काठमाडाैँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आफ्ना पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउने दाैडधुप बढाएको छ ।
हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर यसको प्रस्ताव गरेकाे लाेसपाले अाज नेपाली कांग्रेससँग आग्रह गरेको छ । आज बिहान लाेसपाका शीर्ष नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेतालाई भेटेर राष्ट्रपतिमा ठाकुरको नाममा राष्ट्रिय सहमति गर्न आग्रह गर्नुभएको हो ।
भेटमा अध्यक्ष ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल, अनिलकुमार झालगायतले राष्ट्रिय सहमतिका लागि ठाकुर सबैभन्दा उपयुक्त पात्र हुने प्रस्ताव गर्नुभएको हो । भेटमा कांग्रेस सभापति देउवाले त्यसबारे पार्टीले अहिलेसम्म कुनै पनि निर्णय नलिएको भन्दै ठाकुरको नाममा राष्ट्रिय सहमति गर्ने विषयमा समेत छलफल गर्ने आश्वासन दिएको नेताहरूले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९, १३:२८