काठमाडौँ । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।
काठमाडौँको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बिहान १० बजेदेखि दिउँसो ३ बजेभित्र उम्मेदवारी दर्ता हुने राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरूको सूची आजै प्रकाशन गरिने छ ।
राष्ट्रपति पदमा उम्मेदवार हुन वंशजका आधारमा नेपाली नागरिक भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्नेछ ।
राष्ट्रपति पदमा निर्वाचित भएलगत्तै मनोनीत वा विगतमा निर्वाचित भएको पद रिक्त हुने निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन तालिकाबमोजिम भोलि उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम छ । उम्मेदवारविरुद्ध परेको उजुरीउपर छानबिन गरी फागुन १५ गते सोमबार निर्वाचन अधिकृतको कार्यालयले जाँचबुझ गरी निर्णय गर्नेछ ।
१६ गते मङ्गलबार उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
निर्वाचन अधिकृतको कार्यालयले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि प्रकाशन गरेको मतदाता नामावलीमा प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीको नाम थपेको छ ।
प्रतिनिधि सभा सदस्य चौधरीको नाम थपिएपछि दुवै पदको निर्वाचनमा कुल मतदाताको सङ्ख्या ८ सय ८२ पुगेको छ । राष्ट्रिय सभाका ५९, प्रतिनिधि सभाको २ सय ७३ र प्रदेश सभाका ५ सय ५० सांसद मतदाता हुनेछन् ।
प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९, ०९:३६