काठमाडौँ । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नामिबिया र स्कटल्यान्ड सम्मिलित शृंखलाका सबै खेल िजतेकाे छ । शृंखलाकाे चाैथाे तथा अन्तिम खेलमा स्कटल्यान्डलाई २ विकेटले हराउँदै नेपालले शृंखला 'क्लिन स्वीप' गरेकाे हो ।
मंगलबार कीर्तिपुरमा स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ अाैँ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन कप्तान रोहितकुमार पाैडेलले नटआउट ९५ र करण केसीले नटआउट ३१ रन बनाउनुभयो । यस्तै, ज्ञानेन्द्र मल्लले २१, कुशल मल्लले १७ र आशिफ शेखले १२ रन बनाएको खेलमा अन्य ब्याटरले दोहोरो अंकमा रन जाेड्न सकेनन् । कमजोर सुरुवात गर्दै पहिलो ओभरमै विकेट गुमाएको नेपालले १९ रनमा दोस्रो, ३४ रनमा तेस्रो र ६० रन हुँदा चाैथो विकेट गुमाएको थियो । तर कप्तान पाैडेल र केसीको नटआउट ७४ रनको साझेदारीले जित सम्भव बनाएको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा २ सय १२ रन बनाएको थियो । नेपालका सन्दीप लामिछानेले चार, करण केसीले तीन तथा ललित नारायण राजवंशी र कुशल मल्लले एक एक विकेट लिनुभयो । स्कटल्यान्डका जर्ज मुन्सले सर्वाधिक ६० रन बनाउनुभयो ।
नेपालले गत शुक्रबार स्कटल्याण्डलाई ३ विकेटले हराएको थियो । २०१९ देखि सुरु विश्वकप लिग टूमा स्कटल्याण्डको यो अन्तिम खेल हो । तीन खेल बाँकी रहदै लिग टू को च्याम्पियन बनिसकेको छ ।
लिग-२ मा नेपाल छैटौं स्थानमा छ। अब ८ खेल बाँकी छँदा नेपालले २८ खेलबाट २६ अंक जोडेको छ। पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ। लिग-२ मा स्कटल्यान्ड च्याम्पियन बनिसकेको छ । स्कटल्यान्डले ३६ खेलबाट ५० अंक जोडेको छ। दोस्रो स्थानको ओमानले सबै ३६ खेल खेलिसक्दा ४४ अंक जोडेको छ। तेस्रो स्थानको नामिबियाले ३४ खेलबाट ३७ अंक र चौथो स्थानको अमेरिकाले ३६ खेलबाट ३५ अंक बनाएका छन् ।
अबका ८ मध्ये कम्तिमा ५ खेल जितेमा नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम रहने छ । नेपाल विश्वकपको छनाेटमा स्थान बनाउने सम्भावना पनि कायमै छ । त्यसका लागि बाँकी आठ वटै खेल जित्न पर्छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९, १६:४०