्षामा काम गरिरहेका केही राम्रै दाताहरुको काम पनि हातमा थियो (सल्लाह, सुझाव, रिपोर्ट दिनुपर्ने खालका ।)
बेलाबेला हिमाल खबरपत्रिकामा स्वतन्त्र रिपोर्टरका रुपमा छोटामोटा रिपोर्टिङ पनि छापिइरहेकै थियो ।
मलाई यस्तै 'सेमी बेरोजगारी' देखेर नै श्रीले कामको प्रस्ताव गरेको थियो ।
काम गर्नुपर्ने थियो उज्यालो नेटवर्कमा र कामका लागि म दक्ष भएको निधो गर्न भेट्नु पर्ने थियो सुनिल न्यौपानेलाई जो त्यति बेला समाचार प्रमुख वा सम्पादक थिए ।
अर्को दिन न्यौपानेसँग भेट भयो । मैले दुइपाने मेरो रिज्युमी पनि दिएँ शायद । उनले केही सोधे पनि ।
मेरो जिम्मेवारी सुनाए पनि- जिल्ला र कहिलेकाहीँ केन्द्रबाटै तयार हुने संविधानसभा सम्बन्धि रिपोर्ट सम्पादन गर्नुपर्ने, जिल्लाका साथीहरुलाई त्यो काममा खटाउनु पर्ने ।
मेरा लागि त्यो कुनै महाभारत थिएन । दैनिक पत्रिकामा काम गर्नुको फाइदा के भने धेरैजसो जिल्लाका पत्रकार साथी नामले परिचित नै हुन्छन् ।
रेडियो रिपोर्ट सम्पादनको काम त मैले त्यसअघि गरेको थिइनँ यद्यपि पत्रकारिताको विद्यार्थी भएकाले मलाई त्यसकाे सैद्धान्तिक ज्ञान थियो । मैले त्यही भनेँ ।
मेरो कुरा सुनेपछि मलाई म्यादी जागिरमा नियुक्ति दिने निधो भयो । लामो समय छापामा काम गरेको म यसरी रेडियोमा औपचारिक म्यादी जागिरे भएँ । यो पहिलो संविधानसभा निर्वाचन हुनु ठिक अघिको कुरा ।
काम के सुरु भएथ्याे रामरमाइलाेमै संविधान सभाको चुनाव मिलिक्कै सकियो र रेडियाेसितकाे मेरो महिना दिने औपचारिक म्यादी जागिर पनि ।
मैले पहिलोपल्ट कहिले रेडियो सुनेँ थाहा छैन । के सुनेँ पनि म सम्झिन्नँ । थाहा पाउँदा मकवानपुरको सुुदुर गाउँ छतिवनको अँधेरी मामाघरमा रेडियो भित्रियो । यो चालिसको दशकको अन्तिमतिरको कुरा हो ।
मामाघरमा तीन ब्याट्रीबाट चल्ने त्यो रेडियो छुन नपाए पनि जे बज्छ त्यही सुन्ने बानी पर्याे । त्यति पुन्टे भाँडोमा ठूल्ठुलाे स्वरमा कसरी बोल्दा हुन् भन्ने जिज्ञासा त निकै पछिसम्म कायम रह्यो । त्यसमा बिहानै भजन बज्थ्यो भजनसँगै उठ्थ्यौँ ।
गीत बज्थ्यो सुन्थ्यौँ । नाटक आउँथ्यो रमाइलो मान्थ्यौँ । यस्तै हुँदाहुँदै रेेडियाेमा कविता पठाउने, गीत अनुरोध गर्ने, दिनप्रतिदिन भन्ने कार्यक्रममा नाटक लेखेर पठाउन लागियाे । शनिवारको नाटक नसुनी गोठालो नजाने गर्न थालियो ।
स्कुल सकेर जब काठमाडौँ छिरेँ सहरमा एफएम भर्खर सुरु हुँदै थियो । त्यसपछि पहिलो कमाइबाट गोजीमा राख्न मिल्ने सानो रेडियो किनेपछि रेडियोको झन् धेरै लती भइयाे ।
अहिलेजस्तो हात हातमा फोन थिएन । इन्टरनेटमा मेरो र अरू धेरैको पनि पहुँच पुगिसकेको थिएन । मनोरञ्जन र सूचनाको माध्यमको निर्विकल्प विकल्प थियो रेडियो ।
