काठमाडौँ । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने भएको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि तोकेको निर्वाचन कार्यक्रमअनुसार अन्तिम मतदाता नामावली सार्वजनिक गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
आयोगले गएको बुधबार मतदाता नामावली सार्वजनिक गरेको थियो ।
सार्वजनिक नामावलीमाथि हिजो मध्याह्नसम्म दाबी विरोधको उजुरी दिने समय थियो । आयोगका अनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम म्यादसम्म ५ वटा निवेदन परेको छ ।
ती निवेदनमा ४ वटा नाम सच्याउने र एउटा नाम समावेश गर्ने विषय रहेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिनुभयो ।
राष्ट्रपति चयनका लगि भोलि मनोनयन दर्ता गर्ने र २५ गते निर्वाचन हुने कार्यतालिका छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९, ०८:४९