काठमाडौँ । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो ।
पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्र नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
बिहान तीन बजेदेखि नै पशुपतिका चार ढोका खुला
महाशिवरात्रिका अवसरमा आज बिहान तीन बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको छ ।
हिजो रातिदेखि नै भक्तजनको घुइँचो लागेकाले दर्शनमा सजिलो होस् भन्नका लागि बिहानै चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यस वर्ष १० लाख भन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिन पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन मिलाईएको छ ।
पाशुपत क्षेत्रमा आज दिनभर यातायात प्रभावित हुने
महाशिवरात्री पर्वको अवसरमा तीलगंगा–गौशाला–जयबागेश्वरी–मित्रपार्कसहितको पाशुपत क्षेत्रमा आज दिनभर यातायात प्रभावित हुने भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार हिजो रातिदेखि नै दर्शनार्थीहरूको भीडभाड भएकाले आवश्यकता अनुसार सवारी साधनलाई डाईभर्सन गरिएको छ ।
गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चाबहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिएको छ ।
महाशाखाका अनुसार मालवाहक सवारी साधनाहरूलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सभ्यताको धरोहरका रूपमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको संरक्षणमा पर्याप्त ध्यान जानुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
आज महाशिवरात्री पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले प्रकृतिसँग तादात्म्य कायम गर्दै मानव जातिले प्रगतिको बाटो पहिल्याउन सक्छ भन्ने यथार्थलाई अनेक चाडपर्वले अभिव्यक्त गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
साथै सेना दिवसका अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सेनाका सकलदर्जा र सैनिक परिवारजनमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले सेना नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राष्ट्रियताको रक्षार्थ सदैव तत्पर रहेको उल्लेख गर्नुभएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले पनि धर्म, संस्कार, संस्कृतिले नेपालीकाबीच आपसी सद्भाव, भाइचारा कायम गर्दै राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आइरहेको बताउनुभएको छ ।
महाशिवरात्रिको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा प्राकृतिक विविधताले भरिपूर्ण मुलुक भएको उल्लेख गर्नुभएको छ ।
नेपाली सेना दिवसको अवसरमा पनि उपराष्ट्रपति पुनले नेपाली सेनाका प्रधान सेनापतिसहित सकल दर्जामा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको सेवामा सेनाले देखाएको त्याग, समर्पण तथा सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभएको छ ।
महाशिवरात्रि तथा सेना दिवसका अवसरमा स्वदेश तथा विदेशमा कार्यरत सेनाका सकलदर्जा र सैनिक परिवारजनमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता र स्वाधीनताको रक्षाका लागि नेपाल र नेपालीपनको पहरेदारको रूपमा स्थापित भएको यस सङ्गठनले देशको एकीकरणदेखि हालसम्म खेलेको भूमिका तथा योगदान सराहनीय रहेको बताउनुभएको छ ।
सेनाले महाशिवरात्रि तथा सङ्ग्ठन स्थापनाको दुई सय ६० औँ वार्षिकोत्सवका अवसरमा मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षार्थ योगदान पु¥याउने सबैमा शुभकामना व्यक्त गरेको छ ।
नेपाली सेनाले आज आफ्नो स्थापना दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउँदैछ । सोही उपलक्ष्यमा काठमाडौँको टुँडिखेलमा राष्ट्रपतिको प्रमुख आतिथ्यतामा महाशिवरात्रि बढाइँसहितको विशेष कार्यक्रम हुँदैछ ।
प्रकाशित मिति: शनिबार, फागुन ६, २०७९, ०९:२३