पछि त हेर्दाहेर्दै सहरमा यस्तो भयो कि नयाँ घर बन्यो कि त्यसमा कि एफएमको टावरको टुपी पलाउन थाल्याे कि सटरमा नयाँ निजी स्कुलको बोर्ड झुन्डिन थाल्यो ।
त्यही बिचमा मलाइ पनि आफ्नो आवाज रेडियोमा सुन्ने रहर जाग्यो । रहर त पूरा गर्नु पर्यो । जतिबेला यो रहर जाग्यो त्यति बेला मैले पत्रकारिता थालिसकेको थिएँ र शिक्षा बिटको छाेटेमाेटे संवाददाता भइसकेको थिएँ ।
त्यही बेला शिक्षा पत्रकार समूहले रेडियो कार्यक्रम उत्पादन गर्ने तयारी गरेको थियो । कार्यक्रम उत्पादनमा थिए निर्जला कक्षपति र पदम गौतम । मैले यो कार्यक्रममा स्वर परीक्षा गर्ने निधो गरेँ र पदमजीलाई बोल्न पर्यो भनेर प्रस्ताव गरेँ ।
शायद त्यो १५ मिनेटकाे रेडियो म्यागेजिन थियो । बिचमा २ मिनेट शिक्षाका समाचारलाई छुट्याइएकाे थियो । उनले मलाइ त्यो जिम्मा लाए ।
म त्यही २ मिनेटको समाचार पढ्न जाडोमा स्युस्यु गर्दै शाेभाभगवतीदेखि अनामनगर पुग्थेँ । शायद ३ अङ्क समाचार पढेपछि र रेडियो सगरमाथामा बज्ने त्यो कार्यक्रममा आफ्नो स्वर सुनेपछि म रेडियोका लागि होइन भन्ने मलाइ स्वज्ञात भयो । र रेडियोमा बोल्ने रहर मैले छाडेँ ।
कहिले कविका रूपमा कहिले शिक्षा पत्रकारका रूपमा अन्तरवार्ता दिनबाहेक उज्यालोको म्यादी जागिर अघि मैले रेडियोमा भविष्य बनाउने गरी जागिर खोजेको थिइनँ ।
एक महिनाकाे म्यादी जागिर सकिएर हिँड्नु अघि चाहिँ मैले उज्यालोका सञ्चालक गोपाल दाइलाई भेटेर म्यादीकै तलबमा जागिर दिने भए काम गर्न पर्याे भनेर प्रस्ताव गरेको थिएँ । त्यो प्रस्ताव पारित भएन । त्यो प्रस्ताव पारित नभएर मलाई राम्रै पनि भयो ।
रेडियोको त्यो म्यादी जागिर सकिएपछि म आफ्नै उही पुरानै लयमा थिएँ विकासे नाटक लेख्ने, शिक्षाका खुद्रे काम गर्ने, कथा लेख्ने र मन लाग्दा रिपाेर्टिड्ङमा पनि कुदिरहने ।
यसैबिच मलाई गोपाल झाले फोन गरेर भने, ‘भेटौँ न ।’
उनीसँग मेरो दोहोरो चिनजान थिएन । म कसरी उनको कल लिस्टमा परेँ मलाई अहिले पनि थाहा छैन । यो २०६५ साउन अन्तिमको कुरा ।
उनी कान्तिपुर एफएममा थिए मलाई थाहा थियो । राती १० बजेतिर उनले चलाउने एउटा कार्यक्रम एक बेला खुब चलेको थियो।
धाेद्रेधाेद्रे स्वरमा उनी दर्शन र नीति कथाका कुरा गर्दै बिचबिचमा गीत गजल बजाउँथे । रेडियाबारे क्यानडामा पढेर आएका हुन् भन्ने सुनेकोसम्म चाहिँ थिएँ ।
अर्को दिन म उनलाई भेट्न झम्सीखेल गएँ जहाँ उनको रेडियो स्टेसन थियो ‘हेडलाइन्स एन्ड म्युजिक एफएम ।’ उनको रेडियोमा जम्मामा गीत बज्थ्यो र हरेक घण्टा समाचार । अर्को राम्रो कुरा के थियो भने राजधानीको एफएममा मैथिलीमा समाचार बज्थ्यो ।
उनले प्रस्ताव गरे, ‘आउनुस् सँगै काम गराैँ, समाचार सम्पादक बसिदिनुस् । तलब धेरै छैन । मेेराे स्टेसन अनुसार सेवा सुविधा दिन्छु ।’
