काठमाडाैँ । नाबालिगलाई याैन दुर्ब्यवहार गरेको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै शाहलाई आइतबार सफाइ दिएको हो ।
पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो । त्यो फैसलाविरुद्ध सरकारी वकिल कार्यालय र शाह दुबैले उच्च अदालतमा पुनरावेदन गरेकोमा उच्च अदालतले आज दाबी नठहर्ने फैसला गरेको हो ।
नाबालिगलाई बलात्कार गरेको आरोपमा शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा २ वटा मुद्दा चलेकोमा नवलपरासी पूर्वले बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । त्यसमाथि दुबै पक्षले पुनरावेदन गरेका थिए ।
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९, १९:३०