सुर्खेत । नेपालका स्वतन्त्र रेडियोहरूले बदलिँदो परिवेश र आवश्यकता अनुुसार आफूलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
सुर्खेतको विरेन्द्रनगरमा चलिरहेको कर्णाली उत्सव अन्तर्गत हिजो भएको ‘रेडियोको रस’ शीर्षकको बहसका वक्ताहरूले नेपालका स्वतन्त्र रेडियोहरूले आम नागरिक र समुदायको सुख दुखको साथी र सारथी बनेको तर बदलिँदो परिवेशअपनुसार आफूलाई परिवर्तन गर्दै लैजानुपर्ने आवश्यकता औँल्याएका हुन् ।
मार्टिन चौतारीका अध्येता देवराज हुमागाईँले नेपालमा स्वतन्त्र रेडियोको गर्विलो इतिहास, वर्तमानमा महत्त्वपूर्ण भूमिका र भविष्यमा आवश्यकता रहेको उल्लेख गर्दै रेडियोहरूले त्यसैअनुसार आफूलाई स्रोतसाधन सम्पन्न बनाउँदै लैजानुपर्ने बताउनुभयो । रेडियो समुदायको साथी बनिरहन चुनौतीहरूको सामना गर्दै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
मध्यपश्चिम विश्वविद्यालयका आम सञ्चार विषयका सहप्राध्यापक युवराज शर्माले सामुदायिक रेडियोले अहिलेसम्म पुर्याएको योगदान अतुलनीय रहेको तर विभिन्न कारणले रेडियोमा समुदायका चासोका विषय कम प्राथमिकतामा परेको हो कि जस्तो आभाष हुन थालेको भन्दै यसमा रेडियो प्रसारकहरूले ख्याल राख्नुपर्ने धारणा राख्नुभयो ।
सामुदायिक रेडियो प्रसारक सङ्घ(अकोराब) का अध्यक्ष अर्जुन गिरीले सामुदायिक रेडियोले देशका ठूला परिवर्तनको संवाहक बनेर मात्र नभइ समुदायका आवाज उठाएर नीतिनिर्मातालगायत सरोकारवालाई झक्झकाउने काम गरिरहेको बताउनुभयो ।
नेपालका सामुदायिक रेडियोहरूलाई समयानुकल थप बलियो गुणस्तरीय र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता अध्यक्ष गिरीले जनाउनुभयो । यसका लागि राज्यको भूमिका पनि महत्त्वपूर्ण हुने र सामुदायिक रेडियोहरूले त्यो पर्खिरहेको उहाँको भनाइ छ ।
रेडियोकर्मी गोमा परियारले रेडियो र रेडियोकर्मीले आफ्ना कमीकमजोरी सच्याउँदै आवाजविहीनको आवाज बन्नुपर्ने बताउनुभयो ।
अनेकौँ समस्या सीमितताका बीच नेपाली रेडियोहरूले सीमान्तकृत समुदायको आवाज बन्ने प्रयास गरिरहेको स्मरण गर्दै उहाँले नेपालका स्वतन्त्र रेडियोहरूको गुणस्तरीयताका लागि सबै पक्षको सहयोग आवश्यक पर्ने विचार राख्नुभयो ।
‘रेडियोको रस’ विषयक बहसको सहजीकरण सीआईएनका सम्पादक लक्ष्मण कार्कीले गर्नु भएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९, ०७:०४