दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ व्याँस क्षेत्रमा बसोबास गर्ने व्याँसी सौकाहरू सदरमुकामबाट व्याँस बसाई सरेसँगै नेपाल प्रहरीको टोली सुरक्षाका लागि परिचालन गरिएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत् नेपाल प्रहरीको १४ जनाको टोली व्याँस क्षेत्र पुर्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी दीपेन्द्र शाहीले बताउनुभयो ।
यसअघि जेठ १३ गते दुम्लिङ अस्थायी प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ५ जनाको प्रहरी टोली व्याँसको सीतपुल प्रहरी चौकीमा खटिएको थियो ।
कात्तिकमंसिरतिर व्याँसबाट राप्लाको दुम्लिङ अस्थायी प्रहरी पोष्ट झरेको प्रहरी टोली जेठ १३ गते सीतापुल प्रहरी चौकीमा खटिएको थियो । प्रहरी नायब निरीक्षक लोकेन्द्रसिँह पुजराको नेतृत्वमा १४ जनाको प्रहरी टोली पनि व्याँस क्षेत्रको सुरक्षाका लागि खटाइएको छ ।
सैनिक हेलिकप्टरमार्फत प्रहरी टोली व्याँस क्षेत्रमा खटाइएको हो । नेपालको भूमि भएर व्याँससम्म पुग्न सकिने बाटो नहुदाँ प्रहरी टोली खटाउन हेलिकप्टरको प्रयोग गर्नु परेको हो ।
हातहतियारलगायतका बन्दोबस्तीका सामग्री भारतबाट ढुवानी गर्न नमिल्ने भएका कारण हेलिकप्टरमार्फत् पु¥याइएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो ।
यसअघि प्रहरी सहायक निरीक्षक र अहिले प्रहरी नायब निरीक्षकको नेतृत्वमा खटाइएको प्रहरी टोलीले सीतापुल प्रहरी चौकी र सीमा प्रहरी चौकी तिंकरबाट पनि सुरक्षा दिने डीएसपी शाहीको भनाइ छ । उहाँका अनुसार यसअघि सीतापुल प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मीहरु नै सीमा प्रहरी चौकी तिंकरमा पनि खटिने छन् ।
प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीद्वारा अवलोकन
प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर बिष्टसहित सुरक्षा निकाय प्रमुखहरूको टोलीले व्याँस क्षेत्रको अवलोकन गरेको छ ।
टोलीमा प्रमुख जिल्ला अधिकारी बिष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डीएसपी दीपेन्द्र शाही, सशस्त्र प्रहरीका डीएसपी भीमबहादुर चन्द, अनुसन्धानका डीएसपी हिरण्य कुवँर र नेपाली सेनाका क्याप्टेन खड्गध्वज कार्कीसहितको टोलीले व्याँस क्षेत्रको अवलोकन गरेको हो ।
टोलीले व्याँसको सितापुल, छाङरु क्षेत्रको अवलोकन गरेको हो । ५० नम्बर गुल्म दार्चुलाका सशस्त्र डीएसपी भीमबहादुर चन्द यसअघि पनि त्रीदेशीय सीमा क्षेत्रमा पुगिसकेको भए पनि प्रमुख जिल्ला अधिकारीसहित अन्य सुरक्षा प्रमुखहरूको भने पहिलो भ्रमण हो ।
प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६, ०७:११