काठमाडौँ । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाउने गरेका छन् ।
पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो घरआँगन, बाटोघाटो तथा पानीका स्रोतको सरसफाइ गर्ने, घरको छतलगायत गुम्बा र चैत्यमा नयाँ ध्वजा राख्ने, गुथुक र खाप्सेजस्ता परिकार खाने अनि आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ ।
ल्होसारका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिनुभएको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले यो वर्षले शेर्पा समुदायको मौलिक संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्नुका साथै नेपालीकाबीच आपासी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गरेर राष्ट्रिय एकतालाई सुदृढ पार्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि शुभकामना दिँदै विविधतामा एकतासहित सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकारलाई संरक्षण र प्रवद्र्धन गरेर मात्र राष्ट्रिय एकता सुदृढ गर्न सकिनेमा जोड दिनुभएको छ ।
ग्याल्पो ल्होसारका अवसरमा आज सार्वजनिक बिदा दिइएको छ । नेपालमा तमु, सोनाम र ग्याल्बो गरी तीनवटा ल्होसार मनाउने चलन छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९, ०९:०७