मलाई उनको प्रस्ट कुरा मन पर्याये । आखिर म सेमी बेरोजगार नै थिएँ । त्यहाँ काम गर्दा पनि मैले गरिरहेका अरू पटके काममा त कुनै बाधा थिएन ।
र म फेरि रेडियोको जागिरे भएँ । यसपालि म्यादी होइन पूर्णकालीन ।
समाचार शाखामा ८ जनाको टिम थियो । वार बन्देज नभएको खुला स्टुडियो थियो । मैले यस्तो स्टुडियो देखेको थिइनँ ।
उस्तै परे प्रस्तोताले नै फेडर तान्दै समाचार भन्न मिल्ने । शायद त्यसको कन्सेप्ट पनि त्यही थियो होला । थोरै लगानीमा स्टुडियो बन्ने भएर पनि होला । प्राविधिक थिए बादल न्यौपाने र सञ्जीव कोइराला,बडो शान्त स्वभावका ।
समाचार कक्षमा राजकुमार श्रेष्ठ र रिता सापकोटा भर पर्दा थिए । किरण अधिकारी, दिनेश पाण्डेय, आदर्श ढकाल, शिला पाण्डे, सुनिताको मेहनतले मलाई काम गर्न सजिलो भएको थियो ।
समाचार सम्पादककै भूमिका निर्वाह गरिरहेको मलाई स्टुडियो छिरेर समाचार पढ्ने रहर थिएन ।
यो भूमिका मेरो होइन भन्ने जानेरै म स्टुडियो छिरेको थिइनँ । दसैँको बेला सबै साथीहरू बिदामा घर गए । रह्यौँ शिला, म र आदर्श । घन्टै पिच्छे बुलेटिन । बाध्य भएर समाचार बोकेर म पनि स्टुिडियाे छिरेँ ।
यस्तैमा कुनै एक दिन ६ बजेको बुलेटिन पढ्दै थियौँ शिला र म । के विषय थियो अहिले याद छैन, समाचार पढ्दापढ्दै हामी दुई खित्का छाडेर हास्याैँ । प्राविधिक थिए सञ्जीव । उनले हामीलाई जोगाए । गोपाल सरले शायद त्यो बुलेटिन सुनेनन् । त्यसपछि म फेरि स्टुडियो छिरिनँ ।
पत्रिकामा लम्बे तानसमाचार लेखेर काम गरिरहेको मलाई रेडियोको काम त्यति चित्त बुझिरहेकाे थिएन । कान्तिपुरमा कुरा पनि चलिरहेको थियो । हेडलाइन्स एन्ड म्युजिक एफएमको ६ महिने जागिर टुङ्ग्याएर म माघमा कान्तिपुर दैनिक गएँ । यसको फेरि आफ्नै कथा छ ।
यसरी म रेडियोबाट म बिदा भएँ ।
त्यो ६ महिनामा गोपाल झाले कहिल्यै म यसको साहु भन्ने व्यवहार गरेनन् । उनले मजस्तो छापाको मान्छेलाई पनि रेडियोको अनुभव दिलाइदिए । उनको रेडियोमा मैले जति दिन काम गरेँ रमाएर गरेँ ।
तथ्याङ्कले भन्छ नेपालमा करिब १२ सय रेडियोले अनुमति लिएका छन् । करिब ७ सय त चालु छन् ।
र पनि नेपाली रेडियो नसुनेको त दशक भयो । जहाँ रहे पनि प्रविधिले सुन्ने सुविधा दिएको छ तर फलानो रेडियोको यो कार्यक्रम चाहिँ सुनिहेरौँ न त भन्ने खाले छाप पर्न सकेको छैन । सङ्ख्या फुके जसरी नेपाली रेडियोमा बज्ने सामग्रीका स्तर फराकिलो हुन सकेको छैन ।
यी चाउरिँदै र खिइँदै गएका छन् ।
अहिले यसो फर्केर मैले पनि रेडियोमा काम गरेँ भन्दा कसोकसो मलाई अप्ठेराे लाग्छ ।
मलाई म्यादी नियुक्ती दिने सुनिल न्यौपाने र जागिर दिने गोपाल झालाई चैँ कस्तो लाग्दो हो कुन्नि !
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९, २१:३४