काभ्रे । काभ्रे जिल्लाको विकट महाभारत गाउँपालिकाबाट सदरमुकाम धुलिखेलसम्म आउन ७÷८ घण्टासम्म लाग्ने गरेको थियो ।
गम्भीर बिरामी परे वा सुकेरी तथा गर्भवतीलाई हेलिकप्टरबाटसमेत अस्पताल पु¥याउनुपर्ने बाध्यता यसअघि थियो ।
तर गाउँपालिकाले केही महिनाअघि एम्बुलेन्स सेवा दिएपछि खुसी लागेको र सजिलो भएको महाभारत १ का निशा आले मगरको भनाइ छ ।
‘पहिले कुनै स्वास्थ्य समस्या भएमा कि बाइकबाट कि बसमा मात्र जान सकिन्थ्यो । हेलिकप्टरमा जान पैसा कहाँबाट पाउनु ?’ नीशाले प्रश्न गर्दै भन्नुभयो ।
काभ्रेका १३ ओटा स्थानीय तहमध्ये खानीखोला, महाभारत, चौरीदेउरालीलगायत केही गाउँपालिकामा भौगोलिक विकटताले बिरामीले समयमा स्वास्थ्य सेवा अझैँ पनि पाउँदैनन् ।
पालिकाले यस्तो समस्या र जोखिम नदोहरियोस् भन्नका लागि एम्बुलेन्स सञ्चालनलाई प्राथमिकता दिएका छन् ।
रोशी गाउपालिका वडा नं १ खहरेपाँगुका जितमायाँ तामाङ गाउँपालिका बनेपछि जनप्रतिनिधिको असल काम यही हो भन्नुहुन्छ ।
काभ्रेको बेथानचौक गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन भएको ५ वर्ष भयो । यसबाट भइरहेको फाइदा बारे बताउँदै बेथाञ्चोक २ का दिनेश तिमल्सिनाले थप्नुभयो, ‘पहिले समयमै स्वास्थ्य संस्थामा नपुगेर मरिन्छ कि भन्ने डर हुन्थ्यो गाउँमा । हिजोआज त्यो डर हराएको छ ।’
स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हाल जिल्लामा ३४ ओटा एम्बुलेन्स सञ्चालनमा छन् ।
ती एम्बुलेन्स सञ्चालन र व्यवस्थापनका लागि कार्यविधि अनुसार काम भइरहेको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा पुरुषोत्तम सेढाईंले बताउनुभयो ।
एम्बुलेन्सका सबैजसो चालकलाई आपतकालीन प्राथमिक सेवा कसरी दिने भन्ने बारेमा पालिकाहरूले तालिम पनि दिएका छन् ।
स्थानीय सरकारले नागरिकलाई छिटो, भरपर्दो सेवा दिनका लागि गरेका प्रयासमध्येमा पर्छ एम्बुलेन्स सेवा ।
स्थानीय सरकारको पहलमा गाउँघरसम्मै एम्बुलेन्स पुग्ने भएपछि नागरिकले सुविधा महसुस गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९, ०९:३४