काठमाडौँ । वातावरण अभियन्ता दिलीप महतोको हत्या गरेको पुष्टि भएका तीन जनालाई अदालतले कैद सजाय सुनाएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले हत्याका मुख्य योजनाकार चुरिया माई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतो र कामदार मुनीन्द्र महतोलाई २५-२५ वर्ष कैद र ५-५ लाख जरिवाना हुने फैसला सुनाएको हो ।
हत्याका मतियार ठहर भएका जितेन्द्र महतोलाई भने साढे १२ वर्ष कैद र साढे २ लाख रुपैयाँ जरिवाना गर्ने फैसला गरिएको इजलास अधिकृत विष्णु भट्टराईले जानकारी दिनुभयो । अदालतले उनीहरुको सम्पत्तिबाट क्षतिपूर्ति असुल नभए सरकारको विपद् कोषबाट दिलीपको परिवारलाई उपलब्ध गराउन आदेश दिएको छ ।
जिल्ला अदालतले गत फागुन ३ गते ७ जना अभियुक्तमध्ये विपिन, मुनीन्द्र र जितेन्द्रलाई दोषी ठहर गरेको थियो । अदालतले क्रसर सञ्चालक विपिनका दाइ विनोद महतो, तथा कामदार सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार यादवलाई अदालतले सफाइ दिएको थियो ।
२५ पुस २०७६ मा बिहानै घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न गएका बेला धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपको हत्या भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९, १७:२०